चुनौती नै चुनौतीको कसौटीमा १३औँ साग

चुनौती नै चुनौतीको कसौटीमा १३औँ साग


  • श्रीविक्रम भण्डारी

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को आयोजना आगामी मङ्सिर १५ देखि २४ गते नेपालमा हुने घोषणा गरे पनि १३औँ सागको तयारीलाई मध्यनजर गर्दा घोषणा गरिएकै समयमा सागको आयोजना हुने कुरामा शङ्का–उपशङ्का गर्न थालिएको छ । केही साता पहिले मन्त्री विश्वकर्माले खेलकुद मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी १३औँ सागको मितिबारे जानकारी गराएका थिए । पत्रकार सम्मेलनमा मन्त्री विश्वकर्माले जेठ ५ गतेदेखि सागमा समावेश २७ खेलका खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने बताएका थिए । तर, दुर्भाग्य ! मन्त्री विश्वकर्मालाई पहिलो गाँसमै ढुङ्गा लागेको छ । जेठ ५ गतेदेखि शुभारम्भ हुनुपर्ने बन्द प्रशिक्षण जेठ १८ गतेदेखि मात्रै शुरु भएको छ । त्यो पनि सात खेलहरू जुडो, स्क्वास, टेबलटेनिस, भारोत्तोलन, प्याराग्लाइडिङ, आर्चरी र सुटिङको मात्रै । अन्य खेलहरूको जेठ २० गतेदेखि बन्द प्रशिक्षण शुरु हुने दाबी गरिए पनि ७ देखि १० खेलका खेलाडीलाई मात्र बन्द प्रशिक्षणमा राख्न सकिने सम्भावना भएको खेल कर्मचारीले बताए ।

तयारी छैन, बजेट छैन, सम्बन्धित खेल सङ्घले खेलाडीको नामावली पठाएका छैनन्, यस्तो अवस्थामा कसरी खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न सकिन्छ ? त्यो आफूले बुझ्न नसकेको ती कर्मचारीले बताए । उनले सम्बन्धित निकायका कर्मचारीसँग कुनै छलफल नै नगरी मन्त्री विश्वकर्माले बन्द प्रशिक्षणको मिति घोषणा गरेको आरोप लगाएका छन् । यसले अहिले तालमेल मिलाउन निकै गाह्रो भएको भन्दै आफूले यो विषम परिस्थितिको सत्यतथ्यको जानकारी मन्त्री विश्वकर्मालाई गराएको उनले बताए । साथै ती कर्मचारीले २० गते पनि सम्पूर्ण खेलका खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न नसक्ने जानकारी गराउँदै मन्त्री विश्वकर्माको घोषणाले आफूहरू निकै अप्ठ्यारोमा परेको खुलासा गरेका छन् । हुनै नसक्ने कुरा फ्याट्ट बोलेर कहाँ हुन्छ ? त्यसको लागि ठूलो गृहकार्य हुनुपर्ने ती कर्मचारीको दाबी थियो । यतिबेला पहिलो चरणमा सात खेलका ८४ खेलाडीलाई विशेष प्रशिक्षणमा राखिए पनि खेलाडीको भत्ता–विवादले त्यो पनि विवादमुक्त हुन सकेको छैन । प्राप्त जानकारीअनुसार तालिम तथा प्रशिक्षण विभागले बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई साताको ६ दिनको मात्र भत्ता उपलब्ध गराउने निर्णय गरेपछि विवाद उत्पन्न भएको बुझिएको छ । यो निर्णयको विरोध गर्दै एक प्रशिक्षकले भने, ‘यो निर्णयले एक दिन खेलाडीले भोकै बस्नुपर्ने बाध्यता उत्पन्न भएको छ ।’ आफूले यो कुरा सम्बन्धित निकायमा पुऱ्याउने र खेलाडीको हकहितको लागि लड्ने बताए ।

त्यस्तै १३औँ सागको मिति घोषणासँगै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टको कार्यकाल समापनले १३औँ सागमा अर्को चुनौती थपिएको छ । विष्टको कार्यकाल आउँदो असार ९ गते समाप्त हुँदै छ । आफ्नो चारवर्षे कार्यकालमा दुईवटा राष्ट्रिय प्रतियोगिता (सातौँ र आठौँ) आयोजना गरेका विष्टको अनुभव १३औँ सागको लागि यतिबेला कति अर्थ राख्छ त्यो आफैँमा चिन्तन र विश्लेषणको विषय बनेको छ । यही कुरालाई दृष्टिगत गर्दै ओलम्पियन तथा कीर्तिमानी म्याराथन धावक वैकुण्ठ मानन्धर, तेक्वान्दोका कीर्तिमानी खेलाडी तथा ओलम्पियन दीपक विष्ट र करातेका चर्चित खेलाडी तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठले १३औँ सागलाई सफलताको मूर्तरूप दिन राष्ट्रिय खेलकुद परिषद्का सदस्य केशवकुमार विष्टलाई पुनः राखेपको सदस्यसचिव बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् । यतिबेला खेलकुदको समग्र विकास र नेपालमा आयोजना हुन गइरहेको १३औँ सागको लागि अनुभवहीन व्यक्तिभन्दा विष्ट नै सर्वाधिक उपयुक्त व्यक्ति भएको कुरामा उनीहरूको ठहर थियो । १३औँ सागको आयोजना हुन मात्र ६ महिनाको अवधि बाँकी रहेको अवस्थामा खेलकुद बुझेको अनुभवी व्यक्तिलाई नियुक्ति गर्नुपर्ने उनीहरूको साझा धारणा थियो ।

महिनाले ६ महिना बाँकी रहे पनि १३औँ आयोजना हुन पाँच महिना मात्र बाँकी छ । त्यो समयमा पर्ने नेपालीको ठूला चाड विजयादशमी र तिहारको बिदाले १३औँ सागमाथि प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ । साथै असारदेखि वर्षाद पनि शुरु हुने भएकोले भौतिक पूर्वाधारको निर्माणमा निकै असर पर्ने र कठिनाइ उत्पन्न हुनेछ । अर्कोतर्फ यतिबेलासम्म १३औँ सागको लागि समिति र उपसमितिसमेत पूर्ण रूपमा गठन हुन सकेका छैनन् । यस्तो अवस्थामा समितिका पदाधिकारीले कहिले जिम्मेवारी पाउने र उनीहरूले कार्य अगाडि बढाउने त्यो अहम् विषय बनेको छ । तसर्थ यस्तो अन्योलको वातावरणमा १३औँ सागको मिति घोषणा गरिए पनि त्यो घोषणामा मात्रै सीमित हुने त होइन– चिन्ताको विषय बनेको छ ।

१३औँ सागको मेरुडण्ड भनेकै भौतिक पूर्वाधारको पूर्ण निर्माण हो । पहिले र अहिलेको साग प्रतियोगिताको तुलना गर्दा आकाश–जमिनको अन्तर छ । साँचो रूपमा भन्नुपर्दा साग प्रतियोगिताको स्तरीयता एसियाली खेलकुद प्रतियोगिताको स्तरीयताभन्दा कम छैन । यस्तो अवस्थामा प्रतियोगिताको आयोजनासँगै स्तरीयता कायम गर्नु पनि त्यत्तिकै जरुरी हुन्छ । अहिले नेपालको लागि सबैभन्दा चुनौतीपूर्ण भनेकै स्तरीय आयोजना हो । त्यसैले अन्तर्राष्ट्रिय रंगशाला दशरथ रंगशाला मात्र नभई अन्य भौतिक पूर्वाधारहरू पनि त्यत्तिकै स्तरीय हुनुपर्नेछ । चीन सरकारले निर्माण गरिदिएको पौडीपोखरी, सुटिङरेञ्ज, दशरथ रंगशालाको सिन्थेटिक ट्र्याक, फ्लडलाइट विश्वस्तरीय छन्, यसमा दुईमत छैन । त्यस्तै, कराते र तेक्वान्दोका नयाँ बनेका कभर्डहलहरू पनि अन्तर्राष्ट्रियस्तरका छन् । तर, यीबाहेक पोखरा रंगशाला निर्माण हुनु अति आवश्यक छ । यसर्थमा कि १३औँ सागको आयोजना काठमाडौं र पोखरामा हुँदै छ । पोखरा नेपालकै अत्यधिक पानी पर्ने स्थान भएकोले वर्षात्अघि नै पोखरामा पूर्वाधार निर्माण हुनुपर्ने आवश्यकता देखिन्छ ।

यसरी अहिले बजेट, भौतिक पूर्वाधार, व्यवस्थापन १३औँ सागका लागि मुख्य चुनौती बनेका छन् । सम्बन्धित निकाय खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले तीन महिनाको अन्तरालमा काठमाडौं र पोखराका सम्पूर्ण पूर्वाधारहरू निर्माण भइसक्ने दाबी गरेको अवस्थामा अब ती पूर्वाधारले सो अवधिमा पूर्णता पाउँछन् या पाउँदैनन् त्यो अहम् विषय बनेको छ । यदि यी पूर्वाधार समयमा बन्न सकेनन् र आर्थिक र दैवी चपेटामा परे भने १३औँ सागको आयोजनामा चुनौतीमाथि चुनौती थपिने प्रायः निश्चित छ । त्यसैले अहिले १३औँ सागको आयोजनाको विश्लेषण गर्दा चुनौती नै चुनौतीको कसौटीमा छ भन्दा अतिसयोक्ति नहोला ।