पाँच वर्षमा गरिबी शून्यमा झार्ने सरकारी लक्ष्य

पाँच वर्षमा गरिबी शून्यमा झार्ने सरकारी लक्ष्य


गृहमन्त्री थापाले नेपालको गरिबी पाँच वर्षमा शून्यमा झार्ने गरी सरकारले काम गरिरहेको बताएका छन् ।

शुक्रबार पूर्वीचितवनको रत्ननगरमा आयोजित वृत्ति परामर्श तथा रोजगार मेलाको उदघाटन गर्दै गृहमन्त्री थापाले सरकारले अहिले रहेको १८ प्रतिशत गरिबीलाई शून्यमा झार्ने लक्ष्यसाथ काम अघि बढाइरहेको बताएका छन् । यसका लागि औद्योगिक क्षेत्रको विकास आवश्यक रहेको उनको भनाइ थियो । जसअनुसार प्रत्येक प्रदेशमा एक औद्योगिक क्षेत्र निर्माण गर्न लागिएको उनले सो अवसरमा जानकारी दिए ।

रत्ननगर नगरपालिकाले आयोजना गरेको सो कार्यक्रममा गृहमन्त्री थापाले विकास र समृद्धिका लागि दक्ष जनशक्ति आवश्यक रहेको बताए । विकास र समृद्धिका लागि दक्ष जनशक्ति र जनशक्तिका लागि प्राविधिक र व्यावसायिक शिक्षा आवश्यक रहेकोमा उनको जोड थियो । नेपाल कृषिप्रधान देश रहेको बताउँदै गृहमन्त्री थापाले कृषिलाई औद्योगिकीकरण गर्नुपर्ने आवश्यकता औंल्याए । उनले भने, ‘कृषिलाई औद्योगिकीकरण गरेर रोजगारीको सिर्जना गर्नुपर्छ ।’

अहिले श्रमबजारमा रहेका श्रमिकमा दक्षताको अभावका कारण उनीहरूको कमाइले घर खर्चसमेत चलाउन असहज भएको उनको भनाइ थियो । स्वदेशमा रोजगार दिने उद्योग र उद्योगीको सुरक्षाका लागि सरकार सधैँ तयार रहेको मन्त्री थापाले बताए ।