बझाङमा जिप, उद्धारका लागि बाटो खनिँदै

बझाङमा जिप, उद्धारका लागि बाटो खनिँदै


बझाङको सदरमुकाम चैनपुरनजिकै रहेको डुङीबाट मष्टागाउँपालिका जाँदै गरेको से.१ज १०७२ नम्बरको जिप मष्टा–१ डौठी भन्ने ठाउँमा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ ।

वडा प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक महानन्द जोशीका अनुसार जिप अप्ठ्यारो ठाउँमा खसेको र मान्छेसमेत जान नसक्ने भएका कारण उद्धार गर्न निकै समस्या भएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

तीनजनाको उद्धार गरिसके पनि जिपमा कति व्यक्ति सवार थिए भन्ने केही खुल्न नसकेको उनले बताए । अहिलेसम्म चारजनाको शव फेला परेको र जिप भिरमा अड्किएको अवस्थामा रहेको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायब उपरिक्षक सूर्यबहादुर केसीसहितको टोली गएको छ । उद्धारका लागि नेपाल प्रहरी, सशत्र प्रहरी र स्थानीय बासिन्दा भिरमा बाटो खनिरहेका छन् ।