सातौं ऊर्जा सम्मेलन मंसिरमा

सातौं ऊर्जा सम्मेलन मंसिरमा


आगामी मंसिर ५ र ६ गते ऊर्जा सम्मेलन (पावर समिट) हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) को अग्रसरतामा विदेशी अनुभव र प्रविधि हस्तान्तरण गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिन लागेको हो ।

ऊर्जा विकासमा अन्तराष्ट्रिय सफल उदाहरण प्रस्तुत गर्दै अनुभव आदानप्रदानबाट नीतिगत सुधारमा योगदान पुर्याउने सम्मेलनको लक्ष्य छ । इपानले यसको तयारी सुरु गरिसकेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले समेत सम्मेलनको अग्रसरता लिने बताइएको छ । इपानले आयोजना गर्न लागेको यो सातौं सम्मेलन हो । यसअघि २०७३ मंसिर ३० र पुस १ गते छैटौं सम्मेलन भएको थियो । इपानको पहलमा ‘सूर्यास्तसम्म १० हजार मेगावाट’ नारा राखेर भएको छैटौं सम्मेलन भएको थियो । यसअघि सन् २००६, २००७, २००८, २०१२ र २०१३ मा पनि सम्मेलन भएको थियो । सन् २००६ र ०७ मा भएको सम्मेलनले ‘जलविद्युतमा लगानीको अवसर’ भन्ने मुद्दालाई प्राथमिकता दिएको थियो ।

सन् २००८ को सम्मेलन आयोजना निर्माण तथा विद्युत उत्पादन गर्नुपर्नेमा केन्द्रित रह्यो । यस्तै, सन् २०१२ को सम्मेलनले स्वदेशी र विदेशी लगानीकर्ताबीचको सम्बन्ध तथा लगानी आदानप्रदानमा जोड दिएको थियो । सन् २०१३ को सम्मेलनमा ‘जलविद्युत उत्पादनमा हतार’ भन्ने नारा राखिएको थियो ।

विगतदेखि सम्मेलन गर्दै आए पनि यसका सफलता र असफलता केलाउने प्रयास भने गरिएको छैन । सम्मेलनपछि के कति लगानी भित्रियो वा सरकारले कहाँनिर सहयोग गरेन भन्ने विषयमा विवेचना गर्नुपर्ने इपानका अध्यक्ष शैलेन्द्र गुराँगाईले जनाकारी दिए ।