सार्वजनिक यातायातको भाडा १२ प्रतिशतसम्म वृद्धि, असार १ देखि लागू हुने

सार्वजनिक यातायातको भाडा १२ प्रतिशतसम्म वृद्धि, असार १ देखि लागू हुने


सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । असार १ गतेबाट हाल कायम भाडामा १२ प्रतिशतले वृद्धि गरेको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । सो भाडा सबैखाले सार्वजनिक सवारीसाधनमा देशभरका लागू हुनेछ ।

मेकानिकल पार्टसको मूल्य, सवारीसाधनको मूल्य, श्रमको दर, इन्धनमा भएको मूल्यवृद्धिलगायतलाई आधार बनाएर असार १ गतेबाट नयाँ भाडादर कायम भएको विभागले जनाएको छ ।

यातायात व्यवस्था विभागका निर्देशक तथा सूचना अधिकारी तीर्थराज खनालका अनुसार देशभरका सार्वजनिक यातायातमा असार १ देखि लागू हुने गरी न्यूनतम ५ देखि १२ प्रतिशतसम्म भाडा बढाउने निर्णय भएको छ ।

ट्याक्सीको भाडादरसमेत समायोजन गर्ने सरकारको तयारी छ । ट्याक्सीको भाडादर पनि आजै निर्धारण गरिने सूचना अधिकारी खनालले जानकारी दिए ।

बिहीबार यातायात व्यवसायी, ट्राफिक प्रहरी र उपभोक्ताबीचको छलफलबाट नै उक्त निर्णय लिइएको खनालले जानकारी दिए । यसअघि यातायात व्यवसायीले सार्वजनिक यातायातको भाडा बढाउन माग गरेपछि विभागले १० प्रतिशत भाडा बढाएको थियो । यसैगरी सरकारले असार १ देखि रात्रिकालीन बस चलाउने तयारी गरेको छ । रात्रिकालीन बसको भाडा भने दिउँसोको तुलनामा धेरै बताइएको छ ।