रामवीरले राजीनामा माग्नुको अर्कै रहस्य !

रामवीरले राजीनामा माग्नुको अर्कै रहस्य !


सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद रामवीर मानन्धरले सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको राजीनामा माग्नुको रहस्य खुलेको छ । सरकारले गत जेठ १७ गते राष्ट्रिय सभामा गुठीसम्बन्धी विधेयक दर्ता गराएपछि विधेयकका केही प्रावधान आपत्तिजनक भन्दै राजधानीमा विरोध प्रदर्शन शुरु भएलगत्तै रामवीरले सञ्चारमन्त्री बाँस्कोटाको राजीनामा मागेका थिए ।

केही महिनाअघि वामदेव गौतमका निम्ति सांसद पदबाट राजीनामा दिएर चर्चामा आएका रामवीर मानन्धर यसपटक आफ्नै पार्टीका मन्त्रीको राजीनामा मागेर चर्चामा आए । विधेयक र विधेयक प्रस्तुत गर्ने सरकारविरुद्ध चौतर्फी प्रहार शुरु भएकै बेला सत्तारुढ दलका सांसदले मन्त्रीको राजीनामा माग्दा विधेयकविरुद्ध शुरु भएको आन्दोलनमा बल थपिएको महसुस गराएको थियो । यसरी रामवीर मानन्धरले राजीनामा मागेर गुठी विधेयकविरुद्धको आन्दोलनलाई बल पु¥याएको भए पनि उनले सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको राजीनामा माग्नुको कारण भने अर्कै भएको तथ्य फेला परेको छ ।

प्राप्त जानकारीअनुसार रामवीर मानन्धर बालाजुस्थित अष्टनारायण सिनेमा हलका मालिक आफ्ना दाजुलाई चलचित्र विकास बोर्डको अध्यक्ष बनाउन चाहन्थे र त्यसनिम्ति उनले मन्त्री बाँस्कोटासमक्ष प्रस्ताव राखेका थिए । त्यसबेला सिनेक्षेत्रमा ‘बक्स अफिस’ प्रणाली लागू गर्ने कि नगर्ने भन्ने विवाद उत्पन्न भएको थियो । मन्त्री बाँस्कोटा स्वयम् ‘बक्स अफिस’ प्रणाली जसरी भए पनि स्थापित गर्ने पक्षमा थिए । तर, अष्टनारायण हलका मालिक भने ‘बक्स अफिस’ लागू हुन नदिने आन्दोलनको नेतृत्व गर्दै थिए । त्यसैले मन्त्री बाँस्कोटाले रामवीरलाई स्पष्ट जानकारी दिँदै तपाईंका दाजु बक्स अफिस प्रणालीविरुद्ध भएको, तर हामीलाई उक्त प्रणाली लागू नगरी नहुने भएकोले चलचित्र विकास बोर्डमा ल्याउन नसकिने बताएका थिए ।

मन्त्रीको जवाफबाट असन्तुष्ट बनेका रामवीरले चेतावनी दिँदै त्यसबेला भनेका थिए, ‘ठीक समय आएपछि म पनि देखाइदिन्छु ।’ जवाफ फर्काउने मामिलामा मन्त्री बाँस्कोटा झन् कमजोर मानिँदैनन्, उनले रामवीरलाई ‘हुन्छ, सकेको गर्नु तर तपाईंका दाजु चलचित्र विकास बोर्डका निम्ति उपयुक्त छैनन्’ भन्ने जवाफ दिएर कुरा टुङ्ग्याइदिएपछि रामवीर र मन्त्री बाँस्कोटाबीच सामान्य संवादको स्थिति पनि थिएन । ज्ञातव्य छ, त्यसपछि चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्रकर्मी केशवप्रसाद भट्टराईको नियुक्ति भएको थियो ।

गत आइतबार (असार १ गते) प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणबाट स्वदेश आगमन हुने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सत्तारुढ पक्षका नेता, मन्त्रीगणलगायत अनेक व्यक्ति स्वागतार्थ पुगेका थिए । त्यसबखत प्रधानमन्त्रीसमक्ष सुवास नेम्वाङले गुठी आन्दोलन र सञ्चारमन्त्रीको राजीनामा माग भएको विषयमा अवगत गराएका थिए । नेम्वाङलगायत अन्य केही नेताहरू सञ्चारमन्त्री बाँस्कोटालाई पदमुक्त गराउने मनशायका साथ त्यहाँ प्रस्तुत भएको बताइन्छ । तर, प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘सञ्चारमन्त्रीले राजीनामा रामवीर मानन्धरसमक्ष दिनुपर्ने हो ?’ त्यसपछि भीआईपी कक्षमा हाँसोको फोहोरा छुटेको थियो ।