राप्रपाले मुक्तिनाथबाट राष्ट्रिय स्वाभिमान यात्रा गर्ने

राप्रपाले मुक्तिनाथबाट राष्ट्रिय स्वाभिमान यात्रा गर्ने


राष्ट्रिय प्रजातन्त्र पार्टीले भोलि शुक्रबारबाट दोस्रो चरणको ‘राष्ट्रिय स्वाभिमान यात्रा’ शुरु गर्ने भएको छ । राप्रपाले जनतालाई जागरुक बनाउन र सरकारमाथि दबाब सिर्जना गराउने उद्देश्यले भोलि शुक्रबारदेखि मुस्ताङको मुक्तिनाथबाट ‘राष्ट्रिय स्वाभिमान यात्रा’ सुरु गर्ने भएको हो ।

मुक्तिनाथबाट शुरु हुने ‘राष्ट्रिय स्वाभिमान यात्रा’ म्याग्दी, पर्वत, कास्की, तनहुँ, लमजुङ हुँदै गोरखा पुगेर जेठ २७ गते सम्पन्न हुनेछ ।

आज बिहीबार मिडिया नेपाल र राप्रपा कास्कीद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष कमल थापाले सो जानकारी दिएका हुन् । उनले सो अवसरमा सत्ताकेन्द्रितभन्दा बढी नीतिकेन्द्रित भएर राजनीति गर्ने र समान विचार भएका दलहरूसँग एकताका लागि प्रयास जारी राख्ने बताए ।

‘राष्ट्रिय स्वाभिमान यात्राको उद्देश्य हिन्दूराष्ट्रको पुनर्स्थापना, राजासहितको प्रजातन्त्रलगायत २२ बुँदे माग पूरा गराउन दबाब सिर्जना गर्ने, आफ्ना मागका सम्बन्धमा जनमत बनाउने, जनतालाई जागरुक गराउने रहेको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।

‘राष्ट्रिय स्वाभिमान यात्राका लागि बिहीबार नै राप्रपा अध्यक्ष कमल थापासहित यात्रा टोली जोमसोम पुग्ने र शुक्रबार बिहान मुक्तिनाथ मन्दिरमा धार्मिक अनुष्ठान गरी यात्रा शुरु गरिने बताइएको छ । यात्राको तयारीका लागि हिन्दू र बौद्धधर्मलाई प्रतिबिम्बित गर्ने पशुपतिनाथ, स्तुपा र फाइबरबाट निर्मित कलात्मक गाईलाई आकर्षक सजावटसहितको रथ बनाइएको छ । गोरखामा कलशयात्रा र आमसभा गरी दोस्रो चरणको राष्ट्रिय स्वाभिमान यात्रा जेठ २७ गते समापन हुनेछ । राप्रपाले यसअघि ०७५ फागुन १५ गते ताप्लेजुङको पाथीभरा धार्मिक अनुष्ठान गरी पहिलो चरणको राष्ट्रिय स्वाभिमान यात्रा शुरु गरेको थियो ।

pict:rss