अन्तराष्ट्रिय पत्रकार महासंघ (आईएफजे)को अध्यक्षमा मोरक्कोका युनेस

अन्तराष्ट्रिय पत्रकार महासंघ (आईएफजे)को अध्यक्षमा मोरक्कोका युनेस


  • डिल्ली अम्माई, ट्युनिसियाबाट

विश्व कांग्रेसका लागि ट्युनिसमा आयोजित विश्व महासभाले आईएफजेका २५४ अन्तर्राष्ट्रिय प्रतिनिधिमार्फत आगामी कार्यकालको लागि युनेस मौजहिद जहेदलाई अध्यक्षमा निर्वाचित गरेको छ ।

आइएफजेका नवनिर्वाचित अध्यक्ष युनेस मोरक्कोमा ’अल ईतिहाद अल ल्च्तिराकी’मा नेतृत्वदायी भूमिकामा रहेका पत्रकार हुन् । उनी अन्तर्राष्ट्रिय पत्रकार महासंघमा सन् १९९८ बाट सल्लाहकार हुँदै नेतृत्वदायी भूमिकामा रहेका थिए । मस्कोमा सन् २००७ मा सम्पन्न अन्तर्राष्ट्रिय सभाले उनलाई उपाध्यक्षमा निर्वाचिचत गरेको थियो । त्यसपछि २०१३ मा डब्लिन र २०१६ मा फ्रान्समा सम्पन्न एञ्जर्स महासभामा समेत उनी वरिष्ठ उपाध्यक्ष पदमा चुनिएका पात्र हुन् ।

त्यसको अलावा युनेस मोरक्कोको नेशनल युनियनमा महासचिव हुँदै हाल मोरक्कोको नेशनल प्रेस काउन्सिलको निर्वाचित अध्यक्षको भूमिकामा छन् ।

अन्तर्राष्ट्रिय पत्रकार महासंघका निवर्तमान अध्यक्ष फिलिप लेरुथको २०१६ देखि २०१९ सम्मको कार्यकाललाई धन्यवाद दिँदै निवनिर्वाचित अध्यक्ष युनेसले आफ्नो पदको कार्यभार सम्हालेका छन् ।

कार्यभार सम्हाल्ने क्रममा दिएको मन्तव्यमा उनले महासंघलाई अन्तराष्ट्रिय गौरवसँग अझ गहनतापुर्वक जोड्दै ६ वर्षअघि घोषणा गरिएको सहयोगको विविधतालाई पूरा गर्ने प्रतिबद्धता जनाए । संस्थाको प्रजातान्त्रिक पद्धति चुस्त बनाउँदै आबद्ध क्षेत्रीय संगठनहरुको स्वायत्तताको लागि अझ बढी काम गर्ने पनि उनले बताए ।

अन्तर्राष्ट्रिय पत्रकार महासंघका प्रतिनिधिहरुले पेरुभियन पत्रकार जुलियाना लैनेजलाई वरिष्ठ उपाध्यक्ष, भारतीय पत्रकार सविना इन्द्रजित र रसियन पत्रकार टिमुर शाफिरलाई उपाध्यक्षमा निर्वाचित गरे भने सम्मानित कोषाध्यक्षमा बेलायतका वरिष्ठ पत्रकार जिम बोउमेल्हलाई निर्वाचित गरेका छन् ।

अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) पत्रकारहरूको हितको लागि बनेको संसारमा सबैभन्दा ठूलो विश्वव्यापी महासंजाल हो । संसारभरिका पत्रकारहरूको अधिकार र प्रेस स्वतन्त्रतालाई सुरक्षित र बलियो बनाउनको लागि सन् १९२६ मा पेरिसमा यसको निर्माण भएको हो । यो विश्वभरिका पत्रकारहरुको एकता तथा सुरक्षा, सामाजिक न्याय, श्रम अधिकार, वैश्वीकरण, लोकतान्त्रिक अधिकार, मानवअधिकार, गरिबी निवारण र भ्रष्टाचारको विरुद्धका महाअभियानहरुमा प्रेसको माध्यमबाट समर्पित छ ।

यतिबेला आईएफजेले १ सय २० भन्दा अधिक देशमा लगभग ६० लाखभन्दा बढी सदस्यहरुलाई प्रतिनिधित्व गर्दछ । यसको मुख्य कार्यालय ब्रसेल्स (बेल्जियम)मा रहेको छ भने यसको आधिकारिक भाषा अंग्रेजी, फ्रान्सेली र स्पेनिस हुन् ।