सामाजिक सेवाको ढोंग र पानीको फोका !





  • रविचन्द्र भट्टराई

संसार परिवर्तनशील छ, जन्म र मृत्यु यसको सबैभन्दा ठूलो प्रमाण हो । ठूला–ठूला घमण्ड र हठहरू पनि उचित समयपछि हावामा बिलाएर जान्छन् । सत्य भन्ने कुरा केही छैन भने पनि त्यसको विश्वास गर्न सक्ने चेतना नै सत्य हो । चेतनाको स्तरले जुन कुरा ठीक छ भन्छ त्यही सत्यजस्तो लाग्छ । तर, यी सबै कुरा आध्यात्मिक मात्र हुन्, यथार्थमा सधैँ मिल्दैन । हाम्रो जीवनको एउटा धरातल छ, त्यो धरातललाई अवलोकन गर्ने दुई आँखा छन् । सुन्ने कान छन् र बुझ्ने मन छन् । यी तीनै तत्वको अवलोकन अनुभव गरी सत्यको वकालत गर्ने हामीसँग वचन छन् । त्यसैले जे सुनेको छ, जे देखेको छ र मनले जे बुझेको छ त्यही सस्तोजस्तो लाग्छ र यी वचनहरू त्यसको वकालत गरेर प्रमाणित गर्न मरिहत्ते गर्छन् । अहिलेको समाज र यो समाजको यथार्थ ओकलेको सामाजिक सञ्जाल यसका वास्तविक उदाहरणहरू हुन् ।

म छु, मेरो परिवार छ, हाम्रो समाज छ, हाम्रो गाउँ–शहर छ, हाम्रो देश छ र त हाम्रो संसार छ । यो नै यस धरातलको जिउने आधारभूत व्यवस्थाहरू हुन् । म एक नम्बरमा छु भने संसार अन्तिम नम्बरमा छ । म संसार बनाउँछु भनेर निस्किएँ भने गाह्रो नबनाउँदै घरको छत बनाउँछु भनेजस्तो हुन्छ । त्यसकारण सबैभन्दा पहिला जसरी घरको जग खनेर गाह्रो बनाउँदा पछि छानो हाल्न सकिन्छ त्यसरी नै मैले मेरो परिवार बनाएँ, अर्काेले अर्काे परिवार बनायो भने समाज बन्छ । समाज राम्रो बन्यो भने गाउँ अथवा शहर राम्रो बन्छ । अनि बन्छ देश अनि बन्छ संसार । तर, नेपाली परिवेशमा यो पटक्कै मिलिरहेको छैन । आफू नै भताभुङ्ग भएर अरू बनाउँछु भन्दै हिँड्ने समाजसेवी, आफ्नो परिवार नै व्यवस्थापन नगरेर समाज बनाउँछु, देश बनाउँछु भन्दै अगाडि बढ्ने पत्रकार अनि आफ्नो कर्तव्य गरिरहेकाहरूलाई मानवबाट देवता बनाउने हाम्रो सामाजिक सञ्जाल । यी सबै एकछिनका ओभानो हुन् । यी छिनका ओभानोहरूको कुनै पनि धरातल हुँदैन ।

हामी यस धरातलमा जन्म लिएपछि कुनै पनि क्रियाकलापको अवस्थामा चाहिने विभिन्न शक्तिहरूलाई चाहिएको बेलामा टेवा दिने धरातल नै हुनुपर्छ । विभिन्न शक्तिहरूको सुरक्षित व्यवस्थापन गर्ने धरातल भएन भने एक दिन सजिलै भुइँचालो आएर जमिन हल्लाएजस्तै गरी त्यो नाम मात्रको फेमलाई सर्वनास पार्नेछ । चाहे ती जतिसुकै इमानदार किन नहुन् । चाहे ती रमेश खरेल हुन् या सर्वेन्द्र खनाल, चाहे कुलमान हुन् या रवि लामिछाने, या धुर्मुस्–सुन्तली । यी सबै छिनका ओभानो हुन् । जुन भिडमा यो समाज रमाइरहेको छ यो भ्रममा आधारित छ र यसको कुनै धरातल छैन भन्दा अचम्म लाग्ला, तर विश्व समाजलाई नियालेर हेर्ने हो र आजसम्म भएका संसारका हरेक विकासका प्रक्रियालाई हेर्ने हो भने कुनै पनि देश एउटा व्यक्तिले बनेको कहीँ कतै उदाहरण छैन ।

कुनै पनि देश एउटा कलाकारले निर्माण गरेको वा पत्रकारले सबैलाई अन्यायमुक्त पारेको कुनै झिल्कोसमेत पाउन सकिँदैन । देश बनाउने जिम्मा सरकारको हो सरकार जुनसुकै पार्टीको किन नहोस्, त्यो चुन्ने जनता हो । यो सरकारले गर्न नसके अर्काे ल्याउनुपर्छ । यस पार्टीको सरकारले नसके अर्काे पार्टीले सक्छ, तर एउटा कलाकारले देश बनाउँछु भन्दै, एउटा पत्रकारले सबैलाई न्याय दिन्छु भन्दै सरकार कमजोर पार्ने काम समाज र यो समाजभित्र उब्जिने सञ्जालले गर्नु भनेको समयको बर्बादी मात्र हो । र, यो सञ्जालमा यस्ता क्रियाकलापलाई साथ दिनेहरू ती हुन् जसले सामान्य राज्य संरचना र व्यवस्थापन कसरी हुन्छ भन्ने पनि बुझेका हुँदैनन् । तर, यिनीहरूमा देशभक्तिको भावना यति बलियो हुन्छ कि सामाजिक सञ्जालबाटै मर्न पनि तयार भएको बुझिन्छ । त्यही देशभक्तिको बलियो फाइदा उठाइरहेका छन् । यी देश विकासका लागि हिँडेका व्यक्तिगत न्यायपालिकाहरू र व्यक्तिगत रूपमा राज्य विकासका ठेक्का लिएकाहरूले ।

जबसम्म हामी राज्य चलाउने ड्राइभरको साथमा हुँदैनौँ अथवा सक्षम ड्राइभर राख्दैनौँ– हामी एउटा त के, सय धुर्मुसे जन्मिए पनि अथवा सय रवि लामिछाने भए पनि सब एकछिनको ओभानोमा मात्रै सीमित हुनेछ । समय सकिन्छ अनि पर्दा खस्छ । समृद्धिबिनाको जनता जहाँको तहीँ ।

यतिखेरका चर्चित पत्रकार रवि लामिछानेले जति नै अन्यायमा परेकाहरूलाई न्याय दिलाए पनि, अथवा धुर्मुस–सुन्तलीले जति नै सेवाका आधारस्तम्भहरू तयार पारे पनि देश परिवर्तन हुने होइन । किनकि गाडी चलाउन ड्राइभरको सिटमा बस्नैपर्छ, पछाडिबाट धकेलेर गाडी चलाउनु खोज्नु ठूलो दुर्घटनाको तयारी मात्र हो । देशप्रतिको भावना तीन करोड नेपाली सबैलाई छ । सबै चाहन्छन् देशले प्रगति गरोस् । खाडीमा बसेका नेपालीहरूले दुःख के हो अरूले भन्दा धेरै बुझेका छन् । युरोप अमेरिकामा बस्ने नेपालीले राज्यको आधुनिक व्यवस्थापन के रहेछ अरूले भन्दा राम्रोसँग व्याख्या गर्न सक्छन् अनि त्यसको पीडा पोख्छन्, सञ्जालमा र नेतालाई थुक्छन् । न एउटा रवि लामिछानेले देशमा न्याय दिलाउन सक्छ न एउटा धुर्मुसले समृद्धि ल्याउन सक्छ । देशमा समृद्धि ल्याउने त्यसले हो जसले राज्यको सिटमा बसेर राज्य चलाउँछ । न कुलमानले, न सर्वेन्द्र खनालले यिनीहरूले त आफ्नो–आफ्नो कर्तव्य पालन गरेका छन्, एक दिन समय सकिन्छ र पर्दा खस्छ । जबसम्म हामी राज्य चलाउने ड्राइभरको साथमा हुँदैनौँ अथवा सक्षम ड्राइभर राख्दैनौँ– हामी एउटा त के, सय धुर्मुसे जन्मिए पनि अथवा सय रवि लामिछाने भए पनि सब एकछिनको ओभानोमा मात्रै सीमित हुनेछ । समय सकिन्छ अनि पर्दा खस्छ । समृद्धिबिनाको जनता जहाँको तहीँ ।

यहाँ न त रवि लामिछाने न त धुर्मुस–सुन्तलीलाई गलत हुन् भन्न खोजिएको हो । तर, यिनीहरूको व्यक्तिगत रूपमा भगवान् बन्ने क्रियाकलापले गर्दा सरकार झन् कमजोर बनिरहेको आभासचाहिँ धेरैलाई छ । सामाजिक सञ्जालले यिनीहरूलाई देवता र सरकारलाई दानवको रूपमा व्यवहार गर्दछ । यदि यस्तै भइरह्यो भने यो धोका हामीले मात्र होइन, हाम्रा सन्ततीले पनि पाउनेछन् । यतिखेर ९० प्रतिशतभन्दा धेरै नेपाली राजनीतिक वितृष्णाबाट ग्रसित छन् । जसको फाइदा आफू भगवान् बन्नका लागि गरिने सामाजिक सेवाका ढोंगीहरूले उठाइरहेका छन् । ती ९० प्रतिशत नेपाली जसको सबै राजनीतिक पार्टीबाट विश्वास उडिसकेको छ, अब उनीहरू तिनैका हुन् जसले देश विकास गर्छ । किनकि अबको चुरो कुरो देश विकासको छ, न कुनै सस्तो लोकप्रियतामा रमाउने हिरो न कुनै पार्टी । अबको नेपाली भन्छ, हामी त्यही पार्टीको हो र त्यो पार्टी हाम्रो हो जसले देश विकास गर्छ । यही नै छ नयाँ जेनेरेसनको नयाँ सोच, नपत्याए आफ्ना छोराछोरीलाई सोध्नुस् । अबका नयाँ पिँढीले भ्रष्ट नेता सहँदैन् जसरी हामीले सहिरहेका छौँ, सबैलाई चेतना भया ।

यदि छातीमा हात राखेर भन्ने हो भने जुन प्रकारका सामाजिक सेवाहरू वर्तमान सञ्जालका हिरोहरूले गरिरहेका छन् यो एउटा फड्को मात्र हो । ढिलोचाँडो यिनीहरूको उद्देश्य पनि राजनीति नै हो । किनकि राजनीति नै एक मात्र विकल्प हो देश परिवर्तन गर्नु । गाडी चलाउनु छ भने ड्राइभरको सिटमा आउनुपर्छ । पछाडिबाट धकेलेर चलाउने प्रवृत्तिले सबैलाई अन्योल पार्छ र अन्ततः देश खाडलमा जाकिन्छ । सरकार चाहे जुनसुकै राजनीतिक पार्टीको किन नहोस् यस्ता हिरोइजम प्रवृत्तिले झन् कमजोर मात्र हुन्छ । विडम्बना ! यतिखेर देशमा भएकै यही हो ।

त्यसकारण सही राज्य व्यवस्थापन गर्न, समृद्धि उपलब्धि गर्न, आमूल परिवर्तन गर्न र जनतालाई सुखको अनुभव दिन क्षणभरको लागि कुन्नि के को ओभानो भनेजस्तो व्यक्तिगत हिरोले नभएर एउटा उचित राजनीतिक व्यवस्थापन हुनैपर्छ । यो विश्वका हरेक राष्ट्रले भोगेको यथार्थ हो । जनताजनार्दन त्यसै भनेका होइनन् । विकासका लागि सचेत हुनुपर्ने नै जनता हो । जनता चेतनशील भइदिने हो भने नेता त क्षणको क्षणमै परिवर्तन गर्न सकिन्छ ।

अन्त्यमा, सबै क्षेत्रमा रहेका नेपाली चिलको पछि नदगुरी चेतनशील भएर एउटा उचित राज्य व्यवस्थापन गर्ने पद्धतिको पछि नलागेसम्म हामी जहीँको तहीँ रहनेछौँ अनि कसैलाई हिरो र कसैलाई दानव प्रमाणित गर्दैमा समय सक्नेछौँ ।

प्रतिक्रिया