आप्रवासी चढेको डुंगा दुर्घटनाग्रस्त हुँदा ३० बेपत्ता

आप्रवासी चढेको डुंगा दुर्घटनाग्रस्त हुँदा ३० बेपत्ता


भेनेजुएलाको कुराकाओमा डुंगा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार कम्तीमा ३० जना भेनेजुएलाका आप्रवासी बेपत्ता भएका छन् ।

पारिवारिक स्रोत उद्धृत गर्दै एकजना सांसद लुइस स्टेफानेलीले डुंगामा ३० देखि ३५ जना सवार रहेको जानकारी दिए । उनले बेपत्ता भएका व्यक्ति परिवारको सम्पर्कमा नआएको पनि बताए । उक्त घटनाबारे अधिकारीहरूले भने कुनै टिप्पणी गरेका छैनन् ।

तटीय सुरक्षागार्डले कुराकाओको बुल्लेनबाई जलक्षेत्रमा एक व्यक्तिको शव भेटिएको बताएका छन् । तर, भेनेजुएलाको अगुइडे गाउँका ती आप्रवासीको हो–होइन भन्ने यकिन हुन सकेको छैन ।

एक महिनाभित्रै भेनेजुएलाका आप्रवासी चढेको डुंगा दुर्घटना भएको यो तेस्रो घटना हो । हालसम्म ८० जना बेपत्ता छन् । यसअघिका दुईवटा डुंगा क्यारेबियन मुलुक ट्रिनीडाड एन्ड टोबागोतर्फ हिँडेका थिए ।

परिवारका सदस्यहरूका अनुसार आप्रवासी प्रत्येक व्यक्तिले समुद्र पार गर्न चार सय अमेरिकी डलर तिर्नुपर्छ । संयुक्त राष्ट्र संघले भेनेजुएलाका तीन करोड जनसंख्यामध्ये एकतिहाइलाई मानवीय सहायता आवश्यक रहेको जनाएको छ ।
राष्ट्र संघले विगत तीन–चार वर्षको अवधिमा झन्डै ३३ लाख मानिस भेनेजुएलाबाट पलायन भएको बताएको छ । तर विदेशमन्त्री जर्ज एरेजाले राष्ट्रसंघको तथ्यांक गलत रहेको दाबी गरेका छन् ।