पत्रकारितामा पुनर्विचारको पक्ष

पत्रकारितामा पुनर्विचारको पक्ष


■ डीपीटी

विश्वका कुनै पनि मुलुकको संविधान र कानुनले पत्रकारितालाई राज्यको चौथो अङ्गको मान्यता प्रदान गरेको छैन, तथापि पत्रकारितालाई राज्यको चौथो अङ्गका रूपमा बुझ्ने–बुझाइने गरिन्छ । आइरिस नागरिक एडमण्ड वर्कले बेलायती संसद्लाई सम्बोधन गर्दै सन् १७८७ मा पहिलोपटक पत्रकारिता क्षेत्रलाई राज्यको चौथो अङ्गका रूपमा परिभाषित गरेयता संसारभरि पत्रकारितालाई चौथो अङ्गका रूपमा बुझ्ने–बुझाउने क्रमको शुरुवात भएको हो । तर, पत्रकारिताको यस्तो परिचय केवल औपचारिकतामा सीमित छ, यो परिचयले वैधानिकता पाएको छैन र वैधानिकता दिनेबारे चासो राखिएको पनि देखिँदैन ।

मानव जीवनमा सूचना र सञ्चारको महत्व अविच्छिन्न र व्यापक भए पनि यसलाई राज्य, नागरिक र समाजले उपयोग÷प्रयोग गर्ने, तर विधिवत हैसियत र सम्मान दिन नखोज्ने प्रवृत्ति परापूर्वकालदेखि नै रहँदै आएको छ । पौराणिक कालका कैयन ऋषिमुनिहरूसँगै नारदको पनि नाम आउँछ, तर अन्य ऋषिहरूलाई झैँ नारदलाई सम्मानका साथ हेरिँदैन । नारद ऋषिका अन्य कतिपय क्षमताका साथ सन्देश प्रवाह गर्ने पनि थियो । उनी महत्वपूर्ण सूचना आदानप्रदान गर्दथे र सन्देश प्रवाह पनि उनको कर्म थियो । नारदको आवश्यकता देवीदेवता र तात्कालिक मानव जगत् सबैले महसुस गर्दथे, तर अन्य ऋषिमुनिहरूलाई जति सम्मान नारद मुनिलाई प्राप्त भएको महसुस गरिँदैन ।

चर्चामा रहनु र प्रतिष्ठित या लोकप्रिय बन्नुबीचको अन्तर धेरै फराकिलो छ, हरेक लोकप्रिय या प्रतिष्ठित व्यक्ति चर्चित हुन सक्छन्, तर चर्चित बनेका हरेक व्यक्ति लोकप्रिय या प्रतिष्ठित हुन्छन् भन्ने होइन । चर्चाका दृष्टिले नारदमुनि अगाडि नै छन्, प्रतिष्ठामा मात्र उनलाई अन्य ऋषिहरूले उछिनेका हुन् । आधुनिक विश्वमा पनि पत्रकारलाई सन्देश प्रवाहकर्ताका रूपमा लिइन्छ, धेरै मानिसले पत्रकारिता पेसा अवलम्बन गर्नेहरूलाई चिन्छन् र विभिन्न सभा–समारोहमा पत्रकारिताको महिमागान पनि हुने गर्दछ । तर, यस्ता महिमागान त्यतिबेलासम्म कायम रहन्छ जबसम्म सम्बन्धित पक्ष या व्यक्तिले मिडियाबाट आलोचनात्मक भूमिकाको सामना गर्नुपर्ने अवस्था आउँदैन ।

पुरानो विश्वले पत्रकारितालाई चौथो अङ्गको हैसियत दिनुपर्ने अवधारणा अघि सारेको भए पनि आधुनिक विश्व मिडियालाई चौथो अङ्गका रूपमा वैधानिकता दिन इच्छुक नभएको, बरु चौथो अङ्गको वैधानिकतामा प्रश्न उठाउँदै प्रचलित मान्यतामा पानी थपेर पातलो बनाइदिन अग्रसर देखिन्छ । यस्तो अवस्था पैदा हुनुमा राज्यसत्ता र समाजमा गलत मानिसको प्रकोप बढ्नुलाई मात्र दोष मानिँदैन । पत्रकारिता क्षेत्रप्रतिको सामाजिक दृष्टिकोण सकारात्मक नहुनुमा धेरै हदसम्म पत्रकारिता क्षेत्र आफैँ जिम्मेवार रहेको यथार्थलाई स्वीकार गर्न सक्नुपर्छ ।

पत्रकारिता कसैको ध्यानाकर्षण गर्ने, कसैलाई पुलकित पार्ने, दुःखी तुल्याउने या धनार्जनका निम्ति अपनाइने पेसा–कर्म होइन । एउटा निरपेक्ष र निर्मम पेसा–व्यवसायका रूपमा यसलाई लिन सकिन्छ । देखेको लेख्न नखोज्ने, सत्य बोल्न आनाकानी गर्ने र निजी स्वार्थको परिधिभित्र रहेर धारणा बनाउने मानिसले पत्रकारितामा प्रवेश नगर्दा यो पेसा र समाज दुवैमाथि न्याय गरेको हुनेछ । एउटा गज्जबको तपस्या पत्रकारिता ! जीवनभर जोखिम उठाइरहनुपर्ने, सरुवा या बढुवा जे भए पनि पत्रकार पत्रकारकै रूपमा रहनुपर्ने हुन्छ । वकिलहरू न्यायाधीश बन्ने लाइनमा हुन्छन् र अन्य पेसागत समुदाय पनि राज्यबाट सुरक्षित लाभ प्राप्त गर्नेमध्ये पर्दछन् । तर, पत्रकारिता पेसा राज्यद्वारा संरक्षित रहने कोटिमा पर्दैन ।

स्वतन्त्रता र निष्पक्षता पत्रकारका विशिष्ट गुण हुन् भने तथ्य र सत्यलाई पत्रकारिताको आधारभूत विशेषता मानिन्छ । सरकारी सेवामा रहेर गरिने सञ्चारकर्म, राजनीतिक दलको लगानीमा सञ्चालित सञ्चारमाध्यम, व्यावसायिक दक्षता र पेसागत मूल्य–मान्यताविपरीत पत्रकारिता क्षेत्रमा क्रियाशील व्यक्तिहरूलाई पत्रकारिताबाट अलग राखेर हेर्न नखोजिएकोले यो क्षेत्र अराजक र फोहोर देखिएको हो, त्यसर्थ यहाँ सुधारको आवश्यकता खट्किएको छ ।

नेपालमा केही वर्ष अघिसम्म सरकारी सञ्चारमाध्यममा काम गर्नेहरूलाई पत्रकार मानिँदैनथ्यो, उनीहरू सुरक्षित थिए, तर स्वतन्त्र थिएनन्, लेखनी या प्रस्तुतिमा स्वतन्त्र रहन नसक्नेहरू साँचो अर्थका पत्रकार होइनन्, हुन सक्दैनन् । निर्देशित, नियोजित र निर्धारित सीमाभित्र रहेर सञ्चारकर्म या पत्रकारिताजस्तै कर्म गर्नेहरूलाई पत्रकारभन्दा कर्मचारीका रूपमा बुझ्दा पत्रकारितामाथि न्यायिक दृष्टि राखेको ठहर्छ । सरकारी सुरक्षा, सुविधा र संरक्षण पनि खोज्ने र पत्रकार भएको स्वाङ पनि गर्ने भनेको एउटा व्यक्तिले स्त्री र पुरुष दुवै आफू भएको दाबी गर्नुजस्तै हो । जसरी कुनै पनि व्यक्ति एकैपटकमा महिला र पुरुष बन्न सक्दैन, त्यसैगरी सरकारी सेवाको एउटा मानिस एकैपटकमा कर्मचारी र पत्रकार हुन सक्दैन । हुन सक्छ भन्ने अवधारणामा अब परिवर्तन हुनु वाञ्छनीय हुनेछ ।

स्वतन्त्रता र निष्पक्षता पत्रकारका विशिष्ट गुण हुन् भने तथ्य र सत्यलाई पत्रकारिताको आधारभूत विशेषता मानिन्छ । सरकारी सेवामा रहेर गरिने सञ्चारकर्म, राजनीतिक दलको लगानीमा सञ्चालित सञ्चारमाध्यम, व्यावसायिक दक्षता र पेसागत मूल्य–मान्यताविपरीत पत्रकारिता क्षेत्रमा क्रियाशील व्यक्तिहरूलाई पत्रकारिताबाट अलग राखेर हेर्न नखोजिएकोले यो क्षेत्र अराजक र फोहोर देखिएको हो, त्यसर्थ यहाँ सुधारको आवश्यकता खट्किएको छ ।

परिवर्तनको अर्को पाटो अन्तर्वस्तु अर्थात् ‘कन्टेन्ट’सँग सम्बन्धित छ । पत्रकारिताका विषयवस्तु मिठाइ होइनन्, जसलाई अनेक रङरोगन गरेर आकर्षक बनाउनु परोस् । सामग्रीमा रङ भरेर प्रस्तुत गर्नु या विभिन्न उत्तेजनात्मक शैली प्रयोग गरेर स्टन्टबाजी गर्नुलाई पनि पत्रकारिता मान्न सकिँदैन । हरेक सन्दर्भ सामग्रीलाई तथ्यपरक र तर्कपूर्ण ढङ्गले जस्ताको त्यस्तै प्रस्तुत गर्न सक्नु नै पत्रकारिता हो । कुन सामग्रीमा समाचारीय मूल्य ज्यादा हुन्छ र केमा न्यून रहन्छ भन्ने सन्दर्भमा पनि छलफल आवश्यक भइसकेको छ । सुलभभन्दा दुर्लभ विषयवस्तुको समाचारीय मूल्य अधिक हुन्छ भन्ने सैद्धान्तिक अवधारणामा परिवर्तन ल्याउन तत्काल आवश्यक देखिएको छैन । तर, कुनै समय दुर्लभ ठानिएको विषय ‘सुलभ’ भइसक्दा पनि त्यसैमा ‘मूल्य’ देख्नुचाहिँ भ्रम र भूल हो ।

दृष्टान्तका निम्ति नेपालको सन्दर्भमा भ्रष्टाचारलाई लिन सकिन्छ । कुनै समय यो मुलुकमा भ्रष्टाचार दुर्लभ घटना या विषय थियो । त्यसैले कसैले भ्रष्टाचार या अनियमितता गऱ्यो या गरेको तथ्य या कथ्य सार्वजनिक भयो भने त्यसले समाजमा धेरै ठूलो तरङ्ग पैदा गर्दथ्यो । तर, नेपालमा अहिले भ्रष्टाचार यति व्याप्त भइसकेको छ कि त्यससम्बन्धी समाचार सामग्रीमा मानिसको रुचि घटिसकेको छ । यहाँ नेपालमा अब भ्रष्टाचार भएको भन्दा नभएको विषयले समाचारीय मूल्य राख्न थालेको छ । फलाना व्यक्ति कर, भन्सार, नापी, मालपोत या यातायात व्यवस्था कार्यालयका कर्मचारी भएर पनि घुस खाँदैनन् भन्ने समाचारले मानिसको ध्यान जति आकर्षित गर्न सक्छ, तिनै कार्यालयका कर्मचारीले घुस खाएको या अनियमितता गरेको समाचारले मानिसको ध्यान त्यति आकर्षित नगर्ने स्थिति यहाँ बनिसकेको छ ।

‘सडक कालोपत्रे गरेको तीन महिनामै भत्कियो’, पहिले–पहिले यो समाचार ‘बिकाउ’ हुन सक्थ्यो, अब होइन । अहिले कुनै सडकमा कालोपत्रे भएको तीन वर्ष पुग्दा पनि बिग्रिएको–भत्किएको छैन भन्ने समाचारले चाहिँ मानिसको ध्यानाकर्षण गर्न सक्छ, किनभने नेपालमा यो दुर्लभ घटना हो । कुनै बेला दुर्लभ मानिसका यस्ता अनेक विषय, घटना र सन्दर्भ अहिले ‘सर्वसुलभ’ र व्यापक भइसकेका छन्, तर हाम्रो पत्रकारिता पुरानै अवधारणामा अल्झिएर प्रस्तुत हुँदै छ । हरेक नयाँ कुरामा समाचारीय मूल्य हुन्छ भन्ने पुरानो मान्यतामा पनि अब कसी लगाइनुपर्ने भएको छ ।

नेपालको सन्दर्भमा इसाईकरण नयाँ घटना–सन्दर्भ हुन्, तर तीव्र इसाईकरणलाई भन्दा मौलिकताको रक्षामा समाचारीय मूल्य रहेको यथार्थलाई पत्रकारिता क्षेत्रले आत्मसात् गर्न विलम्ब भइसकेको छ । विश्वबजारमा प्रयोग भई असफल र अनुपयुक्त प्रमाणित भएको कम्युनिस्ट सिद्धान्तलाई नेपालको सन्दर्भमा नयाँ मानेर आत्मसात् गर्दा देशले आज जुन नियति भोग्दै छ, त्यस्तै परिणतिबाट मुक्त रहन यहाँको पत्रकारिताले हरेक नयाँ विषयवस्तुलाई उच्च महत्व दिने परम्परामा पनि परिवर्तन ल्याउन आवश्यक छ ।

एकपटक स्थापित मूल्य–मान्यता र सैद्धान्तिक दृष्टिमा सही भए पनि प्रयोगमा नवीनतम विधिको अपरिहार्यता रहन सक्छ भन्ने तथ्यलाई आत्मसात् गर्दा मात्र नेपाली पत्रकारिता समाजोपयोगी हुन सक्छ भन्ने यथार्थलाई स्वीकार गर्न अब विलम्व गरिनुहुँदैन ।