एसियन भलिबलको लागि महासंघको ४० लाखको प्रायोजन

एसियन भलिबलको लागि महासंघको ४० लाखको प्रायोजन


नेपालमा आयोजना हुने एसियन भलिबल कन्फेडेरेशन (एभीसी) एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगितालाई नेपाल उद्योग वाणिज्य महासंघले प्रायोजन गरेको छ । नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा र नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठबीच प्रायोजनसम्बन्धी सम्झौता पत्र आदनप्रदान भएको छ ।

नेपालमा हुने ऐतिहासिक प्रतियोगिताका लागि महासंघले ऐतिहासिक ४० लाखको प्रायोजन गरेको छ । पत्रकार सम्मेलनमा महासंघका उपाध्यक्ष श्रेष्ठले संघका अध्यक्ष शर्मालाई डमी चेक हस्तान्तरण गरे । सम्झौतापश्चात श्रेष्ठले कुनै पनि खेल मनोरञ्जनका लागि मात्र नभै ब्यवसायिक हुनुपर्नेे धारणा ब्यक्त गरे ।

भलिबल देशको हरेका भूभागमा खेलिने राष्ट्रिय खेल भएकाले यसको विकास विस्तार र प्रवद्र्धनमा महासंघ सदैव हातेमलो गर्न तयार रहको पनि श्रेष्ठले सो अवसरमा जानकारी गराए । नेपाल भलिबल संघका अध्यक्ष शर्माले सेन्टर जोन भलिबल प्रतियोगिता नेपालकै प्रतिष्ठाको बिषय भएकाले यसको भब्य सफलताका महासंघले पुऱ्याएको सहयोग अतुलनीय रहेकको धारणा ब्यक्त गरे ।

सो अवसरमा नेपाल भलिबल संघकी सदस्य समेत रहेकी अनल ज्योति विद्यालयकी संस्थापक निर्देशक ज्योति केसीले १ लाख, भलिबल संघका सचिव समेत रहेका ढोरपाटन भलिबल क्लबका अध्यक्ष मनवीर छन्त्यालले १ लाख रुपैयाँ दिने घोषणा गरेको थिए । नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले प्रतियोगिताका लागि अनुमानित २ करोड ५० लाख रुपैयाँ खर्च लाग्ने बताए ।

साउन ३२ देखि भदौ ८ सम्म चल्ने प्रतियोगितामा नेपाल, बगंलादेश, मालदिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्क्मिनिस्तान, उज्वेकिस्तान गरि ७ देशले प्रतिस्पर्धा गर्ने निश्चित छन् । लिगकम नकआउटका आधारमा संचालन हुने प्रतियोगिताका सहभागि टोलीलाई २ समुहमा विभाजन गरिने छ ।

प्रतियोगिता स्थल पहिलो रोजाई राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहल भए पनि बिकल्पको रुपमा लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा हुने महासचिव चन्दले बताए ।