नागरिकको स्वतन्त्रता विरोधी कुनैपनि विधेयक संसदबाट पारित हुन दिन्नौं : देउवा

नागरिकको स्वतन्त्रता विरोधी कुनैपनि विधेयक संसदबाट पारित हुन दिन्नौं : देउवा


नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नागरिकको स्वतन्त्रता विरोधी कुनैपनि विधेयक संसदबाट पारित हुन नदिने बताएका छन् । नेपाली काङ्ग्रेसले शुरु गरेको जागरण अभियानअन्तर्गत पहिलो चरणको अभियान समापनको क्रममा लमजुङमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै सभापति देउवाले यस्ता बताएका हुन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले सरकारले हचुवा र लहडका भरमा विधेयक ल्याएको भन्दै काङ्ग्रेसले त्यसको खुलेर विरोध गर्ने स्पष्ट पारेका छन् । वर्तमान सरकार लोकतन्त्रको खिलापमा लागेको उनको आरोप थियो । ‘लामो संघर्ष र बलिदानबाट प्राप्त प्रजातन्त्र र नागरिकको स्वतन्त्रता नेकपा नेतृत्वको सरकारले हनन गरेको छ ।’ उनले भने, ‘ओली सरकारले स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता, स्वतन्त्र मानव अधिकारप्रति हस्तक्षेप गर्दै अघि बढेको छ । एक न एकदिन ठक्कर खान्छ ।’

ओली नेतृत्वको सरकारको क्रियाकलापबारे आम नागरिक सचेत रहनु आवश्यक रहेको भन्दै सभापति देउवाले प्रजातन्त्रका लागि फेरी पनि लड्नुपर्ने अवस्था आएको धारणा व्यक्त गरे । उनले सबै नेता तथा कार्यकर्ताहरु एक ढिक्का भएर अघि बढ्न सुझाव दिएका छन् । उनले भने, ‘अब एकआपसमा छुट्टिएर होइन् एकजुट भएर अघि बढनुपर्ने बेला आएको छ ।’

कार्यक्रममा नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले काङ्ग्रेसले मुलुकमा शान्ति र संविधानको नेतृत्व नगरेको भए अझैपनि मुलुकमा द्धन्द रहिरहने तर्क गरे । उनले काङ्ग्रेसका कारण नै आम नागरिकले स्वतन्त्रता पाएको भन्दै अहिलेको अधिनायक सरकारले नागरिकको स्वतन्त्रता हननको प्रयास गरेको आरोप लगाए ।

लमजुङका सभापति भेषबहादुर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य दीलबहादुर घर्ती, कमला पन्त, केन्द्रिय सदस्य एवं नेपाल महिला संघकी केन्द्रिय सभापति डा. डिला संग्रौला लगायतले अब एक भएर लाग्नुपर्ने बताए ।