कृषकलाई अनुदानमा मौरीसहितको आधुनिक घार वितरण

कृषकलाई अनुदानमा मौरीसहितको आधुनिक घार वितरण


स्याङ्जाको भिरकोट नगरपालिकाले मौरीपालक किसानलाई अनुदानमा मौरी गोलासहितको आधुनिक घार वितरण गरेको छ । नगरपालिका–१, २, ३ र ४ का ४५ जना मौरीपालक किसानलाई ५० प्रतिशत अनुदानमा गोलासहितको मौरी घार वितरण गरेको हो ।

‘पहिलो चरणमा पाँच वडाका ५० जना मौरीपालक किसानलाई चार दिनको आधारभूत तालिम प्रदान गरेका थियौँ,’ भिरकोट नगरप्रमुख छायाराम खनालले भने, ‘दोस्रो चरणअन्तर्गत ४५ जना मौरीपालक किसानलाई चार दिनको आधारभूत तालिमपश्चात् मौरीसहितको घार वितरण गरेका हौँ ।’ किसान मौरीपालनलाई व्यावसायिक रूपमा अगाडि बढाउन उत्सुक हुने भएकाले नगरपालिकाले तालिममा सहभागी सबैलाई ५० प्रतिशत अनुदानमा गोलासहितको मौरी घार प्रदान गरेको हो । मौरी गोलासहित प्रतिघार सात हजार पाँच सय पर्ने घारलाई नगरपालिकाले प्रतिघार तीन हजार ७५० रुपैयाँमा किसानलाई उपलब्ध गराएको भिरकोट नगरपालिकाका प्रवक्ता दीपेन्द्र केसीले बताए ।

भिरकोट नगरपालिकाका अधिकांश भूभाग मौरीपालन व्यवसायका लागि उपयुक्त रहेको ठहर गर्दै यसले यहाँका किसानलाई मौरीपालन व्यवसायतर्फ आकर्षित गर्न सहयोग पुग्ने विश्वास नगरपालिकाको छ । मौरीपालनलाई व्यावसायिक रूपमा अगाडि बढाई महको उत्पादनमा वृद्धि गर्ने मुख्य उद्देश्यले नगरपालिकाले किसानलाई आधारभूत तालिम तथा मौरी घार वितरण गरिएको नगरप्रमुख खनालले बताए ।

नगरपालिकाले मौरी सहकारी दर्ता गर्न पहल गरिदिने र सोही सहकारीमार्फत तालिम तथा खरिद–बिक्रीको व्यवस्था मिलाउने प्रक्रियाको थालनी गरेको नगरप्रमुख खनालको भनाइ छ । परम्परागत रूपमा मुढे घारमा मौरीपालन गरेका किसानलाई आधुनिक घारमा मौरी पाल्न अभिप्रेरित गर्ने, भिरकोट नगरभित्र रासायनिक विषादीको प्रयोगमा न्यूनीकरण गर्दै भिरकोट नगरपालिकालाई मौरी जोनका रूपमा विकास गर्ने लक्ष्य नगरपालिकाले लिएका प्रमुख खनालले बताए । नगरपालिकाले अहिलेसम्म ५० प्रतिशत अनुदानमा १६४ किसानलाई मौरी घार वितरण गरिसकेको जनाएको छ ।