जंगली च्याउ खाने सातको अवस्था गम्भीर, शिक्षण अस्पतालमा उपचार हुँदै

जंगली च्याउ खाने सातको अवस्था गम्भीर, शिक्षण अस्पतालमा उपचार हुँदै


पाल्पाको निस्दी गाउँपालिकामा जंगली च्याउ खाएर बिरामी परेकाको अवस्था गम्भीर बन्दै गएको छ । यही जेठ २४ गते च्याउ खाएर बिरामी भएका मध्ये दुईजनाको मृत्यु भएको थियो भने अन्य सातजनाको शिक्षण अस्पताल काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

च्याउ खाएर ३६ वर्षीया चनकुमारी खाम्चा, १५ वर्षीया विमला खाम्चा, ८० वर्षका प्रेमसिं ठकुरी, ३० वर्षका दानमायासिं ठकुरी, सात वर्षका सुमन सिं, धनकुमारी सिं, निसासिं ठकुरीको आईसीयू र निरुता सिंको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । यस्तै ४५ वर्षीय पुरन खाम्चाको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।

पाल्पा क्षेत्र नं. १ का सांसद दलबहादुर रानाले गृह मन्त्रालयबाट निर्णय गराई बिरामीको निःशुल्क स्वास्थ्य उपचार सेवाको पहल भएको जानकारी दिए । आर्थिक अवस्था कमजोर भएका बिरामी परिवारलाई अस्पतालमा भेट्न पुगेका सांसद रानाले मृतकलाई उचित राहत तथा बिरामी सबैको स्वास्थ्योपचार सरकारले व्यहोर्ने गरी पहल अगाडि बढेको बताए ।

नजिकैको जंगलबाट खोजेर ल्याएको जंगली च्याउ खाएका निस्दी–३ का ११ जना बिरामीमध्ये स्थानीय नौ वर्षका निर्मला ठकुरी र चार वर्षका विष्णुसिं ठकुुरीको ज्यान गएको थियो । नवलपरासीको मध्यबिन्दु अस्पताल, मनकामना अस्पताल तथा पुरानो मेडिकल कलेज भरतपुरमा उपचारपछि थप उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए ।