तुलसीपुरको एउटै वडामा १३८ बालबालिका कुपोषित

तुलसीपुरको एउटै वडामा १३८ बालबालिका कुपोषित


दाङको एउटै वडामा १३८ जना बालबालिका कुपोषित भएको भेटिएका छन् । तुलसीपुर उपमहानगरपालिका–११ का १३८ बालबालिकामा कुपोषणको समस्या देखिएको हो । तीमध्ये ४७ जना बालबालिका मात्र सम्पर्कमा आएको र अन्य बालबालिका सम्पर्कमा नआएको स्वास्थ्य चौकी टरिगाउँका फोकल पर्सन रेणु केसीले जानकारी दिइन् ।

‘हाम्रो वडा नं. ११ मा १३८ जना बालबालिकामा कुपोषण देखिएको छ,’ उनले भनिन्, ‘तर ४७ जना मात्रै सम्पर्कमा हुनुहुन्छ, अन्य बालबालिका कता हुनुहुन्छ, हामीकहाँ सम्पर्कमा आउनुभएको छैन ।’ ४७ जनामध्ये निको भएका १३, डिफल्टर अर्थात् उपचार गर्दागर्दै आउन छोडेका २२, अन्य अस्पतालमा थप उपचारका लागि पठाएका सात तथा औषधि खाइरहेका पाँचजनाको तथ्यांक प्रस्तुत गरिएको थियो । ०७४ साल चैत ७ गतेदेखि ०७६ जेठ २७ गतेसम्मको शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रमअन्तर्गत तुलसीपुर उपमहानगरपालिकाका ११ वटा वडामा कुल ६ हजार ९ सय ८ जना बालबालिका रहेका स्वास्थ्य महाशाखा तुलसीपुरले जानकारी दिएको हो ।

उनले एघारवटा वडाको केन्द्र टरिगाउँ केन्द्रमा अझै ९१ जना कुपोषित बालबालिका सम्पर्कमा आउन नसकेको बताइन् । बाँकी आठवटा वडाको केन्द्र मानपुरमा पनि कुपोषित बालबालिकाहरूको संख्या रहेको उनको भनाइ छ । कुपोषित बालबालिकाको यो संख्या चिन्ताजनक रहेको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले बताइन् । ‘अहिले एउटै वडामा देखिएको यो कुपोषणको समस्या निकै चिन्ताजनक विषय हो,’ उनले भनिन् ।

कुपोषण लागेका बालिका सम्पर्कमा नआउनुका कारण अध्ययन गर्न आवश्यक रहेको उनको भनाइ छ । यसरी बालबालिका सम्पर्कमा नआउने अवस्था रहनुमा प्रोत्साहनको कमी हुन सक्ने यसका लागि अभिभावकलाई प्रोत्साहन हुने कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ थियो ।

rss