सबै कुराका ज्ञाता ‘बहसवीर’ नेपाली

सबै कुराका ज्ञाता ‘बहसवीर’ नेपाली


■ स्वयम्भूनाथ कार्की

केही नेपालीको चेतनस्तर यति उकालिएको छ कि आज तिनीहरू राजनीतिक, आर्थिक, सामाजिक आदि विषयमा विश्वका कसैलाई पनि निर्देशन गर्न सक्छन् भनियो भने धेरैलाई यो कुरा व्यङ्ग्ग गरेजस्तो लाग्ला । तर, केवल एक दिन मात्र प्रत्यक्ष–अप्रत्यक्ष रूपमा, सीधै, सञ्चारमाध्यमले तेर्स्याएको माइकमा, छापामा आउने प्रतिक्रिया, सामाजिक सञ्जालहरूमा व्यक्त हुने धारणाहरूलाई यो आयामले हेर्ने हो भने कुरो व्यङ्ग्यको होइन कटु यथार्थ हो भन्ने प्रस्ट हुन्छ । हुनत यो विशेषज्ञता राजनीति गर्नेहरूमा पहिले नै पाइने गर्दथ्यो, मन्त्री पद प्राप्त हुनेबित्तिकै एकाएक सर्वज्ञता प्राप्त हुने गर्दथ्यो । अर्थशास्त्रीलाई अर्थतन्त्र, चिकित्सकलाई शल्यक्रिया, इन्जिनियरलाई इन्जिनियरिङ पढएका भाषणहरू त जनताले पचाइसकेका छन् । अहिले यही गुण सर्लक्क बहसवीर नेपाली जनतामा सरेको छ, ज्ञान जतिसुकै होस्, क्षमता जस्तो होस् र स्तर जे होस् हरेक कुरामा अर्ती दिन सक्ने विशेषज्ञता छताछुल्ल देखिन्छ ।

हुन त जीवनको अनुभवले धेरै कुरा सिकाएको हुन्छ, कठोर भोगाइको पाठ्यक्रममा कुनै पनि विश्वविद्यालयको उपाधिभन्दा ज्यादा ज्ञान हुन्छ । कति कुराहरू त्यसै काममा विशेष प्रशिक्षण हासिल गरेकाको मस्तिष्कमा नआएको पनि सर्वसाधारणको मस्तिष्कमा आउन सक्छ । यसै विषयमा पृथ्वीनारायण शाहसँग सम्बन्धित दुई घटना उल्लेख्य छन् । पहिलो बिसे नगर्चीको सल्लाह र दोस्रो एक बूढीआमैको पहिले छेउ कब्जा गर्नुपर्छ भन्ने अर्ती । यस्ता अर्तीहरू अरू पनि विभिन्न पात्रहरूलाई भए होलान्, तर कि अर्ती बेअसर भयो होला कि लिनेले लिइदिएन होला । पृथ्वीनारायण शाहले लिइदिनाले अर्ती अमर भयो । तर जतिसुकै भए पनि हरेक व्यक्ति हरेक विधाको विशेषज्ञ भने हुन सक्दैन, तर सबैजसो कुराको सामान्य जानकारी भने हुने सक्छ । त्यस्तो व्यक्तिले समाजमा अलग्गै स्थान बनाएको हुन्छ । आफ्नो यो ज्ञानको कारणले छेलोखेलो त होइन सामान्य जीवनयापन गर्न उसलाई कुनै कठिनाइ भएको हुँदैन । अनि यस्तो व्यक्ति अज्ञात पनि रहन सक्दैन ।

अर्थतन्त्र सम्हाल्ने ठाउँमा सबै बाहुन छन् त्यसैले भनेर कुरो सीधै बाहुनवादमा रूपान्तरण हुन्छ । अब अमेरिकी अर्थतन्त्रमा नेपालका बाहुन कसरी पुग्न गए त्यो कसैले पत्तो पाउन्न । कुनै बहसवीरकोे विषय हिन्दू संस्कृतिको निन्दा छ भने कतिखेर मनु, वर्णाश्रम र छुवाछुतको कुरीतिमा विषय परिवर्तन हुन्छ त्यसको पत्तो नै हुँदैन ।

यहाँ चर्चा गर्न खोजिएका सबै कुराको ज्ञाताहरू बहसवीरहरू भने यी श्रेणीमा पर्दैनन् । पढेलेखेर विद्वान्मा दर्ता भएकादेखि सर्वसाधारणसम्म यस्ता बहसवीर पाइन्छन् । उनीहरू तर्कको पर्रा छुटाउन सक्छन् । तर्कमा नहार्नु र आफूले प्रस्तुत गरेको तथ्य झुटो साबित हुँदा पनि त्यो झुटो साबित गर्ने तथ्यको स्रोत नै गलत भनेर पनि जित्छन् । तर, योग्यता–क्षमताको कुरामा भने कोही–कोही त सामान्य सहजज्ञानले हुने काम पनि गर्न नसक्ने हुन्छन्, त्यसैले जीवनयापन धौ-धौ परेको पनि पाइन्छन् । यस्ताको तर्कलाई मान्ने हो भने मुलुकको त के कुरा विश्वकै वागडोर यिनको हातमा दिने हो भने अहिलेको भन्दा सयौँ गुणा राम्रो विश्व दिनेछन् कि भन्ने लाग्छ । यस्ता बहसवीरहरूसँग बहस गरेर कसैले पनि पार पाउँदैन । किनभने आफू फसेको बहसबाट निक्लने रामवाण तरिका यिनीहरूसँग छ । जुनसुकै विषयमा बहस होस् आफूले चाहेको त्रिषयमा बहसलाई मोड्ने यिनको अद्वितीय क्षमतामा सामुन्नेको व्यक्ति सबै जान्दाजान्दै पनि फस्न जान्छ ।

यसलाई यो एक रमाइलो प्रसङ्गले प्रस्ट पार्छ, एकपटक सर्दीयाममा एक डाक्टरकोमा एउटा रोगी आएछ । उसलाई हड्डीको जोर्नी दुख्ने समस्या रहेछ । त्यो डाक्टरले रोगीलाई बिहान–बेलुका टाउको भिजाउने र खुला आकाशमुनि सुत्ने सल्लाह दिएछ । रोगी गइसकेपछि डाक्टरसँगै बसेको उसको साथीले सोधेछ, ‘होइन हौ हड्डीको जोर्नी दुखेको तैँले बताएको इलाजले ठीक हुन्छ र ?’ डाक्टरले भनेछ, ‘हेर यार म फिजिसियन हुँ । यो अर्थोपेडिक रोग हो, जसको इलाज मेरो बसमा छैन । तर मेरो सल्लाह मान्यो भने उसलाई रुघा लाग्छ जसको इलाज म सजिलै गर्न सक्छु ।’ यो प्रसङ्गमा भएको जस्तो तर्क यी बहसवीरहरूले गर्ने गर्दछन् । विषयलाई आफ्नोअनुकूल ल्याइसकेपछि बहसले जुन निष्कर्ष निकाल्छ त्यो शुरुको विषयसँग बिल्कुलै असम्बन्धित हुन्छ । कोही कति नै तयारीको साथ म विषयभन्दा बाहिर बहसलाई जान दिन्नँ भनेर बहसमा आओस् त्यसको त्यो कोसिस प्राय असफल नै हुन्छ । यदि दुई बहसवीरमा बहस भयो भने त त्यो हेर्न लायकको रमिता हुन्छ । दुवैले आ–आफ्नो विषयतिर बहस मोड्ने प्रयत्न गर्छन् । बिस्तारै सुन्नेहरूले एउटाले आग्राको कुरा अर्काले गाग्राको कुरा गरिरहेको पाउँछन् ।

आजभोलि बहसवीरको केही विषय ज्यादै प्रख्यात र प्यारा छन् । अग्रगमन र प्रतिगमन सबैभन्दा धेरै प्रयोग गरिने विषय हो । सङ्घीयता, पहिचान यस्ता विषय हुन् जो आउनेबित्तिकै आफ्नो भलो चाहनेले तुरुन्त हार मानेर उठ्नु नै श्रेयष्कर हुन्छ । नत्रभने जुन स्तरको गाली पाइन्छ त्यो पचाउन सारै गाह्रो हुन्छ । बाहुनवाद र खस सर्वसत्तावाद दुवै मिलाएर यस्तो विषय बन्छ जो मुलुकको कुनै पनि कुनामा प्रयोग गर्न सकिन्छ । दुई सय चालीसलाई गाली नगरी त कुनै बहस पूर्ण नै हुँदैन । विषय अमेरिकाकोे अर्थतन्त्रको किन नहोस् सामुन्नेको बहसवीरको प्रिय विषय बाहुनवाद छ भने सबै दोष नेपालको बाहुनवादमाथि थोपरिन्छ । अर्थतन्त्र सम्हाल्ने ठाउँमा सबै बाहुन छन् त्यसैले भनेर कुरो सीधै बाहुनवादमा रूपान्तरण हुन्छ । अब अमेरिकी अर्थतन्त्रमा नेपालका बाहुन कसरी पुग्न गए त्यो कसैले पत्तो पाउन्न । कुनै बहसवीरकोे विषय हिन्दू संस्कृतिको निन्दा छ भने कतिखेर मनु, वर्णाश्रम र छुवाछुतको कुरीतिमा विषय परिवर्तन हुन्छ त्यसको पत्तो नै हुँदैन । तर, बहसवीरहरूको यो प्रवृत्तिले दीर्घकालीन हानि भने उनीहरूकै गरिरहेको हुन्छ । यी विषयमा निरपेक्ष भएको, यस्ता विषयमा सकारात्मकता देखाउने व्यक्ति यस्ताको चङ्गुलमा फस्यो भने त्यसले सकारात्मकता छोड्न थाल्छ र बिस्तारै बहसवीरको विषयको कडा विरोधी भएर निक्लन्छ ।