सुत्दा पालना गर्नुपर्ने सोह्र नियम

सुत्दा पालना गर्नुपर्ने सोह्र नियम


अपवादबाहेक सबै मानिस रात परेपछि मात्र सुत्ने गर्दछन् र धेरैलाई सुताइको पनि नियम हुन्छ भन्ने जानकारी नभएको पाइन्छ । कसरी सुत्ने, कुन समयमा सुत्ने र कस्तो ठाउँमा सुत्ने भन्ने कुराको हेक्का राख्ने नगरेकैले धेरै मानिस अनेकौँ व्यवधान र कष्टको सामना गर्न विवश छन् । विभिन्न शास्त्रहरूमा उल्लिखित विवरणहरूको अध्ययन गर्दा मानिसले सुत्ने सन्दर्भमा पनि सोह्रवटा नियम पालना गर्नुपर्ने देखिएको छ । आमपाठकहरूको जानकारीका लागि सुत्नका लागि पालन गर्नुपर्ने सोह्र नियम प्रस्तुत गरिएको छ ।

(क) मनुस्मृतिका अनुसार अनुसान तथा निर्जन घरमा एक्लै कहिल्यै पनि सुत्नुहुँदैन । देवीदेवताको मन्दिर र मसानघाटमा पनि सुत्नुहुन्न ।

(ख) कोही मस्त निद्रामा रहेको व्यक्तिलाई अचानक अर्थात् एक्कासि जगाउन नहुने भनाइ विष्णुस्मृतिको रहेको छ ।

(ग) चाणक्य नीतिले विद्यार्थी, नोकर र द्वारपाले यदि अबेरसम्म सुत्ने गरेका छन् भने तिनलाई जगाइदिनुपर्ने बताएको छ ।

(घ) देवी भागवतमा स्वस्थ मानिसले आफ्नो आयु रक्षाका निमित ब्रह्ममुहूर्तमै उठ्नुपर्छ भन्ने उल्लेख गरिएको छ भने पद्मपुराणले पूरा अन्धकारमा सुत्न नहुने व्यहोरा उल्लेख गरेको छ ।

(ङ) अत्रिस्मृतिमा भिजेको पैताला लिएर सुत्नु नहुने र सुक्खा पाउ बनाएर सुत्दा लक्ष्मी (धन) प्राप्त हुने भनिएको छ । महाभारतले भाँचिएको या टुटेफुटेको खाटमाथि र जुठो मुखमै सुत्न बर्जित गरेको छ ।

(च) गौतम धर्म सूत्रमा वस्त्रविहीन अर्थात नाङ्गै भएर सुत्न नहुने व्यहोरा अङ्कित छ ।

(छ) आचारमयुखमा पूर्वतर्फ शिर बनाएर सुत्दा विद्या प्राप्त हुने, पश्चिमतिर टाउको पारेर सुतेमा चिन्ता बढ्ने, उत्तरतर्फ शिर पारेर सुत्दा हानि या मृत्यु हुने र दक्षिणतिर शिर पारेर सुतेमा धन र आयु बढ्ने उल्लेख गरिएको छ ।

(ज) त्यस्तै दिनको समयमा कहिल्यै सुत्नु नहुने, तर जेठ महिनामा दिउँसो दोप्रहरको समय पारेर एक मुहूर्त (४८ मिनेट) सुत्न सकिने शास्त्रमा उल्लिखित छ । दिउँसो सुत्ने मानिसलाई रोगले घेर्ने र आयु नास हुने शास्त्रमा बताइएको छ ।

(झ) दिनमा तथा सूर्योदय र सूर्यास्तको समय पारेर सुत्नेहरू रोगी र दरिद्र बन्ने व्यहोरा ब्रह्मवैवर्तपुराणमा उल्लिखित छ ।

(ञ) सूर्यास्त भएको एक प्रहर अर्थात् तीन घन्टापछि मात्र सुत्नुलाई शास्त्रले राम्रो मानेको छ ।

(ट) बायाँतिर कोल्टे फर्केर सुत्नु स्वास्थ्यको लागि राम्रो हुने व्यहोरा पनि शास्त्रमा उल्लेख भएको पाइन्छ ।

(ठ) दक्षिण दिशातिर पाउ (पाइताला) परेर कहिल्यै सुत्न नहुने र, त्यसरी सुतेमा मस्तिष्कमा रक्तसञ्चार कम भई स्मृति नास हुने, अनेकौँ बिरामी पर्ने तथा मृत्युसम्म हुन सक्ने शास्त्रले बताएको छ ।

(ड) छातीमा हात राखेर, बिमको तल र पैतालामाथि पैताला (खुट्टा) खप्ट्याएर सुत्नुलाई अशुभ मानिएको छ ।

(ढ) ओछ्यानमा बसेर या सुतेर खानुपिउनुलाई पनि अशुभ मानिन्छ ।

(ण) सुतेर पढ्नाले आँखाको ज्योति घट्ने भएकोले पढ्ने बेलामा सुत्न नहुने शास्त्रीय मान्यता छ ।

(त) निधारमा तिलक लगाएर सुत्नु अशुभ हुने भएकोले यदि तिलक लगाइएको छ भने पुछेर मात्र सुत्नुपर्ने शास्त्रीय मान्यता छ ।