लेक लागेर युवाको मृत्यु

लेक लागेर युवाको मृत्यु


लमजुङको दूधपोखरी गाउँपालिका–१ मा रहेको पर्यटकीय एवं धार्मिक दूधपोखरी कुण्डमा घुम्न गएका अधिकारीको लेक लागेर मृत्यु भएको छ । बेँसीशहर नगरपालिका–८ का अन्दाजी ४५ वर्षीय दीपक अधिकारीको आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

पाँच जना साथी मिलेर उक्त स्थानमा घुम्न गएको र लेक लागेर मृत्यु भएपछि प्रहरीलाई मृतकका आफन्तले दिउँसो ४ बजेतिर खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वसन्त पाण्डेले बताए । उनका अनुसार प्रहरीलाई खबर आएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरीहरु उक्त स्थानतर्फ जाँदै गरेको छ ।

घटनास्थल टाढा, कच्ची सडक र सवारीसाधनबाट झरेपछि समेत तीन घण्टा पैदल यात्रा गरेपछि मात्रै प्रहरी पुग्ने र थप विवरण थाहा हुने निरीक्षक पाण्डेले बताए । प्रहरीका अनुसार घटनातर्फ जाँदै गरेका प्रहरी टोली राति करीब ११ बजेतिर उक्त स्थान पुग्ने र मङ्गलबार बिहान मात्रै बेँसीशहर ल्याउन सकिनेछ ।