विद्यालयलाई बालमैत्री बनाउन जोड

विद्यालयलाई बालमैत्री बनाउन जोड


पोखरा महानगरपालिकाका उपप्रमुख मन्जुदेवी गुरुङले सबै विद्यालय बालमैत्री बनाउनुपर्नेमा जोड दिएकी छन् ।

उपप्रमुख गुरुङले मन्टेश्वरी एशोसियशन कास्कीको चौथो बार्षिकोत्सवको अवसरमा पोखरा ३३ बागमारास्थित सरस्वती टिका माविमा रहेको वौद्धिक अपाङ्ग केन्द्रमा रहेका बालबालिकालाई विभिन्न सामाग्री वितरण गर्दै विद्यालयमा बालमैत्री पद्दतीबाट पठनपाठन गराउन समेत आग्रह गरिन् ।

उपप्रमुख गुरुङले बौद्धिक अपाङ्ग बालबालिका संवेदनशील हुने भएकाले उनिहरूको विशेष हेरचाह गर्नुपर्नेमा जोड दिए । पोखरा महानगरपालिकाले अपाङ्ग नागरिकलाई परिचयपत्र वितरण गरिरहेको उल्लेख गर्दै उपप्रमुख गुरुङले आगामी बर्षको बजेटमा अपाङ्ग क्षेत्रलाई बिशेष बजेट छुट्टयाइने बताइन् ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यले राज्यले विशेष ध्यान दिनुपर्ने क्षेत्रमा मन्टेश्वरी एशोसियनले सहयोग गरेको उल्लेख गर्दै वडाले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यस अवसरमा २४ जना बौद्धिक अपाङ्ग बालबालिकालाई दुई–दुई जोर पोशाक, ब्ल्याङ्केट, सिरानी, तन्ना र खाद्यान्नतर्फ बिस्कुट विरतण गरिएको थियो ।
मन्टेश्वरी एशोसियशन कास्कीका अध्यक्ष अरुणा शेरचनको अध्यक्षतामा भएको कार्यक्रममा लिटिल गार्डेन मन्टेश्वरीका संस्थापक प्रिन्सिपल एवं सामाग्री बितरण कार्यक्रमका संयोजक रितु पौडेल, बौद्धिक अपाङ्ग बालबालिका सेवा केन्द्रका इन्चार्ज श्रीधर आचार्य लगायलते सहयोगका विषयमा बोलेका थिए ।