संसदभित्र पनि कम्युनिस्टजस्तै काङ्ग्रेस !

संसदभित्र पनि कम्युनिस्टजस्तै काङ्ग्रेस !


बाह्र वर्षअघिसम्म संसदीय प्रणालीको सबैभन्दा सच्चा हिमायती मानिएकोधेरै पछि काङ्ग्रेसले मंगलबार (असार ३ गते) ‘विपक्षी भूमिका’ निर्वाह गर्न खोज्यो, तर त्यो पनि ठ्याक्कै कम्युनिस्टकै शैलीमा । प्रधानमन्त्रीलाई बोल्नै रोक लगाउनुपर्ने त्यस्तो कुनै गम्भीर घटना कतै भएको थिएन र जुनसुकै अवस्थामा पनि संसदमा प्रधानमन्त्रीलाई बोल्न रोक लगाइनु संसदीय अभ्यासमा उचित मानिँदैन । नेपाली काङ्ग्रेसका तर्फबाट विपक्षीका रूपमा धेरै हदसम्म परिपक्व व्यवहार प्रस्तुत हुँदै आएको भए पनि मंगलबारको संसद् बैठकमा काङ्ग्रेसको शैली संसदीय परम्पराविपरीत देखियो । प्रधानमन्त्री केपी शर्मा ओली सम्भवतः सार्वजनिक महत्वको विषयमा केही बोल्न चाहन्थे । खासगरी आफ्नो युरोप भ्रमणका ‘उपलब्धि’ र गुठी विधेयकलाई लिएर उत्पन्न तनावबारे स्पष्ट गर्ने उनको योजना थियो । तर, काङ्ग्रेस सांसदहरूले प्रधानमन्त्रीभन्दा पहिले आफूले बोल्न पाउनुपर्ने माग राखेर रोस्ट्रम घेर्न प्रयास गरे ।

देशमा उत्पन्न कैयन गम्भीर समस्या पैदा हुँदा मौनता दर्शाउने काङ्ग्रेसले आफूले पहिले बोल्नु पाउनुपर्छ भन्नेजस्तो सामान्य माग राखेर संसद्मा नाराबाजी गर्दा देख्नेहरू नै लज्जित बनेका थिए । सरकार गठन भएको डेढ वर्षपछि संसद्मा काङ्ग्रेसले विपक्षीको आक्रामक भूमिका निर्वाह गर्दा उसको माग र शैली अत्यन्त अपरिपक्व भएको महसुस गरिएको छ । प्रधानमन्त्रीलाई नै बोल्न रोक लगाउने परम्परा बसाएर काङ्ग्रेसले कस्तो संसदीय अभ्यास गर्न खोजेको हो सबैलाई आश्चर्यचकित तुल्याएको छ । काङ्ग्रेसको यो शैलीले कम्युनिस्टका असंसदीय र अराजक गतिविधिप्रति असहमति जनाउने या टिप्पणी गर्ने नैतिक हैसियतसमेत काङ्ग्रेसले गुमाएको ठानिएको छ ।

संसद्मा बोल्न नपाए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ नै पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

पत्रकार सम्मेलनमा उनले आफूलाई पुरानो प्रजातान्त्रिक दल भनी दाबी गर्ने नेपाली काङ्ग्रेस अति दक्षिणपन्थी भएको आरोप लगाए । परिवर्तनकारी शक्तिलाई प्रतिबन्ध लगाउने र प्रतिक्रियावादीहरूसँग साँठगाँठ गर्ने काङ्ग्रेसको पुरानो बानीले देश परिवर्तन हुन नसकेको उनको जिकिर थियो ।

संसदीय परिपाटी एवम् लोकतन्त्रको पहरेदार भन्न रुचाउने काङ्ग्रेसले संसद् अवरुद्ध गरेर संसद्को गरिमा घटाउने काम गरेको उनको दुःखेसो उनले गरे । लोकतन्तको आवरणभित्र बसेर विपक्षले लोकतन्त्रविरुद्ध नै षड्यन्त्र गरेको तर्कसमेत उनले गरे । लोकतन्त्र कमजोर पार्ने र विकासका काम बिथोल्ने गतिविधिमा काङ्ग्रेस सक्रिय भएको उनको भनाई थियो ।

आफ्नो पार्टी र वर्तमान सरकार अरु कसैले फुत्त दिएको लोकतान्त्रिक व्यवस्थामा नआएको भन्दै प्रधानमन्त्रीले बलिदान, त्याग र शहादत गरेर, लोकतान्त्रिक आन्दोलनको अग्रमोर्चामा रहेर सङ्घर्ष गरेर आएको बताए । वर्तमान सरकार आर्थिक समृद्धि र विकासमा केन्द्रित भएको तर त्यसलाई कसरी विथोल्न सकिन्छ कि भनेर पनि केही तत्व लागिपरेको भन्दै उनले आवेग र उत्तेजनाले काम नगर्ने उल्लेख गरे ।

काङ्ग्रेसतर्फ ब्यङ्ग्य गर्दै प्रधानमन्त्री ओलीले भने– ‘प्रगतिशील शक्तिमाथि प्रतिबन्ध लगाउने र प्रतिक्रियावादी शक्तिसँग मिल्ने नीतिकै कारण विसं २०१७ को घटना भएको हो । अरुले सत्तामा जाने नहुने, आफू मात्रै हुनुपर्ने, अरु सबै प्रताडित हुनुपर्ने भन्ने जुन व्यवहार देखा परेको छ । त्यसले कोही कसैको हित गर्दैन ।’

सरकार मर्यादित प्रेस, प्रेस स्वतन्त्रता, मानवअधिकारको रक्षाका लागि अडिग रहेको दाबी गर्दै उनले लोकतन्त्रको जगेर्नाका लागि सरकार कटिबद्ध भएर लागेको बताए । सरकारले कुनै विधेयक बनायो कि माइतीघर मण्डलामा भेला भएर विरोध गर्ने संस्कार बसेको भन्दै उनले व्यङ्ग्यसहित आपत्ति जनाए । अन्त्यमा प्रधानमन्त्री ओलीले भने, ‘यो जनताको सरकार हो, जनचाहनाअनुसार नै चल्छ, जे गर्दा जनताको हित हुन्छ सरकारले त्यही गर्छ ।’