‘प्याडवुमन’ अर्थात् डाक्टर गरिमाको जनचेतना अभियान

‘प्याडवुमन’ अर्थात् डाक्टर गरिमाको जनचेतना अभियान


  • प्रवीण श्रेष्ठ

गरिमा श्रेष्ठ, अहिलेकी एक डाक्टर । डाक्टर हुनुभन्दा अगाडिको उनको परिचय एक कलाकार । काठमाडौंकै एक सम्पन्न परिवारमा, त्यसमाथि आमाबाबुको एक्लो सन्तानको रूपमा लाडप्यारमा हुर्किएकी । उनलाई केही वर्षअघिसम्म यही रूपमा चिनिन्थ्यो ।

तर, काठमाडौंमै हुर्किएकीले उनलाई ग्रामीण महिलाका समस्या के हुन् र के छन् केही थाहा थिएन । उनले स्कुलेजीवनमा पुस्तकमा सैद्धान्तिक रूपमा त पढिन् नै ती समस्याबारे । तर, व्यावहारिक रूपमा ती समस्याबारे बुझ्न उनलाई पोखराको मणिपाल कलेजमा एमबीबीएस अध्ययन गर्दासम्म पर्खनैप¥यो ।

काठमाडौंको बसुन्धरामा जन्मिएकी गरिमाले स्थानीय माउन्टग्लोरी बोर्डिङ स्कुलबाट ०६६ मा एसएलसी गरिन् जुन उनका बाबुआमाको स्वामित्वमा सञ्चालित थियो । सानैदेखि डाक्टर बन्ने सपना मनको एक कुनामा साँचेकी उनलाई एसएलसीको परीक्षाफलले पनि सहयोगै पु¥यो । एसएलसीको विशिष्ट श्रेणीको उपलब्धिले उनलाई प्लस टु मा साइन्समा बायोलोजी पढ्न बत्तीसपुतलीको गोल्डेनगेट पु¥यायो ।

गोल्डेनगेट कलेजमा पनि आफूलाई अब्बल साबित गर्दै जब एमबीबीएसका लागि पोखराको मणिपाल कलेज पुगिन् तब सैद्धान्तिक ज्ञानका साथै व्यावहारिक रूपमा पनि महिलाका समस्याबारे उनी अवगत हुँदै गइन् । मणिपाल कलेजमै अध्ययनका क्रममा जब उनी बिरामी महिलाका समस्या बुझ्ने कोसिस गर्थिन्, त्यसपछि थाहा भयो महिलामा महिनावारीका समयमा हुने सरसफाइ र व्यवस्थापन गर्न नजान्दा कस्ता–कस्ता समस्या भोग्न विवश छन् ग्रामीण महिला भन्ने ।

उनले त्यति बेलै थाहा पाइन्– महिनावारीमा सरसफाइमा ध्यान नदिँदा अनेक प्रकारका रोगले ग्रस्त छन् ग्रामीण महिला । त्यसमा पनि महिनावारीको समयमा महिलाले प्रयोग गर्ने प्याड ग्रामीण बजारमा सर्वसुलभ छैन, भए पनि आर्थिक रूपमा सबैको पहुँचमा छैन । त्यतिबेलै उनले अठोट गरिन्– अहिले चलनचल्तीमा रहेका प्याडभन्दा भिन्न, बारम्बार प्रयोग गर्न मिल्ने, शतप्रतिशत सुरक्षित र आर्थिक रूपमा पनि सस्तो प्याड बनाएर सर्वसाधारणमा जनचेतना फैलाउनेछु ।

हो, उनको यही अठोटले अहिले मूर्तरूप लिँदै छ जसमा उनका बुबाआमा भरपूर साथ छ । अहिले डाक्टर गरिमा महिलाले महिनावारी हुँदा प्रयोग गर्ने प्याड बनाउने र प्रयोग गर्ने तरिका सिकाउँदै हिँडिरहेकी छिन् । उनकी आमा विद्याले डिजाइन गरेको प्याडमा डाक्टर गरिमाको नयाँ सोच प्रयोग गरिएको छ ।

परम्परागत रूपमा चलिआएको तरिकालाई उनले आधुनिक ढाँचामा ढालेकी छिन् । जसमा फ्लाटिनको कपडालाई प्याडको आकारमा काटेर सिलाउने र बीचमा प्वाल राखी त्यसभित्र कोरा (गज पिस) कपडा पट्याएर राखिन्छ । प्रयोगका समयमा यताउता नसरोस् र बेलाबेला मिलाइरहनु पनि नपरोस् भनेर त्यसमा टाँक पनि राखिएको छ जसले गर्दा अन्डरवेयरमा टाँकको सहायताले अड्याउन सजिलो होस् ।

अझ उनको प्याडको महत्वपूर्ण पाटो भनेको पूर्ण रूपमा सुरक्षित र बारम्बार प्रयोग गर्न सक्नु पनि हो । यसलाई प्रयोग गरेर धोइसकेपछि घामका सुकाउने, आइरन गर्नेमा मात्र सीमित नराखी प्रेसरकुकरमा राखेर एक सिटी लगाउनुपर्छ । घाममा मात्र सुकाएको प्याड १० प्रतिशत सुरक्षित रहने, आइरन लगाएको ५० प्रतिशत सुरक्षित मानिन्छ, तर डा. गरिमाको प्रयोगमा ल्याएको प्याड शतप्रतिशत सुरक्षित मानिन्छ ।

उनी आफ्नो सोच, सीप र उत्पादन बेचेर धनार्जनको ध्याउन्नमा छैनन् । तर, आफ्नो सोच प्रवद्र्धन गर्न स्कुल–स्कुल, त्यो पनि ग्रामीण भेगमा पुगिरहेकी छिन् । स्कुल, कलेजका छात्रालाई यो ज्ञान बाँड्दा उनले भन्न नछुटाउने कुरा हो– घरमा गएर आफ्ना आमाहरूलाई पनि यो तरिका सिकाउनुहोस् है ।


एउटी डाक्टर, कलाकार भइसकेकी यी ‘प्याडवुमन’को अरू इच्छा के छ त ? भन्छिन्– महिनावारीको समयमा उचित सरसफाइको अभावमा हाम्रा आमा, दिदीबहिनीहरू अनेक रोगको सिकार भएका छन् । त्यस समयमा प्रयोग गरिने प्याड सुरक्षित छन् कि छैनन्, यसबारे उनीहरू अनभिज्ञ छन् । यसबारे सरकारी स्तरबाटै जनचेतना अभियान सञ्चालन गर्न सके मेरो सपना र अठोटले मूर्तरूप पाउने थियो ।