बिहारमा इन्सेफलाइटिसबाट मृत्यु हुने सय नाघे

बिहारमा इन्सेफलाइटिसबाट मृत्यु हुने सय नाघे


भारतको बिहारस्थित मुजफ्फरपुरमा इन्सेफलाइटिसबाट सयभन्दा बढी बालबालिकाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

श्रीकृष्ण मेडिकल कलेजका सुपरिन्टेन्डेन्ट सुनिलकुमार शाहीका अनुसार उपचारका लागि कलेजको अस्पतालमा भर्ना भएका ८३ जना बालबालिकाको मृत्यु भएको छ । मुजफ्फरपुरकै केजरीवाल अस्पतालमा भर्ना भएका अरू १७ जना बालबालिकाको मृत्यु भएको छ ।

इन्सेफलाइटिसबाट मृत्यु भएका व्यक्तिका परिवारलाई जनही चार लाख भारतीय रुपैयाँ उपलब्ध गराउने बिहारका मुख्यमन्त्री नीतीश कुमारले घोषणा गरिसकेका छन् ।

मुख्यमन्त्री नीतीश कुमारले रोगविरुद्ध लड्न सबै स्वास्थ्य निकायलाई सक्रियतापूर्वक काममा जुट्न निर्देश गरेका छन् । इन्सेफलाइटिस भएमा यसले उच्च ज्वरो आउने, टाउको दुख्ने र पक्षाघातसमेत हुने गर्दछ ।

गत साता बिहारका स्वास्थ्यमन्त्री मंगल पाण्डेले विज्ञहरूको टोलीले इन्सेफलाइटिस रोग लाग्नुका मुख्य कारणको पहिचान गरेको बताए ।