समृद्धिको नारा र एकमहिने रोजगारी !

समृद्धिको नारा र एकमहिने रोजगारी !


■ मुक्तिनाथ खनाल

नेपाली काङ्ग्रेससम्बद्ध एक पूर्वसांसदले ‘चौकीदार’ भन्दै व्यङ्ग्य गरेपछि सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सार्वजनिक मन्तव्यकै क्रममा भने, ‘मलाई कसैकसैले चौकीदार भन्दारहेछन्, हो म चौकीदार नै हुँ । चोरीचकारीको बात लाग्नुभन्दा चौकीदारको विशेषण मेरा लागि स्वीकार्य छ !’ प्रेस काउन्सिलको प्रस्तावित विधेयक विषयमा आयोजित कुनै समारोहमा मन्त्रीद्वारा हालै व्यक्त उद्गार थियो त्यो । व्यङ्ग्य गर्नेले जुन सन्दर्भमा घोचपेच गरेका भए पनि मन्त्री बाँस्कोटाले चाहिँ एक मन्त्री हुनुको नाताले आफूलाई प्रधानमन्त्री र देशकै चौकीदारको रूपमा स्वीकार गरेका होलान् भनी अथ्र्याउन सकिन्छ । हुन त जनप्रतिनिधि भनेका जनताकै चौकीदार हुन् र त्यस्तो चौकीदार हुन पाउनु गर्वकै विषय हो । तर, उहाँले ‘जनताको’ नभनी ‘प्रधानमन्त्रीको’ भनिदिँदा अलिक कस्तो–कस्तो महसुस गरियो ।

खरो बोल्ने मन्त्री बाँस्कोटाको स्वाभाव प्रधानमन्त्री केपी ओलीसँग ठ्याम्मै मिल्दछ । प्रधानमन्त्रीले आफ्नो योग्यता १४ वर्ष जेल बसाइलाई देखाउँछन् भने सञ्चारमन्त्री आफूले पनि पत्रकारिता गरेको दोहो¥याइरहन्छन् । अहिले प्रधानमन्त्रीबाट भनेको सुनिन्छ, ‘अब नेपाल समृद्धिको बाटोमा अगाडि बढ्यो ।’ यसो भन्दै प्रधानमन्त्री रोजगार वितरण गर्दै हिँडेका छन्, सरकारको प्रवक्ताको नाताले सञ्चारमन्त्रीले सो कार्यको सराहना गर्ने दायित्व निर्वाह गरेका छन् ।

सन्दर्भ ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को हो । यो रोजगारी एक महिनाको निमित्त अरे ! महिनादिनको रोजगारीले देशको गरिबी हट्ला र देश समृद्ध बन्ला त ? यत्रतत्र प्रश्न उठेको छ । रोजगारीका कार्यक्रम शुभारम्भ भन्दै प्रधानमन्त्री खादा, फूलमालाले ढाकिने गरी हिँडेका देखिन्छन् । पानीजहाज, रेल, सुनखानी आदि जस्ता उनका पहिलाका सपनाहरू सायद अब पुराना भए होलान् । नेपाली जनतालाई यति बुद्धु सम्झनु आफैँमा कमजोरी हो, तर त्यसतर्फ सोच्ने हाम्रा प्रधानमन्त्री–मन्त्रीहरूलाई फुर्सद नै भए पो !

आजभन्दा बीसौँ वर्ष पहिले नै कोसी र गण्डकीमा चलेको स्ट्रिमर बोटलाई पानीजहाज, उहिल्यै रक्सौल–अमलेखगञ्ज, जयनगर–जनकपुर–जाोगवनी चलेको रेललाई आजकै उपलब्धि ठानेको भए केही भन्नु छैन । आज नेपाली जनताले यिनै कुरामा प्रधानमन्त्रीलाई खिसी गर्दा यो पङ्क्तिकारलाई पनि निकै नरमाइलो लागेको छ । हुँदाहुँदै यतिबेला आफ्ना कार्यकर्तालाई प्रधानमन्त्रीजी रोजगार भन्दै रकम वितरण गरेर समृद्ध नेपाल बन्दै छ भन्नु कति सुहाउँदो हुन्छ उनैले सोच्लान् ।

यो सरकारले दुईतिहाइ बहुमतको बलमा ठूला–ठूला काम गर्न सक्थ्यो, अहिलेसम्म लगभग २ वर्ष पुग्न लाग्यो, राम्रो स्थायी काम केही हुन सकेको छैन । कार्यकर्तालाई अनेक बहाना बनाएर ह्वारह्वार्ती पैसा बाँड्नु समृद्धिको काम होइन भन्ने जताततै सुन्नमा आउँछ । उहाँको शरीर, लवाइ, ढङ्ग सबै सुहाउँदो छ । तर, आफ्नै बोलीका कारण प्रधानमन्त्री र मन्त्रीहरूको उचाइ घट्दै गएको आमजनताको गुनासो सुन्नुपर्दा नरमाइलो लाग्नेरहेछ । फेरि प्रधानमन्त्री ओलीको बानी– उद्घाटन भनेपछि जस्तोसुकै कार्यक्रममा जाने !

बिजुलीबाट चल्ने बसको पनि उनले उद्घाटन गरेका थिए, तर त्यो कहाँ गयो पत्तो छैन । केपी ओली वास्तवमा सबैको प्रिय, उच्च आदर्शवादी राजनेता कहलिएको देख्न–सुन्न पाइयोस् भन्ने तमाम नेपालीको इच्छा थियो, तर खै त्यो दिन कहिले आउँछ कुन्नी !? हेर्दै जाँदा एमालेमा मात्र होइन अरू पार्टीमा पनि त्यस्ता नेता देखिँदैनन्, न नेपाली काङ्ग्रेस न त माओवादीभित्र नै । माओवादीको त कुरै छोडौँ, उसको नाम–निशान छैन र अब रहँदैन पनि । एमाले पार्टीले अधिवेशन गराओस्– माओवादी पृष्ठभूमिका एकजना निर्वाचित हुने छैनन्, प्रचण्डलगायतलाई पूर्वएमालेका कार्यकर्ताले पक्कै भोट दिने छैनन् । तर, विडम्बना ! यस्तो अवसर केपीले त्यत्तिकै खेर फाल्ने भए !

देशमा अहिले सर्वत्र भ्रष्टाचार छ । कहिलेकाहीँ सरकारी कार्यालयमा जाँदा हाँसो उठ्छ– जताततै ‘म घुस खान्नँ, कसैलाई खान पनि दिन्नँ’ जस्ता पम्प्लेट टाँसिएको हुन्छ । कर्मचारीका कोठाभित्र प्रधानमन्त्रीको फोटो झुन्डिएको हुन्छ । यो वर्तमान सरकारकै पालादेखि चलेको हो । तर, के गर्ने ? उल्टो जताततै भ्रष्टाचार छ । भ्रष्टाचारको प्रमाण हुँदैन र दिइँदैन । लुकेर लिनेदिने गर्छन् । सुरुमा लिनेदिने काम तल्लो स्तरबाट हुन्छ, पुग्छचाहिँ माथिसम्म नै । तर, कारबाही गर्दा तल्लो स्तरकालाई मात्र गरिन्छ, सबैले बुझेको कुरा हो यो । यदि टाउको नै सम्मिलित नभए कसैको हिम्मत हुँदैन घुस खान, भ्रष्टाचार गर्न । घुस र कमिसन खानकै लागि मालदार ठाउँमा छानी–छानी आफ्ना मान्छे भर्ती गर्ने परम्परा छ । जति विरोध गरे पनि यो संस्कार बनेर झ्याँङिएको छ ।

जे होस्, अब नेताले बोलेको भरमा जनताले विश्वास गर्ने अवस्था रहेन । झुटा नारा दिएर नेताले भाषण ठोक्नु तिनीहरू आफैँ बेवकुफ हुनु मात्र हो । समृद्ध नेपाल सुखी नेपालीको नारा जति नै घन्काए पनि देशमा कुन काम भएको छ समृद्ध नेपाल बन्ने खालको ? जनताले त देख्न पाएका छैनन् । एकमहिने रोजगारीकै भरमा देश समृद्धिको बाटोमा गयो भनेर भक्तपुरमा प्रधानमन्त्रीले बोलेको सुनियो । उरन्ठेउला अरिँगाल मार्काका कार्यकर्तालाई रोजगारीको नाममा रकम पोस्दै समृद्धिको धाक लगाउने प्रधानमन्त्रीको मतिलाई के भन्ने र खै ?