लोकसेवा आयोगको विज्ञापन रद्द गर्न माग

लोकसेवा आयोगको विज्ञापन रद्द गर्न माग


संघीय संसद् प्रतिनिधिसभाका सांसदले लोकसेवा आयोगले केही दिनअघि जारी गरेको विज्ञापन विभेदकारी भएको जनाउँदै रद्द गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकको शून्य समयमा सांसदले आदिवासी–जनजाति, दलित, महिला, मधेसीलगायत उत्पीडनमा पारिएको समुदायलाई किनारा लगाउने गरी आयोगले संविधानको समानुपातिक सिद्धान्तविपरीत विज्ञापन गरेको भनी रद्द गर्न माग गरेका हुन् ।

सांसद विमला विकले ‘संविधानको मर्मविपरीत खुलाइएको आयोगको विज्ञापन’ तत्काल रद्द गर्नुपर्ने बताइन् । आयोगले स्थानीय तहका लागि केही दिनअघि नौ हजारभन्दा बढी पदका लागि विज्ञापन गरेको थियो । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले आयोगले गरेको विज्ञापन रोक्न सरकारलाई निर्देशनसमेत दिएको छ ।

विज्ञापन रोक्नुपर्ने र रोक्न नहुने भनी पक्ष र विपक्षमा सडकमा संघर्ष भइरहेको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भने विज्ञापन ऐनअनुसार नै भएको बताउँदै आएको छ ।

नेपालको संविधानको धारा ३८(४), ४०(१), ४२(१) र धारा २८५ ले प्रत्याभूत गरेको महिला, दलित, मधेसी, थारू, जनजाति, मुसलमान, पिछडिएका वर्ग क्षेत्रसमेतलाई राज्यको निकायमा समानुपातिक समावेशी हुन पाउने अधिकारलाई आयोगको विज्ञापनले पूर्ण रूपमा बेवास्ता गरेको भन्दै दलित, जनजाति र अपांगता भएका व्यक्तिले विभिन्न चरणमा आन्दोलन गर्दै आएका छन् ।