माछापुच्छ्रे बैंकको बदमासी, वृद्धभत्ताको रकम नै गायब !

माछापुच्छ्रे बैंकको बदमासी, वृद्धभत्ताको रकम नै गायब !


■ पुनहरि बेलवासे, भैरहवा

बैंक भन्ने बित्तिकै मूलतः पैसा सुरक्षित जम्मा गर्ने माध्यम भन्ने बुझिन्छ । मिहेनतले जम्मा गरेको होस् वा तलबबाट आएको रकम, बैंकमा जम्मा गरेपछि सुरक्षित हुने र आवश्यक परेको बेलामा निकाल्न मिल्ने भएकोले सामान्य पकेट खर्चबाहेकको रकम बैंकमा जम्मा गरिन्छ । यति मात्रै हैन अहिले सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता, दलित भत्ता, एकल महिला भत्ता) को रकम समेत बैंकमा जम्मा हुने गर्छ । तर माछापुच्छ्रे बैंकले व्यवस्था गरेको शाखारहित बैंकिङ सेवाले व्यक्तिको पैसा हिनामिना गरेको पाइएको छ ।

भैरहवा शाखाको मातहतमा रहेर शाखारहित बैँकिङ सेवा सञ्चालन गरेको सम्मरीमाइ गाउँपालिकाको काउन्टरमा भने लाखौँ रुपैँया हिनामिना भएको छ । ७० वर्ष पूरा गरेका जेष्ठ नागरिक तथा ६० बर्ष पुगेका दलित वृद्धवृद्धाको रकम बैंकले नै हिनामिना गरेको तथ्य बाहिरिएको छ ।

रुपन्देहीको सम्मरीमाइ गाउँपालिकामा शाखारहित बैँकिङ सेवा राखेको माछापुच्छ्रे बैंकले राष्ट्र बैंकको आँखा छलेर रकम हिनामिना गरेको हो । जेष्ठ नागरिकलाई नेपाल सरकारले चौमासिक रुपमा प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ताको रकम मध्येबाट एक चौमासिकमा प्रत्येक व्यक्तिबाट रु ५ सय उक्त एजेन्टले आफैले राखेको वृद्धवृद्धा र उनीहरुका परिवारका सदस्यहरुले बताएका छन् ।

सम्मरीमाई गाउँपालिकामा रहेको माछापुच्छ्रे बैंकको बैंकरहित बैँकिङ सेवा केन्द्रका कर्मचारी रमेश चौहानले वृद्धभत्ता बुझ्न जाँदा ५ सय खाता खोलेको पैसा हो भनी भत्ता बुझ्न आउने वृद्धवृद्धा सँगबाट आफैले राख्ने गरेको उनीहरुले बताए ।

जेष्ठ नागरिकले एक चौमासिकमा पाउने ८ हजारमध्ये कसैको त्यही रकमबाट रु ५ सय काटेर रु ७ हजार ५ सय दिने गरेका हुन् भने कसैसँगबाट रु ५ सय छुट्टै खाता खोलेको रकम भनी लिने गरेको छ । उनले ५ सय लिँदा त्यो रकम खातामा रहन्छ भने तर हामीले पछि खातामा हेर्दा त्यो रकम नभएको नाम उल्लेख नगर्ने शर्तमा एक वृद्धले बताए ।

यसबारेमा बैंक एजेन्ट रमेश चौहानसँग बुझ्दा वृद्धवृद्धाको त्यो ५ सय रुपैयाँ उनीहरुको बचतका लागि राखी दिएको स्विकारे पनि खातामा रकम नरहेको वृद्धवृद्धाका परिवारका सदस्यले बताए ।

उता माछापुच्छ्रे बैँक भैरहवाका शाखा प्रबन्धक अनुज सिग्देलले यसबारेमा यो भन्दा अगाडि पनि सम्मरीमाई गाउँपालिका वडा नं. ७ बाट कुरा आएको र आफुले केन्द्रिय कार्यालयमा जानकारी गराईसकेको बताए पनि बर्तमान अवस्थाको बारेमा आफु केही बोल्न नमिल्ने भन्दै पन्छिए ।

माछापुच्छ्रे बैँकका नायव प्रमूख कार्यकारी अधिकृत सन्तोष कोइरालाले त्यस्तो कार्य गर्ने एजेन्टलाई बैँकको नियमानुसारको कारवाही हुने बताए । यस घटनाबारे भैरहवा शाखा प्रबन्धक अनुज सिग्देलले केन्द्रमा जानकारी गराईसकेको बताइरहँदा नायव प्रमुख कार्यकारी अधिकृत कोइरालाले केन्द्रमा यसबारे कुनै जानकारी नभएको प्रतिक्रिया दिए । नायव प्रमुख कार्यकारी अधिकृत कोइरालाले आफ्नो शाखाको बारेमा उठेका सामान्य प्रश्नहरुको उत्तर शाखा प्रबन्धकले दिन मिल्ने बताए पनि भैरहवा शाखाका प्रबन्धक सिग्देलले यसबारेमा कुनै प्रतिकृया नदिनु पनि आफैमा शंकास्पद विषय बनेको छ ।

यस बारेमा सम्मरीमाई गाउँपालिका वडा नं ४ का वडाध्यक्ष दिवाकर प्रसाद दुबेले यो समस्या ७ वटै वडामा रहेको बताउँदै यसबारेमा हामीले बैँकलाई शुन्य व्यालेन्समा खोलिने खातालाई किन ५ सय रुपँैया लिने भनि प्रश्न गरेका थियौँ र यस्तो कार्य तुरुन्त रोक्न पनि दवाव दिएका थियौँ । हामीलाई थाहा नहुँदा सम्म बैँकले खातामा रहने गरी ५ सय रुपैँया लिएको बताएको थियो उनी भन्छन् ।

सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जीतेन्द्रनाथ शुक्ला (बब्लु)ले बैँकले सबै वृद्धवृद्धाबाट रु ५ सय लिने गरेको जानकारी आएको स्विकार गर्दै यसबारेमा बैँकसँग आफुले फोनमा कुरा गर्दा बैँकका कर्मचारीले एटीएम र घरघरमा गएर खाता खोले बापतको रकम हो भनेको बताए । उनले शुन्य ब्यालेन्समा खोलिने खाता ५ सय रुपैयाँ लिने कुरा चित्त बुझ्दो नभएको हुँदा बैँक म्यानेजरसँग अब भेटेरै कुरा गर्ने प्रतिकृया दिए । गाउँपालिकामा करिब २ हजार २ सय जनाले सामाजिक सुरक्षा भत्ता बुझ्ने गर्दछन् ।

बैँकमा रहेको रकम खातावाल व्यक्तिले आफ्नो चाहनाअनुरुप निकाल्न पाउँछन् तर माछापुच्छ्रे बैँकले वृद्धवृद्धालाई रु ५ सय खातामा राख्न लगाउनु कहाँसम्मको जायज कार्य हो यो सबैको सरोकारको विषय बनेको छ ।