गैरआवासीय नेपालीको नेतृत्व लिने तयारीमा धिरेन

गैरआवासीय नेपालीको नेतृत्व लिने तयारीमा धिरेन


  • राजन घिमिरे, अष्ट्रेलिया

सिनेमाको पर्दामार्फत दर्शकको मन छुने काम गर्दा धिरेन थापाले प्रशंसा कमाइरहेकै हुन् । प्रवासी जीवनमा पनि उनले नेपाली सिनेमा र कलाकारिता क्षेत्रमा प्रशंसा गर्नलायकको उपस्थिति जनाउँदै आएका छन् ।

विगत ३० वर्षदेखि अष्ट्रेलियाको ब्रिसबेनमा बस्दै आएका धिरेनको यहाँ मात्र होइन कि पूरै अष्ट्रेलियामा नेपाली समुदायबीच राम्रै चहलपहल छ । कलाकारिताबाट दर्शकको मन जितिसकेपछि अब उनी गैरआवासीय नेपाली संघ अष्ट्रेलियासँग आबद्ध भएर आफ्नो यात्रालाई अगाडि बढाउन चाहन्छन् ।

अष्ट्रेलियाको लामो बसाईमा उनले नेपालीका लागि गरेको योगदान र सहयोग लामै छ । कुनै नेपालीले काम पाएन वा समस्यामा परेर दुःख पायो भने आफ्नो तर्फबाट सहयोग गर्ने र ती नेपालीको उद्दार गर्ने आदत छ उनको । कुनै संस्थासँग आबद्द नरहे पनि सहयोग र साथको लागि उनले आफूलाई कहिले पनि पछाडि पारेनन् ।

‘यसपटक पनि नेतृत्वका लागि उम्मेदवारी दिने मेरो खासै सोच त थिएन, तर साथाभाइको साथ, सल्लाह र सुझावअनुसार नै उठ्ने योजना बनाएको हुँ’, धिरेन्द्रराज थापाले भने ।

यतिबेला गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले धिरेन जस्ता पुराना, अनुभवी र अष्ट्रेलियाको नेपाली समाज बुझेको ब्यक्ति पनि खोजिरहेको अवस्थामा धिरेनको उम्मेदवारी साँच्चै सान्दर्भिक देखिएको छ । ‘संस्थाप्रति सम्मान बढाउन र संस्थालाई अगाडि बढाउन धिरेनजी जस्ता समाजसेबीलाई हामीले चिन्न सक्नु पर्छ । यस पटक उहाँलाई जिताउनु पर्छ’ भन्छन् अष्ट्रेलियामा रहेका नेपाली ।

ब्यक्तिगत रूपमा पनि निकै शालिन स्वभावका धिरेन थापाले गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको सन् १९–२१ का लागि क्वीन्सल्यान्ण्ड राज्य समन्वय समितिको अध्यक्ष एवम् गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अष्ट्रेलियाको उपाध्यक्ष पदमा उम्मेदवारी दिएपछि अष्ट्रेलियाको नेपाली समाजमा राम्रो तरङ्ग आएको छ । ‘केही गरौँ, समाजमा अझै केही योगदान दिउँ कि भनेर लाग्ने सोच आएको छ । यतिबेला फुटेर होइन कि जुटेर सबै अगाडि बढ्नुपर्छ र प्रवासी नेपालीहरूको एउटै सोच र सहयोगको भावना हुनुपर्छ’– उनले भने ।