अक्सफोर्डमा मन्तव्य दिन ओलीलाई पछ्याउँदै राउत पुगे बेलायत

अक्सफोर्डमा मन्तव्य दिन ओलीलाई पछ्याउँदै राउत पुगे बेलायत


प्रधानमन्त्री केपी शर्मा ओली केही युरोपेली मुलुकहरूसँगको सम्बन्ध मजबुत तुल्याउन यो साता (जेठ २५–असार १) युरोप भ्रमणमा हुनुहुन्छ । स्वीट्जरल्यान्डको जेनेभामा आयोजित एक कार्यक्रममा सहभागी भएपछि बेलायत पुग्नुभएका प्रधानमन्त्रीले अक्सफोर्ड युनिभर्सिटीमा (जेठ २७ गते) सम्बोधन गर्नुभएको छ । प्रधानमन्त्री ओलीको मन्तव्यलाई नेपालको सरकारी सञ्चारमाध्यमले अति उच्च महत्वका साथ प्रचार पनि गरिरहेको छ । तर, अक्सफोर्ड विश्वविद्यालयमै पृथकतावादी सीके राउतलाई समेत यही समय पारेर बेलायत बोलाइएको तथ्यलाई चाहिँ नेपालका सरकारी सञ्चारमाध्यमले सार्वजनिक गर्ने अभिरुचि लिएका छैनन् ।

सीके राउत गत आइतबार (जेठ २६) अर्थात् प्रधानमन्त्री केपी ओली युरोप प्रस्थान गरेको भोलिपल्ट नै बेलायततिर लागेका छन् । उनलाई अक्सफोर्ड युनिभर्सिटीमा उच्च सम्मानका साथ बोलाइएको र त्यहाँ उनले नेपालबाट तराई छुट्टिन किन आवश्यक छ भन्ने विषयमा लामो प्रवचन दिने कार्यक्रम रहेको बुझिएको छ । रहस्यमयी किसिमबाट सरकारसँग सहमति गरी थुनामुक्त भएका र थुनामुक्तिपश्चात् ‘जनमत’ नामक समूह खडा गरी पृथकतावादी क्रियाकलापमा संलग्न रहेका सीके राउतलाई पश्चिमा मुलुकहरूको बलियो ‘ब्याकिङ’ रहेको विश्वास गरिन्छ ।

पश्चिमाहरूले सीकेलाई अधिक महत्व दिनु र उनका गतिविधि बडो रणनीतिक ढङ्गले अघि बढ्नुले नेपाल र यसका छिमेकी मुलुकहरूलाई समेत चिन्तित बनाएको छ । अमेरिकी संसद्ले गत डिसेम्बरमा तिब्बतदेखि नेपाल र भारतसम्म ‘प्रजातन्त्र सुदृढ बनाउन’ भन्दै २१ अर्ब रुपैयाँ विनियोजन गर्ने निर्णय लिएको छ । इन्डो–प्यासिफिक कमाण्डसँगको सहकार्यमा नेपाललाई सामेल गराइने अमेरिकी योजनामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अमेरिकास्थित नेपालका राजदूत सहमत भएपछि हाम्रो दुवैतर्फका छिमेकीहरू तरङ्गित र स्तब्ध भएका थिए ।

करिब दुई दशकपछि परराष्ट्रमन्त्रीस्तरमा भएको भ्रमण (६ महिनाअघि) का बेला प्रदीप ज्ञवालीसमक्ष अमेरिकी विदेशमन्त्रीले ‘अब नेपाललाई अमेरिकाले आफ्नै आँखाबाट हेर्ने’ प्रतिबद्धता सार्वजनिक गरेका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवहार ‘अनपेक्षित’ भएपछि अमेरिका बिस्मित र दुःखी बनेको बताइन्छ । इन्डो–प्यासिफिक प्रकरणलगत्तै भएको भेनेजुएला वक्तव्य प्रकरण र त्यसयता अमेरिका–नेपाल सम्बन्ध उचारचढावको स्थितिबाट गुज्रिएको छ । नेपालका वर्तमान ‘प्रधानमन्त्रीलाई इन्डो–प्यासिफिक कमाण्डसँगको सहकार्यमा ल्याइछाड्ने’ वचनबद्धता अमेरिकास्थित ‘नेपाली’ राजदूत र परराष्ट्रमन्त्री ज्ञवालीले प्रकट गरेका भए पनि यिनका कुरामाथि अमेरिका ढुक्क हुन खोजेन ।

यसबीचमा अमेरिकाले नेपाल मामिलालाई आफैँले सीधा ‘डिल’ नगर्ने र भारतीय आँखाबाट नेपाललाई हेर्ने भन्दै भारतलाई विश्वासमा लिन खोजेको देखिएको छ । तर, अर्कोतिर युरोपियन युनियन र बेलायतको भूमिका भने नेपालभित्रै भारतीय भावनाभन्दा बेग्लै प्रकारको भएको महसुस गर्न थालिएको छ । बेलायत र युरोपियन युनियनले नेपालमा निर्वाह गर्ने भूमिका अमेरिकी चाहना र योजनाभन्दा कति भिन्न हुन सक्ला, यो अध्ययनको विषय हो । युरोपियन युनियन र बेलायत एकातिर प्रधानमन्त्री केपी शर्मालाई आफ्नो काबुमा राख्न हरतरहले प्रयास गर्दै छन् भने अर्कोतिर सीके राउतलाई ‘बार्गेनिङ टुल्स’ बनाएर नेपाललाई अप्ठ्यारोमा पार्ने कसरत पनि भइरहेको देखिन्छ ।

सीके राउतद्वारा नेपालविरुद्ध र विखण्डनको पक्षमा लेखिएको एक पुस्तक केहीअघि लण्डनमा विमोचन भएको थियो । विमोचनमा रहस्यमयी पात्रका रूपमा चिनिने दीपेन्द्र झालाई विशेष वक्ताका रूपमा सहभागी गराइएको थियो । वकिल दीपेन्द्र झालाई यतिबेला मुख्यमन्त्री पदमा रहेका अर्का राउत लालबाबुले महान्यायाधिवक्ताको जिम्मेवारी दिएर आफूसँगै राखेका छन् । यसपटक लन्डन जाँदा सीके राउतले दीपेन्द्र झालाई सँगै लिएर गएका छैनन् । तर, राउतले अक्सफोर्डमा दिने मन्तव्य देश विखण्डनकै पक्षमा हुनेमा शङ्का गर्नुपर्ने छैन । उनले जनमतसङ्ग्रह गरी नेपाल विभाजन गर्नुपर्ने धारणा सार्वजनिक गर्दै आएका छन् ।

गत वर्ष (केही महिनाअघि)सम्म थुनामा रहेका सीके राउतलाई थुनामुक्त गरी प्रधानमन्त्रीको स्तरमा सम्झौता भएपश्चात् उनले रणनीतिक योजनामुताबिक पार्टीको नाम नै ‘जनमत’ राखेर तराई क्षेत्रमा आफ्नो गतिविधि सञ्चालन गरिरहेका छन् । लन्डनमा सीकेले दिने अभिव्यक्ति नेपाल, नेपाली जनता, नेपालको एकता र सामाजिक सद्भावका विरुद्ध हुने निश्चित छ । प्रधानमन्त्री ओली युरोप भ्रमणमा रहेकै बेला पारेर पृथकतावादी सीके राउतलाई अक्सफोर्डमा आमन्त्रण गरिनुले प्रधानमन्त्री ओली घेराबन्दीमा परेको या पार्न खोजेको सङ्केत गरिरहेको छ ।

तिब्बत मुद्दा चर्काएर चीनलाई र कास्मिर मुद्दा उठाएर भारतलाई अप्ठ्यारोमा पार्न खोजिएझैँ सीके राउत उठाएर नेपाललाई सङ्कटमा पार्न कुन शक्ति लागिपर्दै छ भन्ने तस्बिर अब स्पष्ट हुँदै गएको छ । अक्सफोर्ड विश्वविद्यालयमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्तव्य दिएलगत्तै सोही विश्वविद्यालयमा पृथकतावादी सीके राउतलाई ओलीसरहको स्ट्यासमा भित्र्याएर मन्तव्य दिन लगाइनु नेपालका निम्ति गम्भीर चिन्ताको विषय हो । तर, नेपालभित्र यसलाई लिएर कुनै संवेदनशीलता नदेखिनु अर्को दुःखद विषय भएको छ ।