नलेख्नुपर्ने मान्छेका नाममा बाध्यताका केही शब्द

नलेख्नुपर्ने मान्छेका नाममा बाध्यताका केही शब्द


■ देवप्रकाश त्रिपाठी

राजनीतिमा कतिपय पात्र आफ्नै चरित्र र भूमिकाका कारण आलोचना या गालीका निम्ति समेत योग्य मानिँदैनन् । कसैको आलोचना या गाली पाउनका निमित्त पनि मानिसमा न्यूनतम ‘योग्यता’ हुनुपर्छ । हरेक नकारात्मक चरित्रका मानिस खलनायक हुँदैनन् र कसैलाई गाली या निन्दा गर्दैमा कोही कसैको शत्रु बन्न सक्दैनन् । शत्रु बन्न पनि योग्यता पुगेको हुनुपर्छ, बिनायोग्यताका मानिस आफ्नाविरुद्ध जतिसुकै नकारात्मक स्तरका गतिविधिमा संलग्न रहेको भए पनि त्यस्तालाई शत्रुको दर्जामा राख्नु उचित हुँदैन । तर, यहाँ कागज फोहोर हुन्छ भन्ने जान्दाजान्दै पनि देशलाई धोका दिने चरित्रका बारेमा केही शब्द खर्च गर्ने धृष्टता भएको छ ।

राजनीतिमा भरोसा राखिएका व्यक्तिले ठीक समयमा आफ्नो जिम्मेवारी पूरा गर्न सकेनन् या खोजेनन् भने त्योभन्दा ठूलो अर्को धोखा मानिँदैन । संविधान बनाउने बेला देशहितलाई केन्द्रमा नराख्ने संविधानसभाका सदस्य, कानुन निर्माणबारे छलफल चलिरहँदा संसद्मै निदाउने सदस्य, मन्त्री–प्रधानमन्त्रीको जिम्मेवारीमा रहँदा कामभन्दा कुरामा रमाउने नेता, बिरामी परेका बेला उपचार गर्न नसक्ने डाक्टर, वर्षात्मा पानी नछेक्ने छाता र दुःखमा भाग्ने साथी सबैलाई धोखेबाज भनिन्छ । तर, शत्रुले शत्रुलाई धोका नै दिए पनि त्यसको परिणाम सुखद हुन सक्छ भने मित्र बनेर मित्रलाई दिइने धोकाको आयतन र गहिराइ मापन गर्नै नसकिने स्तरको हुन्छ ।

नेपाली राजनीतिका अगुवामध्ये बीपी, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी र मदन भण्डारीबाट मुलुकले धोका पाएको ठानिँदैन । धोका नदिने प्रकारका र धोका दिने मौका नपाएर इमानदार बन्न बाध्य भएकाहरू पनि नेपाली राजनीतिमा फेला पर्छन् । तर, जीवितहरूमध्ये धोखेबाजहरूको नामावली तयार गर्दा नेपालीले प्रचण्ड र कमल थापाको नाम अग्रभागमा उल्लेख गर्ने स्थिति बन्नुमा सम्बन्धित पात्रबाहेक अरू कसैको योगदान रहेको मान्नुपर्दैन ।

प्रचण्डले सर्वहारा वर्गको अधिनायकत्वमा कम्युनिस्ट पार्टीको एकदलीय राज्यसत्ता स्थापना गर्ने ‘गन्तव्य’ देखाएर हजारौँ नेपालीको ज्यान जाने युद्धमा युवाहरूलाई सहभागी गराएको, तर स्थिति निर्धारित गन्तव्यभन्दा अन्यत्रै पुऱ्याइदिएको भन्दै एकथरी कम्युनिस्ट समर्थकहरू प्रचण्डबाट धोखा पाएको महसुस गर्दै छन् । प्रचण्ड र धोखाधडीबीचको अन्योन्याश्रित सम्बन्धलाई बुझ्न नसक्दा गिरिजाप्रसाददेखि शेरबहादुरसम्मले अविष्मरणीय धोका पाएकै हुन् । प्रचण्डबाट चरम ‘धोका प्राप्तिका निम्ति’ अझै पनि कैयन शक्ति र व्यक्ति लामबद्ध छन् । तथापि हामीले एउटा कुन पक्षलाई स्मरणमा राख्नुपर्ने हुन्छ भने प्रचण्डले आफ्नो धोखाधडीको चरित्रलाई कायम राखिरहे भने त्यसले सुखद परिणाम ल्याउन पनि सक्छ ।

सर्वहारावादी अधिनायकवादका पक्षधरलाई धोका दिनु भनेको देश र प्रजातन्त्रका निम्ति सुखद घटना हुन सक्छ । उनले राज्यसत्ता पाउनका निम्ति विभिन्न बाह्य शक्तिसँग अवाञ्छित सम्झौता र सहकार्य गरेको आमजानकारीको विषय हो, प्रचण्डसँग सम्झौता गर्नेहरूले धोखा पाउँदा नेपाल र नेपालीले अपशोच मान्नुपर्ने हुँदैन । उनले नेपालको राष्ट्रियता, राष्ट्रिय एकता र सामाजिक सद्भावविरोधी शक्तिसँग पनि हातेमालो गर्दै आएको तथ्य लुकेको छैन, उनीहरूलाई प्रचण्डले धोका दिए भने त्यसको परिणाम नेपालका निम्ति दुःखद हुनेछैन । गलत परिणामको आशा राख्ने खराब नियत भएकाहरूले धोका पाउनु भनेको देशका निम्ति सुखद परिणाम हासिल हुनु हो ।

प्रचण्डले ‘बाह्य शक्ति’ र ‘क्रान्ति’लाई धोखा दिएर राष्ट्र र प्रजातन्त्रलाई योगदान पुऱ्याउन सक्छन् । कमल थापाले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र राष्ट्रिय एकताका पक्षधर शक्तिलाई धोखाधडी गर्नुको परिणाम सम्पूर्ण रूपले राष्ट्रका विरुद्ध छ, जुन कदापि क्षमायोग्य मान्न सकिँदैन । तथापि, कमल थापा नेपाललाई हिन्दूराष्ट्रका रूपमा हेर्न साँच्चै चाहन्छन् भने उनलाई त्यसनिम्ति योगदान पुऱ्याउने एउटा सुवर्ण अवसर भने अझै पनि छ ।

प्रचण्डले ‘पार्टी र क्रान्ति’लाई धोका दिँदा प्रजातन्त्र लाभान्वित हुने, नेपालप्रति कुनै न कुनै रूपको वैरभाव राख्ने बाह्य तत्वलाई धोका दिइँदा नेपालको राष्ट्रियता सुरक्षित हुने भएकोले धोखेबाज हुँदाहुँदै पनि प्रचण्डको धोकाबाट केही न केही सकारात्मक परिणाम प्राप्त हुने अपेक्षा गर्न सकिन्छ । तर, हिन्दूराष्ट्र, राष्ट्रिय एकता, सामाजिक सद्भाव र राजसंस्था आदिलाई एजेण्डा बनाउने कुनै राजनीतिकर्मीले धोका दियो भने राष्ट्रले कस्तो परिणाम भोग्ला ? यहाँ सकारात्मक एजेण्डा प्रस्तुत गर्दै नकारात्मक परिणामका निम्ति ‘योगदान’ पुऱ्याउने पक्ष र पात्रका बारेमा सङ्क्षिप्त चर्चा गर्ने प्रयास गरिएको छ ।

राजा अर्थात् राजतन्त्र अस्तित्वमा नभएको भए पञ्च परिचयमा राजनीति गर्नेहरूको औकात कुन तहको हुन सक्थ्यो, त्यो अनुमान गर्न सकिन्छ । २०४६ को परिवर्तनलगत्तै पञ्चहरू राप्रपा नाममा दल खोलेर राजनीतिमा सरिक हुँदा त्यसलाई किञ्चित अस्वाभाविक मानिएन । बहुलवादमा आधारित संसदीय प्रजातन्त्रले प्रजातन्त्रविरोधी विचारबाहकसमेतलाई सुरक्षा र अवसरको सुनिश्चितता दिने हुनाले पञ्चहरू दल स्थापना गरेर राजनीतिमा सरिक हुनुलाई स्वाभाविक रूपमा लिइयो । तर, ०६३ को परिवर्तनपश्चात् राजाको छत्रछायामा राजनीति गरेर हुर्किएका पञ्चहरू कम्युनिस्टभन्दा चर्को गणतन्त्रवादी स्वरूपमा देखापरे । पञ्चका मुखारबिन्दबाट गणतन्त्रात्मक प्रणालीको महिमा सुन्नुपर्दा अत्यन्त असहजताको महसुस गराए पनि राजनीतिको एउटा विद्रुप चरित्र मानेर पञ्चका गणतन्त्रात्मक बखान सुनियो । उनीहरूको पहिचान र हैसियत राजा र राजतन्त्रले बनाइदिएको थियो, राजालाई अप्ठ्यारो परेका बेला पञ्चहरू गणतन्त्रवादी कित्तामा उभिँदा त्यसले नदी र बगरको सम्बन्ध स्मरण गराइदियो ।

नदी र बगर सधैँ सँगै हुन्छन्–देखिन्छन्, सँगै देखापर्ने हुनाले हामीलाई लाग्छ कि नदी र बगरबीच अन्योन्याश्रित एवम् आत्मिक सम्बन्ध होला, तर यथार्थको बेदना बेग्लै छ । नदीको अस्तित्वबिना बगरको अस्तित्व सम्भव हुँदैन, तथापि बगरले आफ्नो क्षेत्र विस्तार गर्दा नदीले सुक्नुपर्छ र नदीले आफ्नो आकार बढाउँदा बगरले लुक्नुपर्छ । एउटाले अर्काको अस्तित्व स्वीकार गर्नै नसक्ने अवस्थामा पनि सँगै रहनुपर्ने नियति नदी र बगरले भोगिरहेका हुन्छन् । वास्तवमा नदीबिना बगरको आफ्नो पहिचान र प्रभाव हुन सक्दैन भन्ने बगरले नबुझेझैँ राजा या राजसंस्थाबिनाको राजनीतिमा आफ्नो औचित्य पुष्टि गर्न सकिँदैन भन्ने पञ्चहरूले बुझेनन् । जे भए पनि बगरले नदीकै महिमागान गरिरहेको भए बगरको महिमा अरूहरूले गाउन सक्थे । नदी सुकेपछि बगरले ‘पानीको औचित्य नै थिएन’ भनिदिँदा जुन कृतघ्नता पैदा हुन्छ, त्यस्तै ‘रस’ पैदा गरे पञ्चहरूले ।

यस्तै पञ्चहरूमध्ये कमल थापा नाममा एक यस्ता व्यक्ति देखापरे, जो प्रतिकूल अवस्थामा पनि राजसंस्था र हिन्दूराष्ट्रको वकालत गर्न अग्रसर भए । कमल थापाको पृष्ठभूमि मानिसको आँखीभौँ खुम्चिने तहको भए पनि गणतन्त्रवादीहरूको राजनीति अघि बढ्दै जाँदा उनलाई काङ्ग्रेस–कम्युनिस्टकै विकल्पका रूपमा ग्रहण गर्न थालियो । राजसंस्था र हिन्दूराष्ट्रका पक्षमा रहेकाहरूले कमल थापा र उनको समूहलाई आफ्नो वास्तविक प्रतिनिधिका रूपमा लिए । काङ्ग्रेसमा केही बढी र कम्युनिस्टमा अलिक कम मानिस जो राजसंस्था र हिन्दूराष्ट्रका पक्षमा छन् तिनको ध्यानसमेत कमलका तर्फ आकर्षित भएका हुन् ।

कमल थापा आफैँमा प्रभावी व्यक्तित्व मानिन्छन्, उनको प्रस्तुति कलामा तर्क र साहसी गुण थपिँदा देख्ने–सुन्ने जोकोही पनि उनका प्रति आकर्षित हुन सक्छन् । तथ्य र तर्कद्वारा आफ्ना कुराहरू पुष्टि गर्ने र जोखिम उठाउन सक्ने उनका विशिष्ट गुण हुन् । त्यसैले बिस्तारै मानिसले कमल थापालाई उनको पृष्ठभूमिमा नभई वर्तमानमा हेर्न थालेका थिए । ०७० मङ्सिरमा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनसम्म आइपुग्दा शहरबजार र अलिक चेतनशील एवम् राष्ट्रप्रति संवेदनशील मानिसको समुदायमा कमल थापा विकल्पका रूपमा स्वीकार्य हुँदै गएका थिए । यिनलाई साथ दिँदा राजसंस्था पुनर्वहाली हुने र हिन्दूराष्ट्र पनि बन्ने विश्वासको विस्तार भएको थियो ।

समग्रमा राष्ट्रवादी समुदायका निम्ति त्यसबेला कमल थापा आस्था र विश्वासको केन्द्र बन्दै गएका थिए । फलस्वरूप ०७० मङ्सिरको संविधानसभा (दोस्रो) निर्वाचनमा राजधानी काठमाडौंका बासिन्दाले समानुपातिकतर्फ गाई चिह्नका पक्षमा सबैभन्दा बढी मतदान गरे । देशभर ‘गाछी र बाछी’ या ‘गाई र भाइ’जस्ता नारा लागे, साङ्गठनिक पहुँच नपुगेको मतदान केन्द्रहरूबाट पनि कमल थापाको समूहलाई भारी मत प्राप्त हुन गयो । परिणामस्वरूप संविधानसभामा दुई दर्जनभन्दा बढी सांसद पठाउने अवसर थापालाई प्राप्त भयो । शुरुको केही समय कमल र उनको समूहले संविधानसभामा निर्वाह गरेको भूमिकाले आमजनतामा विशिष्ट प्रभाव पारेको पनि हो ।

सीके राउतले राष्ट्रियताको कुरा गर्नु, बाबुरामले क्रान्तिको बाजा बजाउनु, प्रचण्डले शान्ति र सुशासनको पक्षमा भाषण दिनु, ‘एमाले’ नेताले एनजीओमुक्त नेपाल बनाउने नारा दिनु, कैलाश सिरोहियाले पत्रकारिताको मूल्य–मान्यताका पक्षमा प्रवचन दिनु, चार्ल्स शोभराजले मानव जीवनको रक्षाका निम्ति लड्ने बताउनु र कमल थापाले हिन्दूराष्ट्र बनाउने दाबी गर्नुका बीच तात्विक अन्तर रहेको ठानिँदैन ।

धर्मनिरपेक्ष र गणतन्त्रात्मक संविधान निर्माणमा उनको सहयोग नरहने आमविश्वास थियो । तर, कमल थापा आमविश्वासविपरीत भूमिकामा देखापरे । उनी अचानक संविधान निर्माण प्रक्रियामा सामेल भए र, केपी ओली नेतृत्वको सरकारमा परराष्ट्रमन्त्रीको जिम्मेवारी लिएर ‘विश्वको उत्कृष्ट संविधान निर्माण गरिएको’ भन्दै संसार डुल्न थाले । धर्मनिरपेक्षतासहितको सङ्घीय गणतन्त्रात्मक संविधान जारी गर्ने मूल पक्षका नेताहरूले बरु कुनै न कुनै रूपमा असन्तुष्टि जाहेर गरेको र संविधान संशोधन हुनुपर्छ भनेको पाइयो, तर कमल थापाबाट भूलवश पनि संविधानप्रति असहमति प्रकट भएन । काङ्ग्रेस र कम्युनिस्ट नेताहरूले कुन्नि क–कसको इच्छा र इसारामा रातारात जारी गरेको संविधानको ‘सच्चा’ प्रवक्ता कमल थापा बने । उनको यसप्रकारको भूमिकाले जो हिन्दूराष्ट्रका पक्षमा थिए, तिनलाई चरम निराशाको अवस्थामा पुऱ्यायो । जो राजसंस्था पुनर्बहालीको पक्षमा थिए ती पनि क्रूद्ध भए र, समग्रमा सबै आकारप्रकारका राष्ट्रवादी शक्तिहरू कमल थापाको भूमिकाबाट दुःखी र आक्रोशित भए, आफूहरूमाथि धेरै ठूलो धोका भएको महसुस तिनले गरे, त्यसपछि कमल थापालाई फेरि नपलाउने गरी जनताको दिल र दिमागबाट उखेलिदिएका छन् । अहिले तिनै थापा अन्य कतिपय एजेन्डाका साथ हिन्दूराष्ट्र स्थापनाको सन्देश लिएर देश डुल्दै छन् । पुगेका कतिपय ठाउँमा मानिसको जमघट देखेर उनलाई आफू जनतामाझ अझै प्रिय रहेको महसुस पनि हुँदो हो । वास्तवमा कमल थापा होइन, राजेन्द्र लिङ्देनजस्ता इमानदार र प्रिय व्यक्तित्व उभिएकाले मात्र मानिसहरू झुम्मिएका हुन् भन्ने उनले बुझ्न बाँकी देखियो ।

कमललाई अवसर मिलेको थियो, जसरी अहिले केपी शर्मा ओलीलाई देशमा केही गर्ने सुन्दरतम् मौका मिलेको छ, हिजो कमल थापालाई राष्ट्रियताको पक्षमा केही गरेर देखाउने दुर्लभ अवसर प्राप्त भएको थियो । सच्चा राष्ट्रवादी थिए र नेपाल हिन्दूराष्ट्र बन्नुपर्छ भन्ने चाहन्थे भने रकेट गतिमा बनाउन लागिएको संविधान निर्माण प्रक्रियामा उनको सहभागिता हुनुहुन्नथ्यो, बरु संविधानसभा नै बहिष्कार गरेर उनी बाहिरिन सक्थे या सामूहिक राजीनामा दिन सक्थे । तर, उनी संविधान निर्माण प्रक्रियामा सामेल मात्र भएनन्, ‘बहादुरीपूर्वक’ संविधान जारी गराउने निमित्त नायकहरूको सरकारमा सामेल भए र धर्मनिरपेक्ष संविधानको मुख्य प्रचारक बने । त्यस घटनाले कमल थापाप्रतिको विश्वास र भरोसा पूरै पखालिदिएको छ, आमजनता जसले एउटा विश्वासका साथ कमल थापालाई मतदान गरेका थिए तिनले गम्भीरतम् धोका भएको महसुस गरेका छन्, हिन्दूराष्ट्रका निम्ति अब फेरि कमल थापाको मुख ताक्ने पक्षमा आमराष्ट्रवादीहरू छँदैछैनन् ।

प्रचण्डले ‘बाह्य शक्ति’ र ‘क्रान्ति’लाई धोखा दिएर राष्ट्र र प्रजातन्त्रलाई योगदान पुऱ्याउन सक्छन् । कमल थापाले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र राष्ट्रिय एकताका पक्षधर शक्तिलाई धोखाधडी गर्नुको परिणाम सम्पूर्ण रूपले राष्ट्रका विरुद्ध छ, जुन कदापि क्षमायोग्य मान्न सकिँदैन । तथापि, कमल थापा नेपाललाई हिन्दूराष्ट्रका रूपमा हेर्न साँच्चै चाहन्छन् भने उनलाई त्यसनिम्ति योगदान पुऱ्याउने एउटा सुवर्ण अवसर भने अझै पनि छ । नेपाली राष्ट्रियता र राष्ट्रका निम्ति योगदान पुऱ्याउने अन्तिम मौका जुन उनलाई प्राप्त छ, त्यो भनेको हिन्दूराष्ट्र प्राप्तिको आन्दोलनबाट उनको बहिर्गमन हो । कमल थापाले ‘हिन्दूराष्ट्र चाहियो’ भनिरहँदा यो आन्दोलनलाई गिज्याएजस्तो महसुस भइरहेको छ ।

पाकेको फल टिपेर खान नखोज्नेले बिउ–बिरुवा रोपेर, मल–पानी हालेर, हुर्काइबढाई गरेर पाँच वर्षपछि फलाएर खाने गफ दिएझैँ भएको छ कमल थापाले हिन्दूराष्ट्र बनाउने कुरा । अचेल कोही जनताबीच हिन्दूराष्ट्रका एजेन्डा लिएर पुगे भने पहिलो प्रश्न नै ‘कमल थापाजस्तै त होला’ भन्ने बिन्दुबाट शुरु हुन्छ । राष्ट्रियताको पक्षमा इमानदार प्रयास गर्नेहरूलाई समेत शङ्काका दृष्टिले हेर्ने जुन परिस्थिति बनेको छ त्यसको शतप्रतिशत ‘श्रेय’ कमल थापालाई जान्छ । अब विगतको भूलका निम्ति पश्चात्ताप गर्ने र राष्ट्रलाई दिएको धोकाको क्षतिपूर्ति गर्ने हो भने कमल थापाले हिन्दूराष्ट्रको एजेण्डा परित्याग गरिदिनु उचित हुनेछ । उनले यो एजेन्डा छोडेको सन्देश प्रवाह हुनु भनेकै हिन्दूराष्ट्रका पक्षमा वातावरण बन्नु हो । सीके राउतले राष्ट्रियताको कुरा गर्नु, बाबुरामले क्रान्तिको बाजा बजाउनु, प्रचण्डले शान्ति र सुशासनको पक्षमा भाषण दिनु, ‘एमाले’ नेताले एनजीओमुक्त नेपाल बनाउने नारा दिनु, कैलाश सिरोहियाले पत्रकारिताको मूल्य–मान्यताका पक्षमा प्रवचन दिनु, चार्ल्स शोभराजले मानव जीवनको रक्षाका निम्ति लड्ने बताउनु र कमल थापाले हिन्दूराष्ट्र बनाउने दाबी गर्नुका बीच तात्विक अन्तर रहेको ठानिँदैन । त्यसैले नेपाललाई हिन्दूराष्ट्रका रूपमा कमल थापाले साँच्चै हेर्न चाहेका र आफ्नो ‘इमेज’ बदल्ने इच्छा राखेका हुन् भने उनी यो आन्दोलनबाट अलग भइदिऊन्, यो नै देशलाई उनले पुऱ्याएको सबैभन्दा महान् योगदान सिद्ध हुनेछ ।