इन्डियन ओपन तेक्वान्दोमा भूपेनले जिते स्वर्ण

इन्डियन ओपन तेक्वान्दोमा भूपेनले जिते स्वर्ण


नेपाल आर्मीका भूपेन श्रेष्ठले दोश्रो इन्डियन ओपन अन्तर्राष्ट्रिय जी वन तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् । भारतको हैदरावादमा सम्पन्न खेलमा भूपेनले फाइनलमा भारतका खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेका हुन् । भुपेनले ८७ केजीमुनि तौल समुहमा प्रतिस्पर्धा गरेका थिए । उनले सेमिफाइनलमा अफगानिस्तानका स्टार खेलाडीलाई पराजित गरेका थिए ।

नेपाल तेक्वान्दो संघको प्रतिनिधित्व गर्दै भारतको हैदरावाद पुगेको नेपाली टोलीले उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा १ स्वर्ण र १ काश्य पदक जितेको थियो । त्यस्तै महिला ४९ केजी तौल समुहमा नेपालकी कल्पना चौधरीले काँस्य जितेकी थिइन् । कल्पनाले चार प्रतिद्वन्द्वीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएकी थिइन् ।

तेक्वान्दोका कीर्तिमानी खेलाडी दीपक विष्टले यो जित ठूलो उपलब्धि भएको बताएका छन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्नु आफैमा उपलब्धिपूर्ण हुने बताउँदै यति ठूलो प्रतियोगितामा स्वर्ण जित्नु नेपालको लागि गौरवको कुरा हो विष्टले भने ।