कालीगण्डकी : विकाससँगै यौन विकृति भित्रियो

(२० वर्षअघिको घटना र विचार)





कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाको कारण आयोजनानजिकका गाउँलेहरू अनेकौँ समस्याबाट पीडित रहेको चर्चाहरू त चलिरहेकै छन्, यस अलावा गाउँहरूमा थुप्रै विकृति पनि भित्रिएका छन् । आयोजना शुरु हुनलाग्दा यस्तो परिणाम आउँछ भनेर कसैले पनि सोचेका थिएनन् । अहिले उनीहरूको सामु पछुतो गर्नुबाहेक अर्को कुनै विकल्प छैन ।

सन् १९९७ देखि निर्माणकार्य शुरु गरिएको यो आयोजनामा एसियाली विकास बैंक र जापानको ओभरसिज इकोनोमिक को–अपरेसन फन्डगट ३३० मिलियन डलर र नेपालले १३२८ मिलियन डलर लगानी गर्नेछ । आयोजना सम्झौतापत्रअनुसार तीस अर्ब ७९ करोड ४ लाख रुपैयाँ परियोजनाको कुल लागत मानिएको छ । हाल कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाको ६० प्रतिशत निर्माणकार्य सम्पन्न भइसकेको बताइन्छ ।

परियोजना निर्माणकार्यको क्रमसँगै यसका आसपासमा रहेका गाउँमा विकृतिले जरो गाडेकोे छ । तैपनि गाउँले मूकदर्शक भएर बस्न बाध्य छन् । केही समयअघि कृष्णगण्डकी गाउँ विकास समितिको मिर्मीमा स्थानीय बासिन्दाले एकजना युवती र परियोजनामै काम गर्ने एक मजदुरलाई अभिसाररत अवस्थामा रङ्गेहात पक्राउ गरेका थिए । शिक्षक शिवराज भट्टराईका अनुसार रङ्गेहात पक्राउ परेकी निज युवतीलाई त्यसपछि गाउँबाटै धपाइयो । शिक्षक भट्टराई ‘घटना र विचार’सँग भन्छन्, ‘अझै पनि गाउँमा यौन व्यापार गर्ने महिलाको सङ्ख्या कम छैन ।’ यो जलविद्युत् परियोजनामा काम गर्न आएका मान्छेको कारण स्थानीय गाउँहमा जनसङ्ख्याको चाप मात्र बढेको छैन, यौनविकृति पनि त्यसरी नै वृद्धि भएको छ । परियोजनामा काम गर्न आएकाहरू नै यौन व्यापारी महिलाको ग्राहक हुन् । यसरी वेश्यावृत्ति गर्ने महिला स्थानीय गाउँघरका भने होइनन् । गाउँलेहरू त्यस्ता महिला अन्तैतिरबाट आई गाउँमा डेरा लिएर बस्ने गरेको बताउँछन् । यसमा गाउँलेको संलग्नता पनि छैन । वेश्यावृत्ति गर्ने महिला र पुरुष दुवै बाहिरका हुन्छन् ।

गाउँले जनजीवनमाझ यसरी झाङ्गिएको वेश्यावृत्तिका कारण रैथानेहरू भने वाक्कदिक्क भएका छन् । वयोवृद्ध रुकभगत भट्टराई भन्छन्, ‘अब त गाउँ पनि गाउँजस्तो लाग्न छाड्यो ।’ अधिकांश गाउँले जीवनको उत्तरार्ध टेकिसकेका रुकभगतको धारणासँग सहमत छन् । आयोजना आउनुअघिको स्थानीय गाउँघर जहाँ विशिष्ट गाउँले जनजीवनको छाप पाइन्थ्यो, तर परियोजना शुरु भएपश्चात् काम गर्न गाउँ भित्रिनेहरूले भित्र्याएको छाडापन र विकृतिले त्यो छाप धुमिलिन गएको छ । ‘यहाँ कति कुरा देखेर पनि नदेखेकोजस्तो गर्नुप¥या छ । कसलाई भन्ने कसलाई सुनाउने हाम्रो समस्या ?’ वयोवृद्ध भट्टराईले घटना र विचार प्रतिनिधिसँगको कुराकानीमा आफ्नो धारणा राख्दै भन्नुभयो । स्थानीय बासिन्दाहरू गाउँमा झाङ्गिएको यौन विकृतिबाट चिन्तित छन् । अझ यसबाट बालबालिकाहरूमा पर्ने मनोवैज्ञानिक असरको परिणाम पनि उत्तिकै भयानक हुन्छ । शिक्षक शिवराम भन्छन्, ‘यस्तो वातावरणमा हुर्केका केटाकेटीमा कस्तो मनस्थिति विकास हुने हो ? उनीहरूको भविष्य सम्झँदै कहाली लागेर आउँछ ।’ वास्तवमा कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनानजिकका गाउँमा यो एउटा गम्भीर समस्या नै बनेको छ ।

गाउँघरमै डेरा लिएर वेश्यावृत्तिमा लागेका महिलाबाहेक विपन्न जातका महिला पनि यौन व्यापारमा संलग्न रहेको पाइएको छ । गरिबीकै कारण उनीहरू यसो गर्न बाध्य भएका छन् । परियोजना शुरु भएदेखि नै यो धन्दा, उनीहरूको लागि आम्दानीको राम्रो स्रोत बनेको छ । कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनादेखि पूर्वमा रहेका गाउँमा तल्लो जात मानिने दमिनी, कमिनी र सर्किनी जातका युवती यस्तो धन्दामा लागेका छन् । तिनीहरूको सङ्ख्या विगतको तुलनामा धेरै वृद्धि भइसकेको एक स्थानीय व्यक्तिले बताए ।

ती मजदुरी गर्न आएकाबाट गाउँले महिला पनि असुरिक्षत हुन थालेका छन् । ‘यहाँका महिलाले एकै घाँस, दाउरा गर्न सक्ने अवस्थासम्म छैन । आयोजनामा कार्यरत कामदार छोरीचेलीलाई एक्लै देख्नासाथ जिस्क्याउने तथा अनैतिक फाइदा लिन खोज्ने गर्छन्,’ शिवराम भट्टराई वास्तविकता खोल्दै भन्छन् । महिलाहरू असुरक्षित हुने भएकोले नै आयोजना शुरु भएयताका वर्षहरूमा तिज पनि खल्लो बनेको छ । परियोजना शुरु हुनुअघिसम्म तिजको बेला रात अबेरसम्म गाउँमा भेला भएर नाचगान गरिन्थ्यो । कृष्णगण्डकी गाविसका बासिन्दाहरूलाई त्यो रमाइलो अब सम्झना मात्र भएको छ । भट्टराईलाई तिजमा नाचगान गर्न छोड्नुको कारण सोध्दा उनी परियोजनामा काम गर्न गाउँमा बसेका मान्छेहरूलाई दोष दिनुहुन्छ । ‘तिजमा रमाइलो गर्दा जाँडरक्सी खाएर होहल्ला गर्ने, झगडा गर्न खोज्ने र छोरीचेलीहरूलाई खराब दृष्टिले हेर्ने तिने मान्छेहरूको कारण यो प्रचलन रोकियो,’ उहाँको थप भनाइ थियो । तिजमा मात्र होइन अरू चाडमा पनि अब यहाँका महिलाहरू राति भेला भएर रमाइलो गर्न छाडेका छन् असुरक्षित महसुस भएकोले । – अर्जुन सुब्बा

(घटना र विचार साप्ताहिक, २०५६ माघ २६)

प्रतिक्रिया