नेपाल पनि ‘शक्तिराष्ट्र’ !

नेपाल पनि ‘शक्तिराष्ट्र’ !


■ मनोज रिजाल, न्युयोर्क

एसियाका २५ शक्तिराष्ट्रको सूची (पावर इन्डेक्स) २०१८ मा नेपाललाई पनि समावेश गरिएको छ । संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा मे ८ मा सार्वजनिक गरिएको एक अनुसन्धान प्रतिवेदनमा नेपाललाई पनि एक ‘शक्तिराष्ट्र’को रूपमा समेटिएको हो ।

अष्ट्रेलियाको सिड्नीमा मुख्यालय रहेको लोवी इन्स्टिच्युटले न्युयोर्कमा एक समारोहबीच सार्वजनिक गरेको उक्त प्रतिवेदनमा नेपाल आर्थिक स्रोत–साधनका हिसाबले २०औँ स्थानमा छ र उत्तर कोरिया, कम्बोडिया, मंगोलिया र लाओसभन्दा अगाडि छ ।

यसैगरी, भविष्यमा हुन सक्ने देशको आर्थिक आकार, सैन्य खर्च र काम गर्न सक्ने जनसङ्ख्याका आधारमा नेपाल १९औँ स्थानमा छ र न्युजिल्यान्ड, ब्रुनाईलगायतका देशहरूभन्दा अगाडि छ ।

प्रतिरक्षा सञ्जाल सूचकमा नेपाल २२औँ नम्बरमा छ भने सांस्कृतिक प्रभाव विस्तारमा २३ नम्बरमा र अन्तर्राष्ट्रिय आर्थिक सम्बन्धका हकमा २४औँ नम्बरमा छ । त्यस्तै, सैन्य र प्रतिरोध क्षमता एवम् कूटनीतिक प्रभाव विस्तारको हकमा नेपाल २५औँ नम्बरमा छ ।

उक्त अनुसन्धानले एसिया–प्रशान्त क्षेत्रका देशहरूलाई समेटेको थियो, जसमा पश्चिममा अस्टे«लिया र संयुक्त राज्य अमेरिकादेखि पूर्वमा इन्डिया, पाकिस्तान र रसियासम्मलाई समेटिएको थियो । उक्त अनुसन्धानले एसियाका शक्तिराष्ट्रहरूलाई महाशक्ति (सुपर पावर), ठूला शक्ति (मेजर पावर), मझौला शक्ति (मिडल पावर) र साना शक्ति (माइनर पावर) को रूपमा वर्गीकरण गरेको थियो ।

संयुक्त राज्य अमेरिका र चाइनालाई १०० पूर्णाङ्कमा क्रमशः ८५ र र ७५.५ अङ्कसहित महाशक्ति राष्ट्र मानिएको छ । त्यस्तै, जापान र इन्डियालाई क्रमशः ४२.१ र ४१.५ अङ्कसहित ठूला शक्तिराष्ट्र मानिएको छ ।

तेह्र देशहरूलाई मझौला शक्तिराष्ट्र मानिएको छ, जसमा इन्डोनेसिया, सिङ्गापुर, अस्ट्रेलिया, मलेसिया, थाइल्यान्ड, रसिया, पाकिस्तान र उत्तर कोरियालगायतका देशहरू पर्दछन् ।

यसैगरी, आठवटा देशलाई साना शक्तिराष्ट्र मानिएको छ, जसमा नेपाल, म्यान्मार, ब्रुनाई र बंगलादेशलगायतका देशहरू छन् ।

उक्त प्रतिवेदन सार्वजनिक समारोहलाई सम्बोधन गर्दै अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री तथा न्युयोर्कमा अवस्थित एसिया सोसाइटीका अध्यक्ष केभिन रुडले उक्त शक्ति सूचकाङ्कले एसियामा शक्तिको स्वरूप के–कस्तो रूपमा रहेको छ वा परिवर्तन हुँदै छ भन्ने सम्बन्धमा अवधारणा प्रस्तुत गरेको तथ्य बताउनुभयो ।

‘एसियामा संयुक्त राज्य अमेरिका जताततै पुगेको देखिन्छ भने अमेरिका पुग्न नसकेको वा उसले गर्न नसकेको खाली ठाउँमा आफ्नो उपस्थिति जनाउन अर्को महाशक्ति राष्ट्रको रूपमा चाइना अगाडि बढीरहेको अवस्था छ,’ रुडले भन्नुभयो ।

उक्त अनुसन्धानमा संलग्न कार्यक्रमका अन्य वक्ताहरूले उत्तर कोरियाको शक्तिलाई वास्तविकता भन्दा बढी आकलन गरिएको (ओभर इस्टिमेटेड) बताउनुभयो भने जापान एक चतुर शक्ति (स्मार्ट पावर) रहेका तथ्य बताउनुभयो ।

यसैगरी, सिंगापुर, अस्टे«लिया र दक्षिण कोरियालाई सोचेभन्दा राम्रो नतिजा ल्याउने (ओभर पर्फर्मर) शक्तिराष्ट्रको रूपमा राखिएको छ भने रसिया, ताइवान र उत्तर कोरियालाई एसिया–प्रशान्त क्षेत्रमा घुलमिल हुन नसकेका (मिसफिट) शक्तिराष्ट्रका रूपमा राखिएको छ ।

Twitter: @manojrjl