नीति तथा कार्यक्रम पारित, प्रतिपक्ष असन्तुष्ट

नीति तथा कार्यक्रम पारित, प्रतिपक्ष असन्तुष्ट


गण्डकी प्रदेशसभाको सोमबारको बैठकले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रदेश प्रमुख बाबुराम कुँवरले यही जेठ २४ गते प्रदेशसभामा प्रस्तुत गरेको उक्त नीति तथा कार्यक्रम बहुमतद्वारा पारित भएको हो ।

यसअघि भएको छलफलमा सत्तापक्षीय प्रदेशसभा सदस्यले नीति तथा कार्यक्रमले ‘समृद्ध प्रदेश सुखी नेपाली’को लक्ष्यलाई आत्मसात् गरेको बताए । प्रतिपक्षी दलका प्रदेशसभा सदस्यले नीति तथा कार्यक्रम अघिल्लो वर्षकै निरन्तरता भएको र विशिष्टिकृतरुपमा आउन नसकेको धारणा राखेको थियो । बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले अघिल्लो वर्षको कार्यक्रम कार्यान्वयन भए/नभएको विषयबारे समीक्षा गर्नुपर्ने बताए । उनले गण्डकीलाई राम्रो बनाउने कुरामा सत्तापक्ष र प्रतिपक्ष दुवैको साझा सङ्कल्प भएको बताए ।

प्रदेशसभा सदस्य मायानाथ अधिकारीले नेपालको पछिल्लो परिवर्तन केवल पात्र र नेतृत्व मात्र परिवर्तन नभई प्रणालीमा नै परिवर्तन भएको बताए । प्रदेशसभा सदस्य कुमार खड्काले नीति तथा कार्यक्रममा नविनताको अभाव तथा महत्वाकाङ्क्षी रहेको बताए । प्रदेशसभा सदस्य पियारी थापाले नीति तथा कार्यक्रममा पुरानै कुरालाई प्रस्तुत गरिएको बताइन् ।

कार्यक्रममा अधिकांश प्रदेशसभा सदस्यले प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए । नीति तथा कार्यक्रममाथि प्रदेशसभा सदस्य विष्णुप्रसाद लामिछाने र हरिशरण आचार्यले संशोधन प्रस्ताव दर्ता गरेकोमा त्यसलाई सभाले बहुमतद्वारा अस्वीकृत ग¥यो । प्रदेशसभा सदस्यको प्रश्नको जवाफ दिँदै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्राप्त सुझावलाई आत्मसात् गरिने बताए । प्रदेशको समृद्धि र विकासका लागि सबैसँग सहकार्य गर्दै अघि बढ्ने उनको भनाइ थियो ।