नवनिर्मित कराते एकेडेमीको उद्घाटन

नवनिर्मित कराते एकेडेमीको उद्घाटन


ललितपुरको अन्तर्राष्ट्रिय खेल परिसरमा नवनिर्मित कराते एकेडेमीको औपचारिक उदघाटन भएको छ । एकेडेमीको उदघाटन जेठ २२ गते बुधबार युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले गरेका हुन् ।

अन्तर्राष्ट्रिय खेल परिसरमा रहेको यो एकेडेमी ६ वर्षको अवधिमा निर्माण भएको हो । तत्कालीन सदस्यसचिव युवराज लामाको कार्यकालमा शिलान्यास गरिएको यो एकेडेमीको निर्माणमा नेपाल सरकारको ७ करोड ६२ लाख खर्च भएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले जानकारी गराए ।

५ सय दर्शक क्षमता रहेको उक्त एकेडेमीमा एकैपटक तीनवटा म्याट राखेर खेलाउन सकिन्छ । त्यस्तै ५० जना अट्ने भीआईपी म्यारापीट पनि रहेको छ । सो एकेडेमीमा १२ वटा कोठा रहेका छन् । जसमा दुई कक्षा कोठा, दुई खेलाडी चेन्जिङ रूम रहेका छन् ।

नवनिर्मित कराते एकेडेमीको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्री विश्वकर्माले खेल पूर्वाधार निर्माणले कराते खेलाडीमा हौसला थपिएको बताउँदै यसले खेलाडी स्तरोन्नतिमा अहम भूमिका खेल्ने बताए । त्यस्तै, राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले करातेको एकतासँगै नयाँ एकेडेमीको निर्माणले १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा उत्कृष्ट नतिजा ल्याउन सहायकसिद्ध हुने बताए ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार बिष्ट मुलुकलाई सवैभन्दा बढी अन्तर्राष्ट्रिय पदक दिलाउने कराते खेलको आफ्नै एकेडेमी हुन नेपाली खेलकुुदको लागि राम्रो संकेत भएको बताए । साथै १३ औँ सागमा पदक जित्न यो एकेडेमीले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए ।

त्यस्तै नेपाल कराते महासंधका सहअध्यक्ष तथा राखेपका सदस्य दावा गुरुङले करातेको नवनिर्मित एकेडेमीले खेलाडीहरुमा नौलो जोश पैदा गरेको र १३ औँ सागमा त्यसको परिणाम देखिने बताए ।