गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको चुनावी सरगर्मी बढ्दै

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको चुनावी सरगर्मी बढ्दै


■ राजन घिमिरे

भन्ने गरिन्छ– जहाँ नेपाली राजदुतावास पुगेको छैन त्यहाँ गैरआवासीय नेपाली संघ पुगेको छ । हुन पनि हो, पछिल्लो समय गैरआवासीय नेपाली संघप्रति प्रवासी नेपालीहरूको बढ्दै गएको चासो, सहभागिता र विश्वासले यो संस्थाको हरेक क्रियाकालाप चर्चाको पाटो बन्न थालेको छ ।

यसै क्रममा यतिबेला विभिन्न मूलुकमा हुँदै गएको नयाँ नेतृत्व छान्ने चुनावी सरगर्मीले पनि निकै महत्व पाउन थालेको छ । त्यसमध्ये अष्ट्रेलिया झनै अगाडि देखिएको छ । आगामी जुलाई ६ तारिखमा अष्ट्रेलियामा हुन गइरहेको गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको निर्वाचनमा २०९ पदका लागि करिव चार सयभन्दा बढी उम्मेदवार मैदानमा उत्रनुले पनि यसको महत्वलाई झनै बढाएको छ ।

एनआरएनए अस्ट्रेलियाको अध्यक्ष पदका लागि मेलबर्नबाट केसव कँडेल, सिड्नीबाट दिनेश पोखरेल र नन्द गुरुङले उम्मेदवारी दिएका छन् । त्यसैगरी महासचिव पदका लागि डा. ज्ञानेन्द्र रेग्मी, डा. शंकर ढकाल र सन्तोष दाहालले उम्मेदवारी दिएका छन् ।

सचिवका लागि परेश घिमिरे, उषा बारिया पोखरेल र सरोज पाण्डेले उम्मेदवारी दिएका छन् भने कोषाध्यक्षमा अनिल पोखरेल, कुशल केसी र कपिलदेव पाण्डेले अग्रसरता दर्शाएका छन् । साथै सह–कोषाध्यक्षमा सीताराम घिमिरे र लक्ष्मण गोपालीको उम्मेदवारी परेको छ ।

युवा संयोजकमा इरसाद अहमद, विजय पौडेल र विनोद पौडेलले उम्मेदवारी दिएका छन् भने डेपुटी युथ कोअर्डिनेटरमा रोशन खत्री र द्वारिका दवाडीले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी आइसिसी सदस्यमा रहेको ७ पदका लागि १४ जना उम्मेदवार मैदानमा उत्रिएका छन् । उम्मेदवारी दिनेहरूमा शम्भु कँडेल, अशोक केसी, समिम अनवर, नारायणप्रसाद काफ्ले, सन्तोष कुँवर, अरुण, ठाकुर, दीपक शर्मा, चोलाकान्त भूसाल, राजु अधिकारी, छवि सापकोटा, राजु मानन्धर, प्रकाश प्रसाई, निराजन गौली र सूर्य आचार्य रहेका छन् ।

न्यू साउथवेल्सको संयोजक पदका लागि डिला खरेल, देव गुरुङ र मोहन भट्टले उम्मेदवारी दिएका छन् भने क्यानबेराको संयोजक पदका लागि चुडामणि सापकोटा र सञ्जय घिमिरेले, क्वीन्सल्याण्ड संयोजकमा धीरेन्द्रराज थापा र उमेश खड्काले, एडिलेड संयोजकमा रेनुका लामा र नवराज पन्तले, भिक्टारियामा महेन्द्र केसी र प्रेम कँडेलले, वेष्टर्न अस्ट्रेलिया संयोजकमा कृष्णमान श्रेष्ठ र नवीन भण्डारीले उम्मेदवारी दिएका छन् भने तास्मेनिया संयोजकमा सन्देश परियार तथा तथा नर्दन टेरिटोरीमा हेम पुन निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी एनआरएएनए अस्ट्रेलियाको महिला संगठन नारी निकुञ्ज अस्ट्रेलिया निर्विरोध निर्वाचित भएको छ । सन्ध्या शाहको नेतृत्वमा रहेको टोलीमा डेपुटी कोअर्डिनेटर सब्बु महर्जन, सचिवमा सुकीर्ति राज्यलक्ष्मी भट्ट तथा कोषाध्यक्षमा समीक्षा अधिकारी पाठक निर्विरोध निर्वाचित भएका छन् ।