७२ घरपरिवारलाई खानेपानी वितरण

७२ घरपरिवारलाई खानेपानी वितरण


काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–५ च्यासिङखर्कका उच्च भेगमा रहेको ७२ घरपरिवारलाई खानेपानी वितरण गरिएको छ ।

खानेपानीको चरम अभाव रहेको त्यहाँका खलंगाडाँडा, लुङसुरडाँडा, कामीडाँडा र च्याल्टीलगायतका बासिन्दाका लागि परोपकार प्राथमिक उपचार केन्द्रको आयोजना र ग्रामीण खानेपानी सरसफाइ कोष विकास समिति (फन्डबोर्ड) को आर्थिक सहयोगमा च्यासिङखर्क खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत खानेपानी आयोजना सम्पन्न गरेपछि मंगलबार उदघाटनपश्चात् समुदायलाई हस्तान्तरण गरिएको हो ।

खानेपानी आयोजनाको उदघाटन गर्दै प्रदेश सांसद बसुन्धरा हुमागाईंले समृद्धिको मुख्य आधार अर्थोपार्जन भएको र त्यसका लागि च्यासिङखर्कको कामीडाँडा निकै सम्भावना बोकेको क्षेत्र भएकाले अब खानेपानी उपलब्धसँगै तरकारी खेती गरी अर्थोपार्जनमा लाग्न आग्रह गरिन् ।

कार्यक्रममा खानेपानी तथा सरसफाइ कोष विकास समितिका सामाजिक संसाधन विकास महाशाखा प्रमुख टीका अधिकारीले खानेपानी उपलब्ध भएपछि सरसफाइदेखि बालबच्चाको स्वास्थ्य र खाद्यान्नमा सुधार गर्दै सुखी जीवनयापन गर्नमा ध्यान दिन आग्रह गरे । परोपकार प्राथमिक उपचार केन्द्रका अध्यक्ष डा. संग्रामसिं लामाले समुदायको अर्थपूर्ण सहभागिताबाट नै खानेपानी आयोजना सम्पन्न भएको उल्लेख गर्दै सहयोगी संस्था रहुन्जेल चल्ने र संस्था गएपछि योजना पनि तहसनहस हुने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरे ।

सो वडाका खलंगाडाँडाका स्थानीय बासिन्दा सनीमाया तामाङले वर्षौंदेखि झेल्दै आएको खानेपानी अभाव अहिले आएर पूरा भएकामा खुसी व्यक्त गरिन् । अब खानेपानी ओसार्नकै लागि समय छुट्याउने दिन गएको उनको भनाइ थियो । पहिला पानी अभावकै कारण वस्तुभाउसमेत धेरै पाल्न नसकेको उनले बताइन् ।

अर्का स्थानीय बासिन्दा जगतबहादुर तामाङले आउने–जाने गर्दा तीन घन्टा हिँडेर घरदेखि तलको सिमसिमखोलाबाट पानी उपलब्ध गराएकोमा अब आँगनमै पानी आएपछि धेरै सहज भएको बताए ।

करिब पाँच किलोमिटर टाढा रहेको महाभारत लेकबाट पानी ल्याई सो भेगका ७२ घरपरिवारलाई स्थानीय जनश्रमदानसहित गरी करिब ५२ लाख रुपैयाँको लागतमा सो खानेपानी उपलब्ध गराइएको हो ।