नयाँ पुस्ता कता जाँदै छ ?





■ बबिता बस्नेत

समान वातावरणमा छोरा र छोरीलाई हुर्काउनु, पढाउनु, बढाउनुपर्छ भनेर लामो समयदेखि वकालत गरियो । विभेदपूर्ण हुर्काइका कारण महिलाहरू पछि परेको अनुभव साक्षी भएकाले यो अभियानले घरघरमा पूर्णता पाउँदै छ । तर, परिणामचाहिँ सोचेभन्दा अलि फरक देखिइरहेको छ ।

छोरीलाई छोराजस्तै गरी हुर्काउन खोज्दा हाम्रा छोरीहरूले कलेज पुग्दासम्म एक कप चिया बनाएर खान सकिरहेको देखिँदैन । जतिबेला हामी आफ्नो परिवारलाई खाना बनाएर खुवाउने मात्र होइन, अरू थुप्रै दायित्वहरू काँधमा लिएर हिँड्थ्यौँ त्यो उमेरमा उनीहरू पढाइमा बाहेक अरू कुरामा वास्तै नगर्ने भएका छन् । अध्ययनमा पनि सबैको रुचि छ भन्न मिल्ने अवस्था छैन । आफ्नो लागि नभएर बाबुआमाको लागि पढिदिएजस्तो गरी ‘मैले पढिदिएकै छ नि’को शैलीमा कलेज–घर गरेको देखिन्छ । यो हाम्रो समाजमा हुर्कंदै गरेका सन्तानहरूको वास्तविकता हो । समान व्यवहार गरेर बनाउन खोजेकोचाहिँ छोरीसँगै छोरालाई पनि घर–व्यवहारमा निपुण र छोरीलाई पनि बाहिरको काममा समान रुचिको अवस्था थियो । विगत विभेदपूर्ण भयो भनेर फरक गर्न खोजेको हाम्रो हुर्काइमा खै के मिलेन, न छोराजस्तो, न छोरीजस्तो, न घरव्यवहार र भान्सामा रुचि न त बाहिर नै धेरै चासो…सोचेभन्दा भिन्दै तरिकाले नयाँ पुस्ता हुर्कंदै छ ।

छोराछोरी कोठाबाट ननिस्कने, जतिबेला पनि इन्टरनेटको दुनयाँमै रमाइरहने, खान बोलाउँदा समयमा भान्सामा आए भने ठूलै गुन लगाएकोझैँ ठान्नुपर्ने अवस्था झेलिरहेका अहिले कतिपय बाबुआमाले भनेको सुनिन्छ, हाम्रो प्यारेन्टिङमै केही कमी पो भयो कि ? सन्तानमाथि मात्रै दोष लगाउनुको सट्टा आफैँमाथि प्रश्न गर्नु राम्रै पनि हो । यस्ता प्रश्नले आफूले आफूलाई पुनरावलोकन गर्न मद्दत गर्छ । अहिले सन्तानका कारणले बाबुआमा तनावमा छन् कि बाबुआमाको कारणले सन्तान तनावमा छन् छुट्याउनका लागि फरक परिस्थितिहरूलाई बुझ्नुपर्ने हुन्छ ।

कतिपय सन्तान बाबुआमाको बिग्रँदो सम्बन्धले तनावमा छन् । पतिपत्नीबीच कामचलाउ सम्बन्ध अघि बढिरहेकामध्ये पनि धेरैजसो सन्तानका कारण तनावमा छन् । इन्टरनेटले संसारमा धेरै अवसरको ढोका खोल्दै जाँदा हाम्रा कतिपय भावनात्मक सम्बन्धका ढोका भने बन्द गरिरहेको छ । अहिलेका युवाहरू सकेसम्म आफन्तकहाँ जाँदैनन्, चाडबाड उनीहरूलाई बाबुआमाका लागि मनाइदिनेजस्तो बन्दै गएको छ, नातेदारहरू चिन्दैनन्, चिने पनि वास्ता गर्दैनन् । उनीहरू आफैँमा मग्न देखिन्छन्, खुसी छन् या दुःखी हतपत थाहा हुँदैन । ‘फेसियल एक्स्प्रेसन’ हेरेर बुझ्नुपर्ने हुन्छ ।

इन्टरनेटले संसारमा धेरै अवसरको ढोका खोल्दै जाँदा हाम्रा कतिपय भावनात्मक सम्बन्धका ढोका भने बन्द गरिरहेको छ । अहिलेका युवाहरू सकेसम्म आफन्तकहाँ जाँदैनन्, चाडबाड उनीहरूलाई बाबुआमाका लागि मनाइदिनेजस्तो बन्दै गएको छ, नातेदारहरू चिन्दैनन्, चिने पनि वास्ता गर्दैनन् ।

एक साथीले भन्थे– घरमा साथीहरू आएको बेला छोरालाई नमस्कार गर बाबु भनेको काननजिक लगेर उसले दुई हात जोड्दा म त मरेजस्तै भएँ । अहिलेका बच्चाहरूलाई नमस्कार गर्न कति गाह्रो ? यस्तो अवस्थामा कतिपय परिवारमा पतिपत्नीबीच एक–अर्कामा दोषारोपण पनि हुने रहेछ, पतिले भन्ने तिमीले गर्दा बच्चाले संस्कार सिकेन । पत्नीले भन्ने तपाईं पनि त सँगै हुनुहुन्छ किन नसिकाएको त ? प्रायः बाबुहरूमा बच्चाले राम्रो काम गर्दा ‘मेरो छोरा-छोरी’ भन्ने, अलिकति तलमाथि भए पत्नीलाई दोष दिँदै ‘तिमीले गर्दा’ भन्ने आमचलन छ ।

अहिलेका धेरैजसो बच्चालाई घरमा खाना कसरी आउँछको त कुरै छोडौँ, कसरी पाक्छ थाहा छैन । खाना जीवनमा महत्वपूर्ण कुरा हो । तर, अहिलेका सन्तानले त्यसको महसुससम्म गरेका छैनन् । विश्वमा जहाँ पुगे पनि आफैँले बनाएको खाना खानु राम्रो हो । रेस्टुरेन्टको खाना या फास्टफुड सधैँ खाने हो भने त्यसले स्वास्थलाई लामो समय साथ दिँदैन । छोराछोरी र बाबुआमाको सम्बन्ध विगतमा जस्तो थियो त्यसरी अघि बढिरहेको छैन । कतिपय बाबुआमा छोराछोरीको नजरमा आफू करिबकरिब एटीएम मेसिनझैँ महसुस गरिरहेका छन । पैसा चाहियो भने सन्तान राम्रो बोल्छन् या सन्तानले राम्रो मुखले बोले भने उसलाई पैसा चाहिएछ भनी बाबुआमाले बुझ्नुपर्ने हुन्छ । यसप्रकारको सम्बन्धले सन्तानले पाल्छन् भन्ने हाम्रा सोचहरू परिवर्तन गर्न मद्दतचाहिँ पुगेको छ । तर, बाबुआमामा एकप्रकारको असुरक्षित भावना बढ्दै गएको पनि देखिन्छ । सन्तानप्रतिको चिन्ता पनि त्यत्तिकै छ ।

अहिलेको युवापुस्ता हामीजस्तो साँझ १० बजेपछि सुत्दैन । रातभरि नेटमा बस्नु, बिहानभरि सुत्नु उनीहरूको दिनचर्याझैँ बनेको छ । छोराछोरीको पौरखको कुरा टाढै राखौँ, उनीहरू राम्ररी बोलिदिँदा बाबुआमाले खुसी मान्नुपर्ने अवस्था छ । खासै काम केही छैन, तर छोराछोरी उठ्दै तनावमय मुहारमा देख्ने बाबुआमाको सङ्ख्या बढ्दै छ । के भयो ? किन उदास छौ भनेर आफ्नै छोराछोरीलाई सोध्न नमिल्ने अवस्थामा बाबुआमा छन् । हाम्रो पालामा जस्तो स्कुल गएदेखि घर फर्किएसम्मका कहानी छोराछोरीले बाबुआमालाई सुनाउँदैनन् न त बाबुआमाकै कुरा सुन्छन् । स्कुल–कलेजले देखाइदिएका सपना अभिभावकका लागि अर्को चुनौती हुन् । नेपालमा त पढ्ने कलेज नै छैनन् जस्तो गरी उच्च शिक्षाका लागि विदेशी कलेजका सपना प्लस टु, ए लेभलवाला कलेजहरूले देखाउँछन् । पूरा हुनेको ठीकै छ, पूरा नहुँदाको फ्रस्टेसन–व्यवस्थापन स्कुल–कलेजले गर्दैनन्, बाबुआमा आफैँले गर्नुपर्छ, जसको मूल्य त्यति सहज हुने गरेको छैन ।

कतिपय बाबुआमा छोराछोरीको नजरमा आफू करिबकरिब एटीएम मेसिनझैँ महसुस गरिरहेका छन । पैसा चाहियो भने सन्तान राम्रो बोल्छन् या सन्तानले राम्रो मुखले बोले भने उसलाई पैसा चाहिएछ भनी बाबुआमाले बुझ्नुपर्ने हुन्छ ।

यता सन्तानका समस्या आफ्नै छन् । ढुङ्गेयुगदेखि इन्टरनेटयुगसम्म आइपुग्दा परिवर्तन त भइहाल्छ नि भन्ने मान्यतामा उनीहरू छन् । युवा पुस्ता आफैं तनावमय देखिन्छ । त्यसमा पनि बाबुआमाको झर्किंदो आवाज सुन्दा तिमीहरू भगवान् हौ र ? भन्ने मनमा आउँदो हो । शरीरमा हर्मोनको चलखेलसँगै अनेक तनावबाट उनीहरू गुज्रिनु त स्वाभाविक नै थियो । जे खोज्यो त्यही भेटिएझैँ लाग्ने इन्टरनेटले थप तनाव सिर्जना गरिदिएको छ । उनीहरूलाई के भएको होला भनी मनस्थिति बुझ्नका लागि बाबुआमा आफैंले अहिलेको परिस्थितिलाई बुझ्नुपर्ने अवस्था छ ।

अहिले सन्तान र बाबुआमाबीचको भावनात्मक द्वन्द्व भनेको ‘टिन एज’ र मिडल एज’बीचको लडाइँ पनि हो । मिडल एज आफँैमा सङ्क्रमणकालीन अवस्था हो, टिन एजको कुरै भएन । ‘तिमीबिना मेरो जीवन सम्भवै छैन, म बाँच्नै सक्दिनँ’ भन्ने सोच आउने टिन एज र ‘म कोही नभए पनि बाँच्न सक्छु’को अवस्थातिर ढल्कँदै गएको मिडल एजका बीचको तालमेल सहज छैन । टिनएजका सन्तान हुने बाबुआमालाई कहिलेकाहीँ त यो मेरै सन्तान हो त ? भन्ने परिस्थिति पनि आउन सक्छ । त्यस्तो बेलामा सही अभिभावकत्व दिन नसक्दा युवाहरूमा झनै निराशा छाएर डिप्रेसनसम्म पुगेका घटना पनि छन् ।

तर, सही अभिभावकत्व भनेको के हो ? भन्ने कुरामा हाम्रो पुस्ता ‘कन्फ्युज्ड’ छ । बुबाआमाको सुझाबवाला स्कुलिङबाट आएका हामीहरू र इनटरनेट सकुलिङबाट दीक्षित हुँदै गरेका हाम्रा सन्तानबीच सोचमा ठूलो अन्तर छ । फरक के हो भने खाल्डोतिर पर्न लाग्दा हाम्रा बाबुआमाको शिक्षाले हामीलाई पछाडिबाट तानेर रोक्न खोज्थ्यो, इन्टरनेट शिक्षाले भूमरीमै पर्दा पनि बाल मललब गर्दैन । जुन कुरा अहिलेको युवा पुस्ताले बुझ्नु जरुरी छ ।

प्रतिक्रिया