‘सगरमाथाको काखमा’ अन्तर्राष्ट्रिय योग दिवस (तस्बिरसहित)

‘सगरमाथाको काखमा’ अन्तर्राष्ट्रिय योग दिवस (तस्बिरसहित)


काठमाडौंस्थित भारतीय राजदूतावासले विश्वकै सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा एक योग कार्यक्रम सम्पन्न गरेको छ ।

देश, महादेश तथा समस्त मानव जीवनमा शान्ति तथा सामञ्जस्यता स्थापना गर्ने अभियानस्वरुप आयोजित सो कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरी तथा राजदूतावासका पदाधिकारी लगायत सोलुखुम्बु जिल्लाका महिला तथा युवा समूहका सदस्यहरू, खुम्जुङ र खुन्दे खानेपानी व्यवस्थापन समिति, खुम्जुङ र खुन्दे महिला तथा युवा समूह, सगरमाथा राष्ट्रिय निकुञ्जका पदाधिकारी, एभरेस्ट भ्यू होटलका कर्मचारी तथा ठूलो संख्यामा स्थानीय वासिन्दाहरूको उत्साहजनक सहभागिता थियो । योग दिवसको सो कार्यक्रममा अनेक विदेशी पर्यटक, पर्वतारोही तथा अनुसन्धानकर्ताहरूले पनि सहभागिता जनाएका थिए ।

बताइएअनुसार सो योग कार्यक्रमको मुख्य उद्देश्य दैनिक जीवनमा योगको महत्व उजागर गर्नुका साथै देश, महादेश तथा समस्त मानव जीवनमा शान्ति तथा सामञ्जस्यता स्थापना गर्नु थियो । यस्तै, समुद्री सतहदेखि १७,६०० फिट उचाइमा रहेको सगरमाथाको आधार शिविरमा पहिलो पटक योग मनाइएको हो भने भारत गुजरातका भरत शर्मा तथा अन्य पर्वतारोहीहरूले विश्वकै सर्वोच्च शिखरको आधार शिविरमा योग अभ्यास गरी इतिहास रचेका छन् ।

(सगरमाथा आधार शिविरमा भरत शर्माको शीर्ष आसनको तस्बिर फोटोग्राफर समीरजङ थापाद्वारा खिचिएको हो ।)