बेलायती प्रधानमन्त्रीद्वारा संसदीय दलको नेताबाट राजीनामा

बेलायती प्रधानमन्त्रीद्वारा संसदीय दलको नेताबाट राजीनामा


बेलायतकी प्रधानमन्त्री थेरेसा मेले शुक्रबार सत्तारुढ कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताबाट राजीनामा गरेकी छिन् । प्रधानमन्त्री मेले जुन ७ मा कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताको पदबाट राजीनामा दिने यसअघि नै बताएकी थिएन् ।

मेको ठाउँमा जुलाईको अन्त्यसम्ममा बेलायतमा अर्को प्रधानमन्त्रीको चयन हुनेछ र यस दौडमा ११ जना रहेका छन् । युरोपेली युनियनबाट बेलायत बाहिरिने (ब्रेक्जिट) का बारेमा संसदमा प्रस्ताव ल्याए पनि त्यो पारित हुन नसकेपछि उनले राजीनामा दिएकी हुन् । ब्रेक्जिटबारे अन्योल कायमै रहने देखिएका कारण पनि बेलायतकी प्रधानमन्त्री थेरेसा मेले करिब दुई हप्ताअघि नै आफू सरकारबाट हट्ने घोषणा गरेकी थिइन् ।

ब्रेक्जिटबारे आफ्नै दलका सांसदलाई पनि विश्वासमा लिन असफल भएपछि प्रधानमन्त्री मेले दलको नेतृत्वका साथै प्रधानमन्त्रीको पदबाट राजीनामा दिएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

ब्रेक्जिट सम्झौतामा सफलता पाउन नसकेकोमा आफूलाई धेरै दुःख लागेको र यो विषयले सधैँ पश्चात्ताप भएको उनले बताएकी थिइन् । प्रधानमन्त्रीले पार्टी नेतृत्वबाट राजीनामा दिनुलाई बेलायती सत्ताधारी दलमा नेतृत्वका लागि प्रतिस्पर्धाको शुरुवातका रूपमा हेरिएको थियो । अर्को नेतृत्व नआउँदासम्म प्रधानमन्त्री मेले कामचलाउ प्रधानमन्त्रीका रूपमा सरकारको कार्यभार सम्हाल्नेछिन् ।

आजैबाट नयाँ नेतृत्व चयनका लागि प्रक्रिया शुरु हुनेछ । नेतृत्वको लागि हुने प्रतिस्पर्धा आगामी केही हप्ता लाग्ने अनुमान गरिएको छ ।