श्वेता र सुरेन्द्र सिड्नीमा

श्वेता र सुरेन्द्र सिड्नीमा


  • राजन घिमिरे

गैरआवसीय नेपाली संघ अष्ट्रेलियाको आयोजनामा यतिबेला अष्ट्रेलियाका विभिन्न राज्यमा परोपकारी कार्यको लागि कोष संकलन कार्यक्रम भइरहेको छ । यसै सिलसिलामा एनएस डब्लू राज्यमा पनि आज (जुन १०)मा कार्यक्रम हुँदैछ । मे २६ मा हुने भनिएको यो परोपकारी रात्री भोज प्राविधिक कारणवस जुन १० का लागि सारिएको थियो ।

यस कार्यक्रममा सहभागी हुन नेपालबाट शनिबार अभिनेत्री श्वेता खड्का र राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी सिड्नी पुगेका छन् । अर्की अतिथि स्कुल तथा पुनर्स्थापना केन्द्रकी अध्यक्ष सविता उप्रेती यसअघि नै अष्ट्रेलिया पुगेकी थिइन् । कार्यक्रम सिड्नीको रगडेलमा रहेको इन्द्रेणी फङ्सन सेन्टरमा हुने कुरा कार्यक्रमकी संयोजक सन्ध्या शाहले जानकारी दिइन्।

बाबा एजुकेशन कन्सल्टेन्सी र आरकेएस अष्ट्रेलियाले सहभागिता रहेको यो कार्यक्रम एनआरएन कोषको रकम वृद्धिका लागि आयोजना गरिएको बताइएको छ । एनआरएन कोष वृद्धि र अस्ट्रेल्यावासी नेपालीलाई स्वदेशसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संयोजक शाहले बताइन् ।

एनआरएनएको कोष वृद्धिका लागि एनआरएन कार्यसमितिले आफ्नो कार्यकालको अन्तिम कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा सिड्नीवासी सम्पूर्ण नेपालीलाई सहभागिताका लागि संयोजक शाहले अनुरोध गरेकी छन् । शुभ कार्यका लागि अष्ट्रेलिया आउन पाएकोमा अभिनेत्री श्वेता खड्काले खुशी ब्यक्त गरिन् । ‘सामाजिक कार्यको एउटा अंश हुन पाउनु पनि मेरो भाग्य हो’, श्वेताले भनिन् । कार्यक्रमका अर्का अतिथि राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले प्रवासमा रहनु भएका नेपालीहरूको निमन्त्रणामा अष्ट्रेलिया पुग्न पाएकोमा खुशी ब्यक्त गरे ।

‘एनआरएनएको यो सकारात्मक सोच र विचारको अरूले पनि सिको गर्न सक्नु पर्छ । प्रवासी जीवनको ब्यस्ततामा पनि आफ्नो मुलुक र परोपकार कार्यप्रतिको जिम्मेवारी बहन गर्न सक्नु स्वागतयोग्य काम हो’, केसीको भनाई थियो ।