नागरिक र कार्यकर्ता फरक हुन् ?

नागरिक र कार्यकर्ता फरक हुन् ?


■ स्वयम्भूनाथ कार्की

दुईतिहाइ प्राप्त (?) सरकारका गृहमन्त्रीले संसदमा नागरिक र कार्यकर्ता फरक भनेर भने । यो दुईतिहाइ भनेको संसदमा भएको दुईतिहाइ बहुमतले बनाएको सरकार हो । संसदीय व्यवस्थामा संसद्ले कानुनन स्त्रीलाई पुरुष र पुरुषलाई स्त्री पनि बनाउन सक्छ भन्ने भनाइ छ । किनभने संसद्ले कानुन बनाउँछ, त्यो कानुनले सरकार र न्यायालय चल्नुपर्छ । अनि मुलुकमा बस्ने कुनै पनि व्यक्तिले त्यो मुलुकको कानुन मान्नैपर्छ । अझ नागरिकले त मुलुक छोडे पनि आफ्नो मुलुकको कानुन मान्नैपर्छ । अर्को मुलुकमा गएको कानुन तोड्नेलाई त्यहाँबाट सुपुर्दगी गराएर ल्याउन सकिन्छ ।

सरकार बन्दछ संसदमा बहुमत प्राप्त संसदीय दलको नेता । दलका सदस्यहरूले नेताको रायमा विमति राख्न पाउन्नन् । यदि राखेमा अनुशासनात्मक कारबाही भएर आफ्नो पद नै गुमाउन सक्छन् । अझ यो कुरा मान्नैपर्छ भन्ने ह्विप अर्थात् कोर्रा हान्ने विधि पनि छ । त्यसैले संसदमा हुने कुनै छलफलमा सांसदहरूको रुचि हुन्न । हाजिर गरेर टाप ठोक्ने अर्थात् हाटा गर्ने परिपाटी लोकप्रिय छ । संसदमा जनताको निमित्त महत्वपूर्ण छलफल भइरहेको अवस्थामा अपवादबाहेकका खाली कुर्सी त्यसैको प्रमाण हो । ठीकै त हो छलफलको नाममा एकतर्फी भाषण सुनेर हुन्छ नै के पो र ? कसैको कुरा सुनेर धारणा बनाउन पाइने भए पो रुचि लिएर सुन्नु । प्रस्ताव पेस नहुँदै के धारणा बनाउनुपर्ने हो त्यो निर्देशन प्राप्त भइसकेको हुन्छ ।

एक नागरिकबाट दलको कार्यकर्तामा रूपान्तरण हुन्जेल त्यो व्यक्तिले लामो कायाकल्प प्रक्रिया पार गरेको हुन्छ । जीवविज्ञानमा ‘मेटामर्फोसिस’ भनिने यो कायाकल्प अण्डाबाट लार्भा, लार्भाबाट प्युपा अनि प्युपाबाट किट बन्दा भौतिक रूपमा नै देखिन्छ । यो प्रक्रियामा स्वरूप बदलिएको हुन्छ, त्यो सँगसँगै गुणधर्म पनि । फुलबाट निक्लेको खन्चुवा लार्भाले टन्न खाइसकेपछि प्युपाको रूपमा तपस्या गर्छ, आफ्नै खोलभित्र आफैंले रोजेको कैद भुक्तान गर्छ अनि बन्छ किट । त्यसपछि यसको सहनसहन, खानपान सबै बदलिन्छ । नागरिकबाट कार्यकर्तामा कायाकल्प हुँदा भने बाहिरी आकारप्रकारमा कुनै फरक आउन्न, तर व्यवहार, रहनसहन बदलिन्छ ।

बिस्तारै नागरिकको कर्तव्यबाट विमुख हुन्छ, अधिकारको दाबी गर्छ । आफ्नो, परिवारको, समाजको यहाँसम्म कि देशको चिन्ता छोड्दै जान्छ । क्रमशः नाराको, पालन गर्नु नपर्ने सिद्धान्तको, दलको अनि उत्कर्षमा नेताको चिन्ता उसको निमित्त प्रमुख हुन्छ । आफ्नो मातापिता, भाइबहिनी बन्धुवान्धव आदिको निमित्त चुइँक्क नबोल्ने ऊ नेताको आदेशमा ज्यानै विसर्जन गर्न तयार हुन्छ । यसरी एक व्यक्ति नागरिकबाट कार्यकर्ता, कार्यकर्ताबाट राजनीतिक पदाधिकारी अनि विरलै कोही नेतासम्म कायाकल्प हुन्छ । अब यो कायाकल्प त्यो व्यक्तिको उत्थान हो वा पतन यो भने हरेकले आ–आफ्नो किसिमले निर्क्योल गर्नुपर्ने हुन्छ ।

मूल कुरा के हो भने दुईतिहाइ सरकारका शक्तिशाली गृहमन्त्रीले सदनमा दिएको जवाफ एकदम ठीक हो । त्यो ७६ जेठ १२ को विस्फोटनमा ज्यान गुमाउने कार्यकर्ता नै थिए । चाहे जिब्रो चिप्लिएर होस् वा जानाजान उनले यो सत्य उजागर गरिदिए । अरूहरूले देखेजस्तै नेतृत्वले पनि कार्यकर्ताहरूलाई नागरिक होइन कार्यकर्ता नै देख्छ भन्ने स्वीकार गर्ने हिम्मत गरे । दश वर्षसम्म जनयुद्धको आगोमा दाउरा भएर होम्मिनेहरू अहिले पनि तातो बालुवामा बेल्चा हानेर पनि किन आफ्नो दललाई लेभी पठाउँछन् भन्ने प्रस्ट गरिदिए । नत्र भने यस्तैहरूको बलिदानमा बनेको सरकारले नागरिकहरूको निमित्त त दाबीअनुसार थुप्रै गरेको छ । त्यो कार्यकर्तालाई होइन किनभने कार्यकर्तामा कायाकल्प भइसकेपछि ऊ नागरिक होइन । उसले अब कि राजनीतिक पद पाउँछ, नेता बन्छ कि यसै जीवन सकिएर जान्छ ।

कार्यकर्ता यो लेखेबापत मलाई गाली गर्न स्वतन्त्र छन् । किनभने म नेता होइन, कार्यकर्ता पनि होइन नागरिक हुँ । तर, एकपल्ट एकान्तमा यो कुरा मनन गरून्– यदि सही लागे फेरि कार्यकर्ताबाट नागरिकमा कायाकल्प हुने प्रयत्न गरून् । नत्र त भिरबाट खस्न लागेको …लाई राम–राम मात्र भन्न सकिन्छ ।