राष्ट्रपतिलाई म्यानमार भ्रमण गराइँदै

राष्ट्रपतिलाई म्यानमार भ्रमण गराइँदै


राष्ट्रपति विद्या भण्डारीले म्यानमार (बर्मा) को भ्रमण गर्नुहुने जानकारी प्राप्त भएको छ । परराट्र मन्त्रालयसम्बद्ध सूत्रले जनाएअनुसार आगामी असोजको अन्तिम साता राष्ट्रपतिलाई म्यानमार भ्रमण गराउनेबारेमा आवश्यक परामर्श भइरहेको छ । असोज २९ या ३० गते उहाँको भ्रमण हुन सक्ने बताइएको छ ।

राष्ट्रपतिको भ्रमण गराउन म्यानमारस्थित नेपाली राजदूत भीम उदासले विशेष भूमिका निर्वाह गरेको बताइन्छ । राष्ट्रपतिको भ्रमणबाट नेपाल–म्यानमार सम्बन्ध प्रगाढ हुने विश्वास गरिएको छ ।

गत फागुनमा सम्पन्न लगानी सम्मेलनमा म्यानमारका लगानीसम्बन्धी मन्त्रीसहित करिब दुई दर्जन लगानीकर्तालाई काठमाडौं ल्याउन सफल राजदूत उदासले प्रतिमहिना सय रुपैयाँमा गुणस्तरीय शिक्षा दिएर चर्चामा आएको नेपालको समता स्कुललाई याङ्गुनमा पनि प्रवेश गराएका छन् । यसबाट याङ्गुनका विपन्न परिवारका विद्यार्थीले शिक्षा आर्जन गर्न सक्ने स्थिति बनेको छ भने नेपालको प्रतिष्ठा वृद्धिमा पनि योगदान पुगेको छ ।

एनआरएनका संस्थापकमध्ये एक राजदूत भीम उदासकै कारण गैरआवासीय नेपालीको एसिया प्यासिफिक (क्षेत्रीय) सम्मेलन याङ्गुनमा आयोजना गर्न लागिएको छ । असारको २१ र २२ गते याङ्गुनमा आयोजना हुने रिजनल भनिएको सम्मेलनमा संसारभरिका नेपालीको सहभागिता रहने बुझिएको छ ।