छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, २० घाइते

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, २० घाइते


चितवनको नारायणगढबाट वीरजञ्जतर्फ जाँदै गरेको ना.५ख ४०१५ नम्बरको दिवासेवाको यात्रुवाहक बस हेटौँडा उपमहानगरपालिका– १५ स्थित हेटौँडा–वीरगञ्ज सडकखण्डको चुरेमा अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा उपचारको क्रममा एक महिलाको हेटौँडा अस्पतालमा मृत्यु भएको छ ।

मृत्यु भएकी महिलाको अहिले सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सो दुर्घटनामा परी घाइते भएका २० यात्रुको हेटौँडास्थित चुरेहिल अस्पताल र हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइते २० मध्ये चारको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरी मोरङको सुनवर्षी नगरपालिका–९ भेडुवाथानमा गएराति ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलचालकको मृत्यु भएको छ ।

रंगेली–डाइनिया सडकखण्डमा राति पौने १० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को.५प ११७८ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको को.२त २३२० नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलचालक भोजपुर घर भई हाल सुनवर्षी नगरपालिका–४ अमरदह बस्ने ४५ वर्षीय दिलीपकुमार विकको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका विकको रंगेली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । ठक्कर दिने ट्याक्टरलाई नियन्त्रणमा लिए पनि चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।