विप्रेषण शेयर बजारमा ल्याउने उपाय खोजौँ : अर्थमन्त्री

अर्थमन्त्री डा युवराज खतिवडाले विप्रेषणबाट प्राप्त भएको रकमलाई शेयर बजारमा लगाउने उपायको खोजीमा लाग्न नेपाल धितोपत्र बोर्ड तथा बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेका छन् ।

विप्रेषणबाट प्राप्त हुने रकम घरजग्गालगायत अन्य दैनिक उपभोगका क्षेत्रमा मात्रै खर्च भइरहेकाले सो रकम शेयर बजारमा मात्रै लगाउनसके अर्थतन्त्रमा केही न केही सुधार हुने अर्थमन्त्रीको सङ्केत थियो ।

नेपाल धितोपत्र बोर्डको २७औँ वार्षिकोत्सवमा मन्त्री खतिवडाले देशको अर्थतन्त्र क्रमशः सबल बन्दै गएकाले त्यसको प्रतिविम्बन शेयर बजारमा पनि देखिने उल्लेख गरे । मन्त्री खतिवडाले शेयर बजारलाई अनावश्यकरुपमा बढाउने र घटाउने प्रवृत्तिको निरुत्साहनका लागि पनि सम्बद्ध निकायले ध्यान दिनुपर्ने बताए ।

बजारमा देखिएका अन्योलता हटेको र सुधारको प्रक्रिया अगाडि बढेको उल्लेख गर्दै उनले शेयर खरीद बिक्रीमा लाग्ने पूँजीगत लाभकर ७.५ प्रतिशतबाट घटाएर पाँच प्रतिशतमा झार्ने प्रस्ताव गरिएकाले अन्योलता हटेकाले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । उनले शेयर बजारमा महिलाको सहभागिता बढाउनुपर्नेमा समेत जोड दिए । अर्थमन्त्रीले भने, ‘हामीले घरजग्गा रजिष्ट्रेशनमा छुट दिएर हे¥यौँ । शहरी घरजग्गामा महिलाको स्वामित्व आठ प्रतिशतबाट बढेर २८ प्रतिशत पुगेको छ । सानो एउटा सुधारले पनि ठूलो प्रभाव पर्छ ।’

शेयर बजारमा महिलाका स्वामित्व लगानी बढाउन अवलम्बन गर्नुपर्ने उपायको गृहकार्य बोर्डले गर्नुपर्ने अर्थमन्त्रीको जोड थियो । कार्यक्रममा बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले बोर्डको गतिविधिका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया