करिडोर निर्माणसँगै ट्राफिक व्यवस्थापनमा सहज





प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले करिडोर निर्माणसँगै उपत्यकाको ट्राफिक व्यवस्थापन सहज हुँदै गएको बताएका छन् । नयाँ बसपार्क–म्हैपी हुँदै बालाजु करिडोरको मंगलबार निरीक्षण गर्दै उनले करिडोर निर्माणले उपत्यकामा हुने ट्राफिक जाममा कमी आउने बताए ।

महानिरीक्षक खनालले उपत्यकाको ट्राफिक सुधारका लागि महानगरीय ट्राफिक महाशाखाले तीनमहिने कार्ययोजना बनाएर अगाडि बढेको बताउँदै उक्त करिडोर निर्माणसँगै मुख्य सडकमा हुने सवारी चाप घट्ने उल्लेख गरे ।

‘हालसम्म ट्राफिक प्रहरीले विभिन्न निकायसँगको सहकार्यमा उपत्यकामा पाँचवटा करिडोर खोलिसकेको छ, सडक खोलेर मात्र हुँदैन स्तरोन्नति गर्नुपर्छ, त्यसका लागि ट्राफिक प्रहरी सम्बन्धित निकायसँग समन्वय गरेर अगाडि बढ्छ,’ उनले भने ।

सोही अवसरमा महानिरीक्षक खनालले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई टेलिफोन सम्पर्क गरेर बाटो व्यवस्थित बनाउनेमा मन्त्रालयले खेल्नुपर्ने भूमिकाबारे ध्यानाकर्षण गराएका थिए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले करिडोर निर्माणसँगै नेपालको राष्ट्रिय बसपार्क भित्रिने सवारीसाधनको चापमा कमी आउने बताए । ‘करिडोर निर्माणसँगै सवारीसाधन निर्बाध ढंगले चल्न सक्छन्,’ उनले भने ।

काठमाडौं महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले करिडोर निर्माणसँगै झोर, टोखा, बानियाँटार, नयाँ बसपार्क, म्हैपी, बालाजु, शोभाभगवती हुँदै कालिमाटीसम्म सहज ढंगले सवारीसाधन आवतजावत गर्न सक्ने बताए । ‘बाटो ग्राभेल र पिच गर्न स्थानीय सरकार कटिबद्ध रहेको छ,’ उनले भने । काठमाडौं महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजालले करिडोर निर्माणसँगै बालाजु, माछापोखरी, नयाँ बसपार्क क्षेत्रमा हुने सवारीजाममा कमी आउने बताए । करिडोर निर्माणका लागि महानगरपालिकाले सहयोग गर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया