आवास पुनर्निर्माणका लागि एक अर्ब साठी करोड

आवास पुनर्निर्माणका लागि एक अर्ब साठी करोड


नेपालका लागि मित्रराष्ट्र भारतका राजदूत मन्जीवसिंह पुरीले भारत सरकारका तर्फबाट नेपाललाई सहयोग प्रदान गरिएको एक अर्ब ६० करोडको चेक हस्तान्तरण गर्नुभएको छ । अर्थमन्त्री डा. युवराज खतिवडासमेतको उपस्थितिमा सोमबार आयोजित एक विशेष अवसरमा राजदूत पुरीबाट अर्थसचिव डा. राजन खनाललाई उक्त चेक हस्तान्तरण गरिएको हो ।

भूकम्पपछि उत्पन्न आवास समस्या समाधानार्थ आवास पुनर्निर्माणका लागि भारत सरकारले नुवाकोट र गोरखा जिल्लाका ५० हजार लाभग्राहीलाई प्रदान गरेको पहिलो तथा दोस्रो किस्ताको शोधभर्नाका लागि उक्त रकम उपलब्ध गराएको दातृ पक्षबाट प्रस्ट्याइएको छ । दूतावासले जारी गरेको विज्ञप्तिका अनुसार हालसम्म भारतले नेपाललाई उपरोक्त शीर्षकमा चार अर्ब ५० करोड प्रदान गरिसकेको छ ।

ज्ञातव्य छ, नेपाल सरकारले तोकेको मापदण्डअनुरूप भूकम्पपीडित घरधनीहरूले घर पुनर्निर्माण गरेको सुनिश्चित गर्न भारत सरकारले घरधनीहरूलाई सामाजिक–प्राविधिक सुविधा प्रदान गर्न यूएनडीपी तथा यूएनओप्ससँग साझेदारी गरिरहेको छ ।

चेक हस्तान्तरणका अवसरमा भूकम्पपश्चात्को पुनर्निर्माणमा भारत सरकारले प्रदान गरेको अटुट तथा उदार मानवीय सहयोगका लागि नेपाल सरकारका तर्फबाट सराहना व्यक्त गरियो भने सोही अवसरमा उक्त साझेदारीका लागि नेपाल सरकारलाई धन्यवाद व्यक्त गर्दै राजदूत पुरीले भारत सरकार तथा भारतीय जनता नेपालमा भूकम्पपश्चात्को पुनर्निर्माण परियोजना पूरा गर्न प्रतिबद्ध रहेको दोहोऱ्याउनुभयो ।