प्रतिपक्षी कांग्रेसद्वारा आपत्ति

प्रतिपक्षी कांग्रेसद्वारा आपत्ति


प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणमा गएको पाँच दिनपछि मात्रै उनको विदेश भ्रमणबारे संसदलाई जानकारी गराइएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

जेठ २५ गते शनिबार युरोप भ्रमणमा गएका प्रधानमन्त्री ओलीको भ्रमणबारे पाँच दिनपछि आज (बुधबार) मात्र संसदलाई जानकारी गराएको भन्दै उसले आपत्ति जनाएको हो ।

बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले पाँच दिनसम्म सरकार कसले चलायो भनेर प्रश्न गरिन् ।

‘प्रधानमन्त्रीज्यू युरोप जाँदै गर्दा उहाँले कार्यभार दिने भन्ने पत्र पाँच दिनपछि आज सदनमा प्राप्त भयो,’ भुसालले भनिन्, ‘प्रधानमन्त्री युरोप भ्रमणमा जाँदा कुन उद्देश्यका लागि जानुहुन्छ ? त्यसबारे किन जानकारी गराइएन ? किन संसदलाई गुमराहमा राखियो ? पाँच दिनसम्म सरकार कसले चलाएको छ ?’

प्रधानमन्त्री ओली जेठ २५ देखि नौदिने युरोप भ्रमणमा छन् । उनी असार १ गते स्वदेश पर्कने क्रार्यक्रम रहेको छ ।