■ रामेश्वर राउत ‘मातृदास’
धरती मौन छिन् मौन छन् आकाश
नबोली–नबोलीकनै निकाल्न खोजेझैँ छ निकास
सत्य–धर्म–न्याय–विवेकका वैरीहरूबाट घेरिएपछि
सुख–शान्ति–अमन–चयन कहाँबाट हुन्छ विकास ?
०००
बारीको घाँस खेर जान्छ चर्दैन भेडो
नाच्न जान्दिन बुहारी आँगन देख्छे टेडो
बाँझै छाडेर घरबारी युवायुवती खाडी
घरबास उजाड छ, छैन चामलको गेडो
०००
पानीबिनै तड्पाई–तड्पाई मार्ने भइस् सरकार
दुनिञालाई अब तेरो किन पऱ्यो दरकार ?
धरती आकाश अग्नि वायु जल जीवन धाम
हाड–छाला–मासु एक्लै देशको हुर्मत डकार !
०००
आफूले हानेका ढुङ्गा आफैँ बटुलेर जाऊ
इच्छालाई अनिच्छा नभए रसामृत खान आऊ
परधर्मी अधर्मीको विश्वास हुन्न धर्मलाई
सृष्टि शिरमा छ महानता गुणगान मुक्त गाऊ
– वशिष्ठधाम, निर्झर दिलचेत, सिन्धुबस्ती
प्रतिक्रिया