तानातानीमा माधव नेपाल !

तानातानीमा माधव नेपाल !


केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापित गरी प्रचण्डलाई सरकारप्रमुख बनाउने सक्रियता बढेको छ । खासगरी पश्चिमा र अन्य कतिपय शक्तिकेन्द्र ओलीको विस्थापनका निम्ति जुटेका छन् । तर, वरिष्ठ नेता माधवकुमार नेपालको साथबिना केपीलाई पदमुक्त गर्न नसकिने भएको छ ।

पार्टीमा एमाले कित्ताले प्रचण्डहरूलाई आफ्नो नेताका रूपमा स्वीकार गरिनसकेको, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ संसद् सदस्य नरहेको र झलनाथ खनालको हैसियत नराम्रोसँग खस्किएकोले केपीलाई विस्थापित गर्न या उनलाई टिकाउन माधवकुमार नेपालको भूमिका निर्णायक हुने अवस्था बनेको छ । त्यसैले एकातिर प्रचण्डले माधव नेपाललाई आफ्नो विश्वासमा लिन अनेक प्रयत्न गरिरहेका छन् भने केपी शर्माले पनि माधवलाई आफ्नो पक्षमा उभ्याउन कसरत गरिरहेका छन् ।

प्रचण्ड माधव नेपाललाई प्रधानमन्त्री या पार्टी अध्यक्षमध्ये एउटा जिम्मेवारी दिन तयार भएका छन् । मिलेसम्म दुवै जिम्मेवारी आफैँले ग्रहण गर्ने मानसिकतामा रहेका माधवले भने दुवैतर्फ (प्रचण्ड र केपी) समदूरीको सम्बन्ध कायम राखेका छन् । बालुवाटार जग्गा प्रकरणमा मुछिएका माधव नेपाललाई विश्वासमा लिन केपीले कारबाहीमा पर्नबाट जोगाइदिने आश्वासन र पार्टीको कार्यकारी अध्यक्ष बनाइने विश्वास एकसाथ दिएका छन् ।

माधव नेपाललाई कार्यकारी अध्यक्ष बनाउने आश्वासन दिइएको सूचना प्राप्त हुनेबित्तिकै प्रचण्डहरूले पनि प्रधानमन्त्री या अध्यक्षमध्ये एउटा पद रोजेर लिन भनेपछि माधव नेपाल ‘के गर्ने के नगर्ने’ भन्ने स्थितिमा पुगेका छन् । केपीप्रति कहिल्यै सकारात्मक धारणा नराख्ने माधव यतिबेला केपी र उनका समर्थकहरूको डरले मात्र प्रचण्डको कित्तामा देखिने गरी नउभिएका हुन् । दुवै खेमाबाट तानातान भए पनि माधव नेपाल उपयुक्त समयमा केपीको विरुद्धमा उभिने निश्चित मानिन्छ । तर, उनले प्रधानमन्त्री पद रोज्ने हुन् या पार्टी अध्यक्ष सो भने अहिलेसम्म अनिश्चित छ ।