कलाकार संघको अध्यक्षमा रवीन्द्र खड्का विजयी

कलाकार संघको अध्यक्षमा रवीन्द्र खड्का विजयी


नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा अभिनेता रवीन्द्र खड्का विजयी भएका छन् । खड्काले राजधानीमा शनिबार सम्पन्न संघको १७औँ अधिवेशनमा प्रतिद्वन्द्वी अभिनेत्री सरिता लामिछानेलाई पराजित गरेका हुन् । निर्वाचनमा खड्काले २१८ र लामिछानेले १६१ मत प्राप्त गरेका थिए ।

त्यसैगरी संघको उपाध्यक्षमा सानुकुमार ताम्राकार र रेजिना उप्रेती विजयी भए । उनीहरूले मनोजकुमार केसी र विनोदकुमार भट्टराई पराजित गरेका हुन् । संघको महासचिवमा चेतबहादुर सिंह र सचिवमा पनाह अधिकारी विजयी बने ।

कोषाध्यक्ष पदमा भने सुनील कटुवाल निर्विरोध चयन भएका थिए  । सहकोषाध्यक्षमा पवित्रा आचार्य निर्वाचित भइन् । विजयी हुनेमा सानुकुमारबाहेक सबै खड्काकै प्यानलका उम्मेदवार हुन् ।

०४८ मा विधिवत् रूपमा गठन भएको कलाकार संघको पहिलो अध्यक्ष पनि खड्का नै हुन् । उनी पुनः २८ वर्षपछि अध्यक्षको जिम्मेवारीमा आएका हुन् ।